‘चिप’ बनाउने अमेरिकी कम्पनीले भारतमा ३३ अर्ब लगानी गर्ने



एजेन्सी । चिप बनाउने अमेरिकी कम्पनी ‘एड्भान्स्ड माइक्रो डिभाइसेज (एएमडी)’ले भारतमा ३३ अर्ब भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । समाचार एजेन्सी रोयटर्सकाअनुसार एएमडीले आगामी ५ वर्षभित्रमा यो रकम भारतमा लगानी गर्ने घोषणा भएको हो ।

उक्त कम्पनीले गत शुक्रबारबाट भारतमा सुरु भएको सेमिकण्डक्टरसम्बन्धी सम्मेलनमा यस्तो घोषणा गरेको हो ।

कम्पनीका प्रमुख प्राविधिक अधिकृत मार्क पेपरमास्टरले भारतमा आगामी ५ वर्षमा एएमडीले ४० करोड अमेरिकी डलर अर्थात् ३३ अर्ब भारतीय रुपैयाँ लगानी गर्ने बताए । भारतको बंगलुरुमा सबैभन्दा ठूलो डिजाइन सेक्टर निर्माण गर्ने उनले जनाए ।

एएमडीले आफ्नो डिजाइन सेन्टरको सुरुवात यो वर्षको अन्त्यमा गर्ने र ३ हजार नयाँ इञ्जिनियरिङ क्षेत्रको जागिर आगामी ५ वर्षभित्रमा सिर्जना गर्ने कार्यक्रममा बताइएको छ ।

पेपरमास्टरले भनेका छन्, ‘हाम्रो भारतीय टोलीले उच्च क्षमता र समस्याको समाधान गर्ने किसिमका चिपहरुको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसले विश्वभरमै एएमडीका ग्राहकहरुलाई सहयोग पुग्नेछ ।’

एएमडीले घोषणा गरेअनुसार कम्पनीले आगमी ५ वर्षभित्रमा ५ लाख स्क्वायर फुटमा एएमडीको नयाँ डिजाइन सेन्टरको सुरुवात हुनेछ । यो सुरुवात हुँदा भारतमा एएमडीका १० कार्यालयहरु रहनेछन् ।

गत शूक्रबारबाट भारतमा सेमिकण्डक्टरसम्बन्धी वार्षिक सम्मेलन ‘सेमिकन्डक्टर इवेन्ट इण्डिया’ सुरु भएको छ । प्रविधिको क्षेत्रमा अत्यावश्यक मानिएको सेमिकण्डक्टर चिपको निर्माणलगायतका विषयमा केन्द्रित भएको यो कार्यक्रम भारतलाई आगामी दिनमा विश्वका लागि चिप निर्माण हुने प्रमुख स्थानको रुपमा बनाउनका लागि आवश्यक विषयमा पनि केन्द्रित हुने बताइएको छ । उक्त सम्मेलन आइतबारसम्म चलेको थियो ।

सन् २०२१ मा नै भारतले आफूलाई चिप निर्माणको क्षेत्रमा अब्बल साबित गर्नका लागि १० अर्ब अमेरिकी डलर अर्थात ८ खर्ब भारतीय रुपैयाँको सहुलियत कार्यक्रमको घोषणा गरेको थियो ।


क्लिकमान्डु