वित्तीय प्रणालीमा लगानी योग्य रकम ५ खर्बनजिक



काठमाडौं । वित्तीय प्रणालीमा लगानी योग्य रकम (तरलता) ५ खर्ब रुपैयाँ नजिक पुगेको छ । असार ३० सम्ममा वित्तीय प्रणालीमा लगानीयोग्य रकम ४ खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढी भएको हो ।

वित्तीय प्रणालीमा वैशाख २ देखि असार ३० सम्ममा २ खर्ब ६७ अर्ब रुपैयाँ थपिएको छ । वैशाख २ गते वित्तीय प्रणालीमा ५४ खर्ब ७३ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा असार ३० गते ५७ खर्ब ४० अर्ब रुपैयाँ पुगेको हो ।

त्यस्तै वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ खर्ब २२ अर्बबाट २ खर्ब ४४ अर्ब बढेर ५० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । अहिले भएको निक्षेपमध्ये करिब १ खर्ब स्थानीय तहको पैसा हो ।

यो अवधिमा कर्जा प्रवाह भने झन् घटेको छ । वैशाख २ गते बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब रहेकोमा असार ३० गते ४८ खर्ब ५५ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह वैशाख २ गते ४३ खर्ब १ अर्ब रहेकोमा असार ३० गते ४२ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ ।

एकातिर उच्च ब्याजदरका कारण कर्जाको माग भएको छैन भने अर्कातिर बजारमा वस्तु तथा सेवाकै माग पनि घटेको छ । समीक्षा अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२ प्रतिशतबाट ८१.६२ प्रतिशतमा झरेको छ ।

असारका ३० दिनमै वित्तीय प्रणालीमा १ खर्ब ७२ अर्ब निक्षेप थपिएको छ भने कर्जा प्रवाह १ अर्ब रुपैयाँले मात्र बढेको छ । अर्थतन्त्रमा छाएको मन्दीका कारण व्यापार व्यवसाय ठप्प बनेपछि बैंकहरु पनि कर्जा प्रवाहमा भन्दा असुलीमा केन्द्रित भएका छन् ।

तरलता सहज हुँदा अन्तर बैंक ब्याजदर पनि निकै न्यून भएको छ । अन्तर बैंक ब्याजदर समीक्षा अवधिमा ७ प्रतिशतबाट घटेर असार ३० गते ०.७४ प्रतिशतमा झरेको छ ।

वित्तीय प्रणालीमा पैसा थुप्रिएपछि बैंकले साउन १ देखि लागू हुने गरी कर्जाको ब्याजदर घटाएका छन् । यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको ब्याजदर ९.९९ प्रतिशत हाराहारी रहेकोमा अहिले आधाजसो बैंकले घटाएका छन् केहीले स्थिर राखेका छन् । निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि ब्याजदर घट्नेछ ।

बैंकहरुले निर्माण र उत्पादन क्षेत्र चलायनमान हुने विश्वासका साथ ब्याज घटाएर होमलोन स्किम ल्याए पनि कर्जाको माग भएको छैन । कर्जाको माग पनि नभएको र सबै खालको उपभोग पनि घटेर गएको बैंकरहरु बताउँछन् ।

ठूलो संख्यामा युवा बिदेसिएकाले पनि समग्र माग तथा उपभोग सुस्ताएको विश्लेषण भइरहेको छ ।


क्लिकमान्डु