पोखरामा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृहको उद्घाटन, एक महिनाको माग धान्ने
पोखरा । नेपाल आयल निगमले पोखरामा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृहको उद्घाटन गरेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आइतबार भण्डारण गृहको उद्घाटन गरेका हुन् ।
निगमले ८९ करोड रुपैयाँ लागतमा डिजेल भण्डारण गृह निर्माण गरेको जनाएको छ ।
निगमको गण्डकी प्रादेशिक कार्यालय मातहतको डिपोमा ५ सय किलोलिटर पेट्रोल र २ हजार ५ सय किलोलिटर डिजेल क्षमताको भण्डारण गृह रहेको थियो ।
गण्डकी प्रदेशमा पर्याप्त भण्डारण गृह नहुँदा इन्धन आपूर्तिमा कठिनाइ भइरहेको अवस्थामा थियो । निगमले पोखरामा एक करोड लिटर क्षमताका इन्धन भण्डारण गृह निर्माण गरेसँगै आपूर्तिमा समस्या नआउने निगमको दाबी छ ।
निगमका कार्यकारी निर्देशक उमेश थानी पोखरामा भण्डारणगृह निर्माण कोसेढुङ्गा भएको बताउँछन् । धेरै लामो समयपछि डिजेल भण्डारण गृहको तेस्रो ठूलो गृह बनेको बताउँदै उनले आगामी दिनमा गण्डकी प्रदेशमा डिजेलको आपूर्तिमा समस्या नआउने बताए । योभन्दा ठूलो भण्डारण गृह अमलेखगन्ज र थानकोटमा छ ।
१० हजार किलोलिटर क्षमताको दुई वटा भण्डारण गृह थपिएसँगै पोखरामा डिजेल भण्डारण एक महिनालाई पुग्ने उनले बताए । यसअघि रहेको भण्डारण गृहले एक सातालाई मात्र डिजेलको माग धान्थ्यो ।
गण्डकी प्रदेशमा हरेक दिनमा करिब ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ । हाल एक दिनमा यस प्रदेशमा तीन लाख ३ लाख २० हजार लिटर डिजेल र एक लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भइरहेको निगमले जनाएको छ ।
डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता रहेको छ ।
प्रदेशभरको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा डिजेलको माग करिब ७ दिन र पेट्रोलको माग करिब २ दिन मात्रै धान्न सक्ने अवस्था थियो ।
निगमले आज उद्घाटन गरेको नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजेलको भण्डारण करिब ३० दिन भन्दा बढी पुग्नेछ भने साविकको ७६० केएल क्षमताको मट्टीतेल ट्यांकको पेट्रोल ट्यांकमा भएको रुपान्तरणले दुई दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारणले करिब १० दिनभन्दा बढीको माग धान्न सक्ने उनको भनाइ छ ।
वि.स २०५८ सालपश्चात क्षमता विस्तार तथा स्तरोन्नती हुन नसकेको यस डिपो अब अमलेखगन्ज, थानकोट पश्चात नेपालकै तेश्रो ठूलो पेट्रोलियम भण्डारण गृह बनेको उनले बताए ।
हाल डिपो रहेको कुल ७७ रोपनी जमिनलाई नै प्रयोग गरेर निगमले नयाँ भण्डारण गृह निर्माण तथा स्तरोन्नति गरेको हो।
उद्योगमन्त्री रमेश रिजालले डिपो बनेसँगै डिजेलको आपूर्तिलाई सहज हुने बताए । त्यस्तै उद्योग सचिव मधु मरासिनिले थप भण्डारण निर्माणले उर्जा थपिएको बताए। उनकाअनुसार पोखराबासीको मात्र नभएर अत्यावश्यक पर्ने समयमा अन्य क्षेत्रको वासिन्दालाई पनि सेवा दिनेछ ।
भण्डारण गृह इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा, पुल्चोकको प्राविधिक अध्ययन तथा काठमाण्डौ विश्वविद्यालयको प्राविधिक परामर्श सहायतामा तथा निर्माणकर्ता कम्पनी समानान्तर रेलिगियर-भारत ट्यांकस जे.भी बाट निर्माण सम्पन्न भएको हो।
नव निर्मित भण्डारण गृहमा एक नयाँ पहुँच सडक, २४ लाख लिटर क्षमताको पानी भण्डारण ट्यांक, चालक तथा सुरक्षाकर्मीका लागि नयाँ संरचना निर्माण गरिएको निगमले जनाएको छ । इन्धन भण्डारण ट्यांक,अग्नि नियन्त्रण उपकरण तथा प्रणाली र यसमा जडान भएका संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित रहेका छन् ।
डिजेल लोड तथा अनलोड सुविधा पूर्ण रुपमा स्वचालित र उच्च प्रविधियुक्त तथा आधुनिक सुरक्षा प्रविधिमा आधारित रहेको छ।
नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्याकंरले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । ट्यांकर लोड तथा अनलोडका लागि प्रतिघण्टा १२० किलोलिटर क्षमताका छ वटा पम्प जडान गरिएको छ।
४ वटा नयाँ लोडिङ / अनलोडिङ बे निर्माण सम्पन्न भएको छ । भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगलागी लगायतको दूर्घटना पहिचान गर्न विशेष प्रविधि ( अलार्म सिस्टम) डिपोमा जडान भएको छ ।
आपतकालिन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने एकिकृत रिमोट कन्ट्रोल प्रविधि जडान गरिएको छ।
कुनै पनि कारणबाट डिपोमा आगलागी भएको खण्डमा करिब दुई घण्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा निर्माण सम्पन्न भएको छ।
निगमले ७० प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरण त्यसका लागि प्रयोग गर्न सकिने गरी पूर्वाधार निर्माण गरेको जनाएको छ ।