भन्सार विभागले उठायो लक्ष्यको ५८ प्रतिशत राजस्व, अघिल्लो वर्षभन्दा २३ प्रतिशत कम



काठमाडौं । भन्सार विभागले गत आर्थिक वर्षमा लक्ष्यको ५८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा विभागलाई ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिईएकोमा ३ खर्ब ९१ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको हो ।

असारमा मात्रै विभागलाई ५९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको ३५ अर्ब ४३ करोड रुपैयाँ संकलन गरेको छ ।

विभागले गत आर्थिक वर्षमा अघिल्लो वर्ष (आर्थिक वर्ष २०७८/७९) बराबर पनि राजस्व संकलन गर्न सकेन् । आर्थिक वर्ष २०७८/७९ मा विभागले ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष २३ प्रतिशत कम राजस्व संकलन भएको छ । बढी राजस्व संकलन हुने सवारीसाधान, मदिरा लगायतका समानको आयातमा आएको गिरावटले राजस्व लक्ष्य प्रभावित भएको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

गत आर्थिक वर्षको साउनदेखी नै विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको थिएन् । भन्सार विभागका अधिकारीहरुले मंसिरसम्म आयातमा लगाएको प्रतिबन्धले राजस्व लक्ष्य प्रभावित भएको बताउने गरेका थिए ।

सरकारले विदेशी मुद्राको सञ्चितिमा गिरावट आएको भन्दै गत वर्ष बैशाखदेखी मंसिरसम्म गाडी, मोबाईल, मदिरा लगाएतका १० बस्तुको आयात गर्न प्रतिबन्ध लगाएको थियो ।

सरकारले आयात प्रतिबन्ध फकुवा गर्ने निर्णय गरेपछि पनि राजस्व संकलनमा वृद्धि भएको थिएन् ।

जेठ मसान्तसम्म विभागले जेठ मसान्तसम्मको लक्ष्य ६ खर्ब ९ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको विभागले ३ खर्ब ५६ अर्ब ७५ करोड मात्रै संकलन गर्न सकेको थियो ।

जेठ मसान्तसम्म अघिल्लो वर्षभन्दा आयात १७ प्रतिशतले घट्दा राजस्व संकलन २३ प्रतिशतले घटेको थियो ।
भन्सार विभागका अधिकारीहरु भन्सार विन्दुबाट भन्दा पनि चोरी तस्कारी मार्फत् आयात हुने क्रम बढ्दा राजस्व लक्ष्य प्रभावित भएको बताउँछन् ।

अघिल्लो आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागलाई गत आर्थिक वर्षमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिईएको थियो ।

विभागलाई अघिल्लो वर्षभन्दा ३२ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा अघिल्लो वर्ष भन्दा २२ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

अघिल्लो वर्ष १९ खर्ब २० अर्ब रुपैयाँको आयात हुँदा राजस्व संकलन ५ खर्ब ६ अर्ब पुगेको थियो । जेठमसान्तसम्म १४ खर्ब ८० अर्ब रुपैयाँको आयात भएको तथ्यांक हेर्दा चालू आर्थिक वर्षमा १६ खर्ब हाराहारीमा आयात भएको देखिन्छ । जसले गर्दा समग्र राजस्व प्रभावित भएको हो ।

सीमा क्षेत्रबाट भईरहेको अवैध व्यापार नियन्त्रण गर्न नसकिए चालू आर्थिक वर्षमा पनि राजस्व नबढ्ने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

राष्ट्र बैंकले भारतसँगहुने व्यापारको भुक्तानी पनि बैंकिङ प्रणालीबाट मात्रै हुनु पर्ने व्यवस्था गरेकाले पनि अवैध व्यापार बढेको साना व्यवसायीहरु बताउँछन् ।

‘भन्सार विन्दुमा हुने मुल्यांकनमा पनि समस्या होला, त्यो भन्दा ठूला समस्या भन्सार विन्दु भन्दा बाहिरबाट हुने व्यापार ह्वात्तै बढेको छ,’भन्सार विभागका एक अधिकारीले भने,‘जसले गर्दा राजस्व प्रभावित भएको हो ।’


क्लिकमान्डु