नेपालमा स्वदेशी स्याउको बजार राम्रो भए पनि उत्पादन नहुँदा आयातमै भर



काठमाडौं । चिसो होस् वा गर्मी जुनसुकै समयमा पनि बजारमा जताततै देख्न सकिने फलफूल हो स्याउ । बजारमा स्याउबाहेक अन्य फलफूल सिजनमा मात्रै बढी मात्रामा देख्न सकिन्छ । तर, स्याउ भने जुनसुकै मौसममा पर्याप्त मात्रामा देख्न पाइन्छ ।

फलफूलको राजा मानिने स्याउमा जुनसुकै मौसममा पनि उच्च खपत हुन्छ । अन्य फलफूलको तुलनामा स्याउ धेरै खपत हुन भएकाले आयात हिस्सा निकै ठूलो छ । तर, उत्पादनको अवस्था भने निकै कमजोर छ ।

नेपाली बजारमा अहिले चीन र भारतबाट आयात भएको स्याउ बिक्री हुँदै भइरहेको छ । नेपालले वार्षिक अर्बौ रुपैयाँको स्याउ आयात गरेको सरकारी तथ्यांकले नै देखाउँछ ।

त्यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वदेशी उत्पादनलाई प्राथमितामा राखेर स्याउ आयात छुट हुँदै आएको मूल्य अभिवृद्धि कर खारेजले गर्दा बजारमा मूल्य ह्वात्तै बढेको छ । सरकारले केही कृषिजन्य वस्तुको आयातमा १३ प्रतिशत भ्याट लाग्ने बनाएको छ ।

उक्त व्यवस्थासँगै आयातमा कमी आएको छ भने बजारमा मूल्य उपभोग गर्न नसक्ने गरी बढेको छ । अहिले बजारमा प्रतिकेजी स्याउ ३५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्म बिक्री भइरहेको छ ।

अहिले स्याउको सिजन नभएकाले मुख्य आयात गर्ने देशहरुले मूल्य बढाएर बिक्री गरिरहेको अवस्थामा नेपाली व्यवसायीले महँगो मूल्यमा आयात गरेर नेपाली बजारमा बिक्री गर्दै आएका छन् । जसले गर्दा उपभोक्ता महँगो मूल्यमा खरिद गरी उपभोग गर्न बाध्य छन् ।

स्वदेशी उत्पादन निकै कमजोर भएको अवस्थामा सरकारले भ्याट लगाउँदा अधिकांश व्यवसायी मर्कामा छन् । नेपाली बजारमा भने भदौदेखि मात्र स्वदेशी स्याउ उपलब्ध हुन्छ । तर, स्वदेशी स्याउले बजार धान्न नसक्ने हुँदा वर्षभरि नै आयातित स्याउमा भर पर्नुपर्ने बाध्यता रहेको कुलेश्वर फलफूल थोक  व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँ बताउँछन् ।

उनका अनुसार बजारमा स्वदेशी स्याउको माग उच्च छ । तर, पर्याप्त उत्पादन हुन सकेको छैन । राज्यले स्याउ उत्पादनमा जोड नदिँदा अर्बौं रुपैयाँ रकम बाहिरिँदै आएको छ । ‘नेपाली बजारमा स्वदेशी स्याउको बजार निकै राम्रो छ,’ उनले क्लिकमान्डुसँग भने, ‘आयातित स्याउभन्दा महँगोमा बिक्री हुने स्वदेशी स्याउ पर्याप्त उत्पादन नहुँदा आयातमा भर परिरहेका छौं ।’

नेपालमा मौसममा मनाङ, मुस्ताङ, जुम्ला, हुम्लालगायत हिमाली जिल्लाको स्याउ भित्रिन्छन् । उक्त अवधिमा विदेशी स्याउभन्दा नेपाली स्याउ महँगो छ । महँगो हुँदा पनि उपभोक्ताले स्वदेशी स्याउ भनेपछि किनेर लैजाने चलन छ ।

आगामी भदौदेखि स्याउको सिजनको हो । भदौदेखि स्वदेशी स्याउ बजारमा भित्रिन थाल्छन् । तर, उक्त स्याउले बजारको माग धान्न सक्दैन । नेपालमा उत्पादन भएको स्याउले नेपाली बजारलाई १० दिन पनि नधान्ने हुँदा चीन र भारतबाट आयात गर्नुपर्छ ।

‘भदौदेखि भारत तथा चीनबाट पनि सस्तो मूल्यमा स्याउ भित्रिन्छ,’ उनले भने, ‘स्वदेशी स्याउ  प्रतिकिलो २५० रुपैयाँभन्दा कम मूल्यमा बिक्री भएको रेकर्ड छैन । उक्त समयमा विदेशी स्याउ भने १८० रुपैयाँदेखि  २२० रुपैयाँसम्ममा बिक्री हुन्छ ।’

सिजनमा उपत्यकामा हप्तादिनमा ३ सय टन हाराहारी स्याउ भित्रिने गर्छ । तर, बजारमा विदेशी स्याउ दैनिक सय टनको हाराहारीमा भित्रिन्छ । नेपालमा स्वदेशी स्याउको माग उच्च भए पनि उत्पादन गर्न भने सकेको छैन । बजारको मागअनुसार स्वदेशी स्याउ उत्पादन हुन नसकेको अवस्थामा सरकारले आयातमा कडाइ गर्न नहुने उनको भनाइ छ ।

नेपालमा एक वर्षमा करिब ५ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको सरकारी तथ्यांक छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा १३ हजार ४६३ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन गर्न सकिन्छ । तर, देशभर ५ हजार ७०१ हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन हुँदै आएको छ । जहाँ वार्षिक ४८ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ ।

नेपालमा कर्णाली प्रदेशमा सबैभन्दा बढी स्याउ उत्पादन हुँदै आएको छ । कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा ३१ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

कर्णाली प्रदेशमा पनि जुम्लामा उच्च स्याउ उत्पादन हुँदै आएको छ । उक्त वर्ष जुम्लामा मात्रै १२ हजार टन स्याउ उत्पादन भएको मन्त्रालयले जनाएको छ । त्यसबाहेक कोशी प्रदेशमा उक्त वर्ष २ हजार ५१४ मेट्रिक टन, बागमती प्रदेशमा १ हजार मेट्रिक टन, गण्डकी प्रदेशमा ८ हजार ७१३ मेट्रिक टन, लुम्बिनी प्रदेशमा २ हजार ८७६ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा २ हजार ३९३ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

११ महिनामा साढे ६ अर्बको आयात

स्याउमा परनिर्भर रहेको नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा साढे ६ अर्बभन्दा बढी मूल्यको आयात गरेको छ । नेपालले ११ महिनाको अवधिमा ६ अर्ब ६७ करोड ५२ लाख रुपैयाँको ७ करोड ९५ लाख ९० हजार केजी स्याउ आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपालले अधिकांश स्याउ चीनबाट आयात गर्दै आएको छ । नेपालले सो अवधिमा ४ अर्ब ७३ करोड ७५ लाख रुपैयाँको ५ करोड १ लाख ५३ हजार किलो चीनबाट आयात गरेको छ । त्यस्तै, भारतबाट १ अर्ब ९३ करोड रुपैयाँको २ करोड ९३ लाख ८१ हजार किलो, स्विट्जरल्यान्डबाट २७ लाख रुपैयाँको ३५ हजार किलो र अमेरिकाबाट ५० लाख रुपैयाँको २० हजार किलो स्याउ आयात भएको छ ।


अरिष्मा मोक्तान