गोकुल बाँस्कोटाले प्रधानमन्त्रीलाई भने: देशको लागि उभिने आँट गर्नुस्, पद छाडिदिनुस्



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्रीले पद त्यागका लागि आँट गर्नुपर्ने बताएको छ । रोल…

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले सकेसम्म पदत्याग गर्न आँट गर्नुपर्ने बताएका छन् ।

सत्ता स्वार्थका निम्ति देशको सार्वभौमिकता साट्न नसकिने भएकाले प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने उनको भनाइ छ ।

सांसद बाँस्कोटाले प्रधानमन्त्री दाहाल वातावरणले, व्यवहारले, अभ्यासहरुले, कुराहरुले, लघुताभासले, आत्मसमर्पणवादले देशको हितमा नरहेकाले आफूहरुले सिंगो संसद र देशबासीलाई विश्वासमा लिने गरी आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिनका लागि संसद सूचारु गराएको बताए ।

बाँस्कोटाले यसो भने

यो संसद लगातार अवरुद्ध हुँदै आएको छ । त्यसको कारण प्रतिपक्षलाई बनाइयो । सत्तापक्षले हामीमाथि हिलो छ्याप्ने कोशिस गर्‍यो । तर,आफ्नो स्पष्टीकरण दिएन ।

हामीले प्रश्न उठाएका थियौं–हाम्रो देशको प्रधानमन्त्री देशभक्त हुनुहुन्छ । क्रान्तिकारी हुनुहुन्छ । र, स्मरण गर्दछु कि उहाँले परिवर्तनका लागि भनेर ४० सुत्रीय माग राखेर आन्दोलन गर्दा प्रभुत्वाद, उपविवेशवाद, विस्तारवादका विरुद्ध नौं वटा कुरा राख्नु भएको थियो ।

हेक्का होला, सम्झना होला । तर आज त्यही ट्रक चढेर उहाँ कहाँ पुग्दै हुनुहुन्छ ? हाम्रो प्रश्न यो थियो । यसबारे उहाँले संसदलाई स्पष्ट पार्नु भएन । उहाँले कठपुतली भनिरहनु भयो । त्यो पनि म सम्झाउनु चाहन्छु । तर अहिले आफूलाई कम्र्फटेवल भन्नु भयो । हामीले त्यो पनि सह्यौं । त्यसैगरी चीनको सल्लाहमा म भारत गए भन्नु भयो । त्यो पनि हामीले हाम्रो देशको प्रधानमन्त्री जाने हो, नेपालको हितका कुरा गर्नुहोला भन्यौं । तर अहिले आएर एउटा किताव विमोचनको सन्दर्भमा उहाँले आफूलाई यो संसदले होइन् नेपाली जनताले होइन्, अरु कसैको साथ र सहयोगमा म प्रधानमन्त्री बनि भन्ने खालको कुरा गर्ने कुरामा प्रमुख प्रतिपक्ष दलले प्रश्न उठायो । र, हाम्रो देशको प्रधानमन्त्रीलाई हामी त्यति कमजोर देख्न चाहन्नौं । आन्तरिक कुरा जेसुकै होस । एमाले रहोस्, नरहोस् । माओवादी रहोस्, नरहोस् । काँग्रेस रहोस नरहोस् । तर यो देश र यो देशका जनताको सावैभौमसत्ता रहनु पर्छ भन्ने हाम्रो मत हो । त्यस मतका निम्ति हामीले प्रश्न उठाएका थियौं । उहाँले कालापानी, लिपुलेकको कुरा पनि उठाउनु भएन । एउटा पुरानो गीत छ–सेतो र चोली, कालो र चोली कुन चोली सिएको ? यो गीत मैले गाएको होइन, सम्झाई दिएको ।

अहिले म सोच्छु–प्रधानमन्त्रीज्यू तपाईलाई भन्नुपर्ने भो–तपाईंले चन्द्रसुर्य झण्डा उचाल्ने हो कि भन्नु पर्‍यो यो संसदमा । दुई करोड ९१ लाख जनतालाई हाम्रो प्रधानमन्त्री हामीले बनाएको हो भन्ने विश्वास दिलाउनु पर्‍यो । त्यसैले यो असाध्यै जनता दुखित हुने कुरा र हाम्रो सार्वभौमसत्तामाथि निरन्तर हमला हुने कुरा र त्यसमा प्रधानमन्त्रीको मौनता हाम्रो लागि स्विकार्य भएन । देशको लागि स्विकार्य भएन । चन्द्रसुर्य झण्डाका लागि स्विकार्य भएन । चार तारे, लालतारेको निम्ति जेसुकै होस् मैले अघिनै उल्लेख गरेँ ।

अर्को एउटा कुरा सत्तापक्षले निरन्तर भन्यो–मिटरब्याजको विषयमा । भ्रम छर्न खोज्यो । के यो संसद ५७ दिनपछि प्रधानमन्त्रीज्यू तपाईँले ५७ दिनपछि त्यो अध्यादेश ल्याउनु पर्छ, जबकि सदन चलिरहेको छ । थाहा होला । पहिलो चोटी प्रधानमन्त्री भएको होइन तपाई । पटकपटक हुनु भएको छ । त्यसैले हामीले संशोधन समेत राखेनौं । कुनै अवरोध गरेनौं ।

अनि, मिटरब्याँजीको विपक्षमा नेकपा एमाले रह्यो, प्रमुख प्रतिपक्ष रह्यो भनेर तपाईले सचिवालयले वक्तव्य जारी गरेर हामीमाथि लाञ्छना लगाउनु मिल्छ ? कहाँनिर विरोध भयो ? यहाँ भन्नु पर्‍यो । दुनियाँलाई थाहा छ । मिडियालाई थाहा छ । दुनियालाई थाहा छ । त्यसैले हाम्रो प्रश्न के हो भने यति गम्भिर प्रश्न उठाएपछि हाम्रो आशा थियो, विश्वास थियो । प्रधानमन्त्रीले सदनलाई विश्वासमा लिनुहुन्छ । आफ्नो कुरा प्रष्ट पार्नु हुन्छ । तर गठबन्धनको बैठक राखेर कोशी प्रदेशको सन्दर्भमा समेत त्यहाँको सरकार कु गर्ने काम गर्‍यो । राजनीतिक कु गर्ने काम गर्‍यो । संविधान च्याँत्ने काम गर्‍यो । हिजो के भन्नु भएको थियो ? आज सम्झिनु पर्दैन ? आज थाहा हुँदैन । एक माघले जाँडो जाँदैन । राजनीतिमा एकले अर्कालाई वाच गरिरहेको हुन्छ भन्ने कुरा स्मरण गराउन चाहन्छु । उहाँले राजीनामा दिनुपर्छ । हाम्रो भनाई यही हो ।

उहाँले एक्स्क्युज गर्नु पर्छ । हाम्रो भनाई त्यही हो । उहाँको भनाई स्पष्ट रुपमा हामीलाई, यो संसदलाई, सार्वभौम संसदलाई यसमार्फत् २ करोड ९१ लाख जनतालाई आश्वास्त पार्ने खालको आउँक छि आउँदैन ? हाम्रो पर्खाई त्यो हो । त्यसकारणले उहाँले आफूले एउटा देशको प्रधानमन्त्रीको रुपमा उभिएर के कुरा लिएर हिँडनु भएको छ ? मोरीयार्टीलाई बिर्साउन खोज्नु भएको हो, लेण्डुपलाई बिर्साउन खोज्नु भएको हो ? हामीलाई विश्वास लाग्दैन त्यो । तर वातावरणले, व्यवहारले, अभ्यासहरुले , कुराहरुले, लघुताभासले, आत्मसमर्पणवादले, राष्ट्रिय आत्मसमर्पणवाद स्विकार्य छैन । त्यसकारण प्रधानमन्त्रीज्यूले संसदलाई स्पष्ट पार्नु पर्दछ । र, उहाँले सक्नु हुन्छ भने देशको लागि उभिने आँट गर्नुस् । पद छाडिदिनुस् । सत्ता स्वार्थको निम्ति देशको सार्वभौमिकता साटिदैन । यही भन्न चाहन्छु सभामुख महोदय, हाम्रो भनाई यही हो । यत्तिकै अगाडि बढन सकिदैन । त्यसकारणले उहाँले संसदलाई, प्रतिपक्षलाई मात्रै होइन, देशका जनताले प्रश्न उठाएका छन । स्पष्ट पारिदिनुस् ।


क्लिकमान्डु