ज्याक मा, विनोद चौधरी, नेपाली मानसिकता र चुकेको सरकार
मध्य असारको झरीमा चिनियाँ अर्बपति ज्याकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदै गर्दा भक्तपुरका किसान धान रोप्न व्यस्त थिए । १२ असारमा काठमाडौंमै लन्च खाने गरि ज्याकमा उत्रिए लगत्तै काठमाडौं तरंगित बनेर यसका छालहरू देशैभरी फैलिए ।
ज्याकमा विमानस्थलबाट बाहिर निस्किन नपाउँदै पार्किङमा राखिएको उनको विमान मिडिया र सोसल मिडियामा भाइरल बनिसकेको थियो । सुरक्षा निकायसँग निकटमा रहेका पत्रकारले चलाएको अनलाईन पोर्टलमार्फत् ज्याकमा चढेर आएको विमानको तस्बिर सार्वजनिक भएको थियो । विमानस्थलभित्रको पार्किङमा राखिएको विमानको तस्बिर खिचेर मिडियालाई पठाउनेले पनि ज्याकमाको तस्बिर भने मिडियालाई पठाउन सकेनन् ।
ज्याकमाको तीन दिने नेपाल बसाईका क्रममा मिडियाले ज्याकमाको खोजी गरिरह्यो । उनी बत्तिसपुतलीस्थित होटल द्वारिकामा बसेका छन् भन्ने सूचना बाहिरिए पनि नेपालका हजारौँमध्येका कुनै मिडियाले पनि उनको तस्बिर सार्वजनिक गर्न सकेनन् ।
नेपाली समाज पैसा कमाएका उद्यमी व्यवसायीप्रति नकारात्मक प्रतिक्रिया जनाउँछ । नेपालमा यस्तो राजनीतिक भाष्य निर्माण गरिएको छ कि पैसा कमाउने मानिस जति सबै ‘दलाल नोकरशाह पुँजीपति’ हुन् । रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको देशभरीको शक्ति मूल्यांकन नभईसकेको अवस्थामा नेपालको करिब दुईतिहाई जनमत कम्युनिष्ट विचारप्रति झुकाव राख्छ भनेर अनुमान गर्न सकिन्छ । यो जनमतको नेता बन्नका लागि पैसा कमाएका मानिसहरूलाई जति धेरै नकारात्मक विशेषण दिन सकियो त्यति ठूलो नेता बन्न सकिने विश्वास कम्युनिष्ट नेताहरुमा छ ।
कम्युनिष्ट पार्टीमा ‘बहुदलिय जनवाद’का पक्षधर सुधारिएका दोस्रो/तेस्रो तहका नेताहरूको भाषणको ‘सश्लेषण’ पनि ‘दलाल पुँजीवाद’मा पुगेर सकिने गरेको छ । जसले बिनामेहनत पैसा कमाउँछ र कमाएको पैसा पुन लगानी नगरि लुकाएर राख्छ उसलाई दलाल पुँजीपति भनिनुपर्छ । यस अर्थमा नेपालका राजनीतिक पार्टीका नेताहरू जो हिँजो लेबी उठाएर आफ्नो खर्च चलाउँथे र अहिले हेलिकोप्टर चार्टर गरेर भाषण गर्न डुल्छन् उनीहरू नै दलाल नोकरशाही पुँजीपति हुन् । जसले श्रम, पुँजी, मेशिन, कच्चा पदार्थ र बुद्धि लगाएर उद्यम व्यवसाय गर्छन् तिनैले यो देशको अर्थतन्त्रलाई धानेका छन् । तर, आफू दलाल पुँजीवादको नमूना बनेर यहाँ पसिना बगाउने उद्यमीहरूलाई राजनीतिक नेताहरुले दलाल पुँजीपतिको संज्ञा दिन छाडेका छैनन्।
राजनीतिको मेनस्ट्रिम यही सोचबाट ग्रस्त भएका कारण राजनीतिक पार्टीहरूमा श्रृजनशिल, उद्यमशिल र कर्मशिल मानिसहरू किनारामा पारिँदै आएका छन् । उनीहरूले उद्यमशिलताबाट आएका मानिसहरूलाई आफ्नो शोषणको माध्यममात्रै बनाउने गरेका छन् । यो रोग कम्युनिष्ट पार्टीहरुमा मात्रै होइन, नेपाली कांग्रेसमा पनि उत्तिकै झांगिएको छ ।
नेपाली समाज उद्यमी व्यवसायीलाई सम्मान दिन हिच्किचाउँछ । पैसा सबैलाई चाहिएको छ तर, पैसा कमाएका मानिसप्रति घृणा फैलाउनमा पनि हाम्रो समाज उत्तिकै माहिर छ । राजनीतिक पार्टीका एकसेएक नेताहरू ब्यापारीको दैलोमा पुगेर पकेटमा पैसा हाल्छन् त्यही पैसाले मासुभात खाएर प्राप्त गरेको बलले ब्यापारीलाई गाली गरेर भीडको ताली खान्छन् । राजनीतिको यही दोकला प्रवृत्तीले नेपाली समाज भित्रभित्रै मक्किएको छ- पैसा सबैलाई चाहिएको छ । तर, पैसा कमाउन सफल व्यवसायीहरुप्रति घृणा ओकलिरहेको छ ।
राज्यसत्ताको प्रत्यक्ष उपभोग राजनीतिज्ञले गर्छन् । राज्यसत्ताको पहुँचमा रहेको समयमा ब्यापारीसँग मिलेर पैसा कमाउनु उनीहरुको ध्येय रहँदै आएको छ । यसका लागि उनीहरुले ब्यापारीलाई उपयोग गर्छन् । तर, जब ती विषयहरू सार्वजनिक विवाद वा कानूनको फन्दामा तानिन्छन् दोषजति ब्यापारीको टाउकोमा थोपरेर राजनीतिज्ञहरू आफुलाई ‘सतिसावित्री’ सावित गर्न लागिपर्छन् । पशुपतिमा भारत सरकारले निर्माण गरिदिएको धर्मशाला वतास ग्रुपलाई जिम्मा लगाउँदा होस् वा गोकर्ण फरेष्ट रिसोर्ट यति समूहलाई र ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मिनबहादूर गुरूङलाई दोहोर्याएर हिरासतमा राखिँदा होस् । यी प्रकरणमा व्यवसायीहरु संलग्न होलान् । तर, मुख्यकर्ता उनीहरू हुनै सक्दैनन्, किनभने व्यवसायीको हस्ताक्षरले राज्यका सम्पत्ती ब्यापारीको नाममा हस्तान्तरण गर्न सम्भव छैन । यस्ता प्रकरणहरुका खास दोषी राजनीतिज्ञ नै हुन् जो सरकारमा रहेर सरकारी सम्पत्तीको दुरूपयोग गर्ने योजना बनाउँछन् र ब्यापारीलाई बोलाएर सम्पत्ती जिम्मा लगाउँछन् ।
तर, उनीहरुले नै भाष्य निर्माण गरेका छन्- ऐजन ऐजन ब्यापारीले सरकारी सम्पत्ती कब्जा गरे ।
फेरि सोधौँ- कुन ब्यापारीको निर्णयले, कुन ब्यापारीको हस्ताक्षरले सरकारी सम्पत्ती उनीहरुको नाममा ल्याउन सम्भव छ ? यो प्रश्नको उत्तर नेपाली समाजलाई बुझाउने गरि नदिएसम्म राजनीतिज्ञले उद्यमी व्यवसायीमाथिको ‘इमोसनल ब्ल्याकमेलिङ’लाई कायमै राख्नेछन् ।
सत्तामा हालिमुहाली गर्नेहरुका लागि उद्यमी व्यवसायी उनीहरुका स्वार्थपूर्ति गर्ने माध्यममात्रै बनून् भन्ने चाहना छ । त्यो भन्दा तलको वर्ग नेपालका व्यवसायीले गलत काम गरेर सम्पत्ती कमाउँछन् भन्ने न्यारेसन घोकेर बसेको छ । यो न्यारेसन तिनै राजनीतिज्ञले तयार गरेर आम नागरिकलाई घोकाएका हुन् ।
कुनै पनि उद्यमी ब्यवसायीले राजनीतिकरुपमा त्योभन्दा माथिको हैसियतमा पुग्ने चाहना राख्यो भने उसको क्षमतालाई यसरी दवाईन्छ कि उसलाई पैसाको बलमा माथि पुग्न खोजेको आरोप तिनै राजनीतिका मठाधीशहरुले लगाईहाल्छन् । यो मामिलामा राजनीतिका नयाँ र पुराना जोगीहरुको मतमा कुनै फरक छैन । पार्टीलाई परम्परागत रुपमा चलाउन चाहने र पार्टीलाई सुधार गर्छु भनेर मैदानमा निस्किएका युवा नेताहरुको सोचमा यस मामिलामा कुनै फरक हैसियत देखिँदैन ।
उनीहरूलाई यत्ति पनि थाहा छैन कि पैसा कमाउन, सफल व्यवसायी बन्न, देशविदेशको बजार प्रतिस्पर्धामा अब्बल ठहरिन उच्च क्षमता, उच्च बुद्धि र उच्च व्यवस्थापन कला आवश्यक छ । ज जसले पैसा कमाएका छन्, यही क्षमता भएका कारण कमाएका हुन् ।
ज्याकमा फोर्ब्सको डलर अर्बपतिको सूचिमा ६८औँ नम्बरमा छन् । उनी चीनको चौथो नम्बरका धनी हुन् । विश्वभरका २५४० जना अर्बपति रहेको सोही सूचिको १६५७औँ नेपालका एकजना मात्रै अर्बपतिको नाम छ- विनोद चौधरी । नेपाल करप्सन इन्डेक्समा होस् वा डुइङ विजनेश, राजनीतिक अस्थिरताको सूचिमा होस् वा लगानीकर्ताको सुरक्षाको इन्डेक्समा होस् अफ्रिकन देशहरूभन्दा पनि पछाडि पर्न थालेको छ । यस्तो पृष्ठभुमिमा नेपालमा बिजनेश गरेर पहिलो विश्वका अर्बपतिहरु रहने सूचिमा आफ्नो नाम लेखाउन सफल विनोद चौधरीको क्षमता अद्भुत मान्नुपर्छ । तर, देशभित्रको अवस्था हेर्दा कस्तो देखिन्छ भने अर्बपति चौधरीलाई मानिसले यसरी हेरिरहेका हुन्छन् मानौँ उनी एक सामान्य नेपाली नागरिक हुन् र उनलाई फोर्ब्सले दया/माया गरेर वा फोर्ब्सले उनीसँग पैसा खाएर अर्बपतिको सूचिमा राखिदिएको हो ।
चौधरी राजनीतिमा सक्रिय छन् । २०७४ सालमा उनी नेपाली कांग्रेसकोतर्फबाट समानुपातिक सांसद् थिए । र, त्यो बेला मानिसहरु उनले पार्टीलाई पैसा दिएकाले उक्त पद मिलेको भनेर गफ गर्थे । २०७९ सालमा उनले उनी नवलपरासीबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएर आए र पनि राजनीतिको एउटा तप्का जसले आफैं चुनाव हारेर बसेको छ उसले चौधरीलाई जनताबाट प्रत्यक्ष निर्वाचित भएर आएका नेता हुन् भनेर स्वीकार गर्न सकिरहेको देखिँदैन । नेपालको आर्थिक विकास र राजनीतिक सुधारका लागि चौधरीले संसदमा र संसद् बाहिर जोडदार आफ्ना योजनाहरु पस्किरहेका छन् । उनको स्पष्ट दृष्टिकोण देखिन्छ- नेपाललाई आर्थिकरुपमा समृद्ध राष्ट्रका रुपमा स्थापित गर्ने । त्यसका लागि आवस्यक राजनीतिक नेतृत्व दिन आफैं तयार रहने । तर, राजनीतिका लागि राजनीति गरिरहेको वर्गले आर्थिक विकासका लागि राजनीति गर्न चाहने चौधरीलाई अगाडि बढ्न छेकिरहेको देखिन्छ । आफुलाई राजनीतिका ‘स्थायी कर्मचारी’ मान्नेहरुले चौधरीलाई नसुनेझै गरिरहेका देखिन्छन् यद्यपी उनीहरुले देशमा आर्थिक विकास र राजनीतिक परिवर्तन हुनुपर्छ भनेर भनिरहेका छन् । तर, कसरी ? यसको जवाफ भने पाउन सकिँदैन ।
कुनै पूर्वसंकेत बिना काठमाडौं ओर्लिएका ज्याकमा पक्कै पनि नेपाली एक्ला अर्बपतिको पाहुना हुनुपर्छ भन्ने अनुमान हुनु स्वभाविक हो । ज्याकमा पहिलो दिन काठमाडौंको द्वारिकाज होटलमा बसेको सबैलाई थाहा थियो । दोस्रो दिन उनी उनै नेपाली अर्बपतिको निवासमा लन्च गर्ने र बस्नका लागि उनकै चितवनको मेघौलीमा रहेको मेघौली सराई जंगल सफारी रिसोर्ट पुग्ने समाचारहरु सार्वजनिक भए । सम्भवतः मिडियाले पाएको यो जानकारी सत्यको नजिक थियो । तर, ज्याकमा काठमाडौं ओर्लिएको पहिलो दिन साँझ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गर्ने खबर पनि मिडियामा सार्वजनिक भए । सम्भवतः यी समाचार प्रधानमन्त्री र अर्थमन्त्रीका सचिवालहरुमार्फत् नै सार्वजनिक गराईएका थिए ।
मित्रराष्ट्र चिनका नागरिक विश्वको ६८औँ नम्बरमा रहेका विश्वचर्चित अर्बपति नेपाल आएको अवसरमा प्रधानमन्त्री र अर्थमन्त्रीले भेट्नु र नेपालमा उनलाई लगानीका लागि सार्थकरुपमा आग्रह गर्नु नेपालका लागि एकदमै महत्वको कदम थियो । सरकारकातर्फबाट भेटका लागि आएका यिनै प्रस्तावहरुका कारण ज्याकमाको काठमाडौं बाहिर जाने योजना क्यान्सिल गरिएको हुनुपर्छ । छिमेकी देशका सहसचिवस्तरका कर्मचारीहरु, गुप्तचर निकायका पदाधिकारीहरु राजनीतिक पार्टीका सामान्य हैसियतका मानिसहरु नेपाल आउँदा पनि प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थहरुसँग भेटघाट हुँदै आएको पृष्ठभुमिमा ज्याकमाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट्नु नेपालकै लागि महत्वको बिषय हुनेथियो ।
तर, ज्याकमा नेपालको औपचारिक भ्रमणमा नरहेको आन्तरिक व्यवस्थापनका कुराहरुलाई कारण बनाएर प्रधानमन्त्री र अर्थमन्त्रीले उनलाई भेट्ने चाहनाबाट पछाडि हट्नु आफैंमा दुखदायी कुरा हो । आजको विश्वमा ज्याकमा नेपाल आएको अवसरमा त कुरै छाडौँ मानौँ कुनै अन्तर्राष्ट्रिय ट्रान्जिटमा प्रधानमन्त्री वा अर्थमन्त्रीसँग जम्काभेट हुन्थ्यो भने पनि त्यो अवसरलाई उपयोग गरेर नेपालमा लगानीका लागि प्रोत्साहित गर्नुलाई सफल राजनीति मानिन्छ । नेपालमै आएर तीन दिन बसेका अर्बपतिलाई सरकारले औपचारिकताका नाममा नभेट्नु एकदमै ठूलो कमजोरी हो । हो, उनी पक्कै पनि नितान्त व्यक्तिगत भ्रमणमा नेपाल आएका थिए । तर, उनीजस्ता लगानीकर्ता औपचारिक होस् वा अनौपचारिक दुनियाँका जुन देशमा गएपनि उनको नजर त्यहाँका अवसरहरुमा नै केन्द्रित हुन्छ । सरकारी पक्षले त्यहाँ प्रदर्शन गर्न सक्ने लगानीको वातावरणले नै उनीहरुलाई फर्काएर ती देशमा लैजाने हो । नेपालमा आएको बेला सरकारले त्यो शन्देश दिन सकेको भए अहिले अनौपचारिक भ्रमणमा आएका ज्याकमा अर्को महिना कुनै परियोजनामा सम्झौताका लागि हस्ताक्षर गर्ने गरि नेपाल आउने सम्भावना रहन्थ्यो । तर, राजनीतिका लागि राजनीतिमात्रै गरिरहने हाम्रो स्तरका कारण ज्याकमालाई नेपालमा लगानी गराउने सुवर्ण अवसर सरकारले खेर फालेको छ ।
ज्याकमा नेपालका लागि निकै नै महत्वपूर्ण पाहुना थिए- राजनीतिका लागि, निजी क्षेत्रका लागि र यहाँका युवाहरुका लागि । ज्याकमाले नेपाललाई दिएको तीन दिनको समय थोरै थिएन । भलै, उनी नितान्त निजि भ्रमणका क्रममा नेपाल ओर्लिएका हुन् सरकारले उनीसँग खास–खास मिटिङहरु एरेन्ज गर्न सक्नुपर्थ्यो । पहिलो त राजनीतिक नेताहरुकै लागि । आर्थिक विकासलाई मुख्य एजेण्डा बनाएका तर यो एजेण्डा कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर भेउ नपाएका राजनीतिक नेताहरुले ज्याकमालाई ध्यान दिएर सुन्नुपथ्र्यो- नेपालमा के गर्न सकियो भने ज्याकमा जस्ता अन्तर्राष्ट्रिय लगानीकर्ता नेपालमा आउनेछन् । आर्थिक विकासका चिनियाँ मात्रै होइन, विश्वस्तरीय अनुभवहरु ज्याकमाले हाम्रा राजनीतिज्ञहरुलाई सम्झाउन सक्थे । र, सायद हाम्रा राजनीतिज्ञले एकजना विदेशी लगानीकर्ताले भनेको कुरा थोरबहुत भए पनि महशुस गर्थे होलान् ।
दोस्रो, नेपालको निजी क्षेत्रसँग ज्याकमाको मिटिङ गराईदिनु सरकारको दायित्व थियो । चीनदेखि अमेरिकासम्मका चर्चित यी लगानीकर्ताले नेपालका उद्यमी व्यवसायीलाई कसरी सोच्ने, कसरी काम गर्ने र सरकारसँग कसरी सहकार्य गरेर विकासका प्रोजेक्ट अगाडि बढाउन सकिन्छ भनेर आफ्ना अनुभव सेयर गर्ने थिए । ज्याकमालाई मुख्य अतिथि बनाएर नेपालको निजी क्षेत्रले कार्यक्रम आयोजना गर्न सकेको भए निजी क्षेत्रको मनोवल आफैंमा उच्च हुने थियो । हुनसक्छ, कतिपय प्रोजेक्टहरुमा नेपालका व्यवसायी र ज्याकमाका कम्पनहिरुबीच सहकार्यको वातावरण पनि बन्न सक्थ्यो । आफ्नै आँगनमा पाएको यो अवसरलाई नेपालले खेर फालेको हो । यसका लागि सरकारले पहल नै लिएन ।
तेस्रो, नेपालका युवाहरुसँग ज्याकमाको बृहत् कार्यक्रम व्यवस्थापन पनि सरकारले नै गरिदिनुपथ्र्यो । नेपाली युवाहरु ज्याकमालाई यसकारण निकै रुचाउँछन् कि उनी पनि अहिले नेपाली युवा भोगिरहेको अभावको जीन्दगीबाट विश्वको अर्बपतिको पहिलो लहरमा पुगेका ब्यक्ति हुन् । एउटा गरिब परिवारमा जन्मिएर पनि ज्याकमाले न्यूयोर्क स्टक एक्सचेन्ज हल्लाईदिन सक्छन् भने हामीले पनि केही गर्न किन सक्दैनौँ भन्ने भावनालाई हाम्रा युवाहरुले ज्याकमासँग साट्ने थिएँ । ज्याकमाजस्ता उद्यमीलाई युवाहरुसँग जोडिदिदा त्यसले स्टार्टअपका नयाँ आइडियाहरुमा काम गर्न ठूलो लहर ल्याउन सक्छ भन्ने कुरालाई सरकारमा रहेका कसैले पनि हेक्का राख्न सकेनन् । ज्याकमा आए र फर्किए । तर, हामीले त्यो अवसरलाई खेर फाल्यौँ ।
नेपाली अर्बपति विनोद चौधरीका पुत्र निर्वाण चौधरीले ज्याकमा फर्किएको केही दिनपछि उनीसँगका अन्तरंग तस्विरहरु सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे । पछि मात्र थाहा भयो- ज्याकमा भक्तपुर दरबार स्क्वायर घुमेछन् । स्वयम्भुमा र बौद्धमा पुगेर बुद्ध जन्मिएको यस देशमा उनले शान्तिका लागि कामना गरे । कालीमाटी तरकारी बजारमा छिरे । अर्बपति चौधरीको निवासमा चौधरी परिवारसँग लन्च गरे र नेपालको यो परिवारसँग आफ्नो अन्तरंग सम्वन्धको आयामलाई पुर्नताजगी गरे । तर, ज्याकमाले यी सबै कुरालाई नितान्त निजी बनाउन चाहेकैले हुनुपर्छ- निर्वाणको सोसल मिडिया वालमा यी तस्विरहरु अहिले छैनन् ।
जतिसुकै निजी भने पनि ज्याकमा जस्ता अर्बपतिको ध्यान जहाँ पुग्यो त्यहि अवसर देख्ने हुन्छ । फेरी नेपाली अर्बपतिसँग उनले विताएको समयले पनि उनको दृष्टिमा नेपाल परेको छ भन्ने अनुमान गर्न सकिन्छ । आशा गरौँ- भविष्यमा काठमाडौंमा ज्याकमाको भव्य कार्यालय खडा हुनेछ ।