मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सयौं कर्मचारीले ३ महिनादेखि तलब पाएनन्



काठमाडौं । आर्थिक संकटमा फसेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ३ महिनादेखि कर्मचारीलाई तलब नदिई काममा लगाएको पाइएको छ ।

झापाको बिर्तामोडमा बी एन्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल र पाँच तारे ‘होटल एट्रियम’का सञ्चालक प्रसाईंले सयौंको संख्यामा रहेका कर्मचारीलाई ३ महिनादेखि तलब दिन छाडेका हुन् ।

मेडिकल कलेज, क्यान्सर अस्पताल, होटलका लागि ८ वटा बैंकबाट ५ अर्ब ५७ करोड ऋण लिएका प्रसाईंले पछिल्लो समय बैंकको सावाँब्याज समेत भुक्तानी गरिरहेका छैनन् । सावाँब्याज भुक्तानी गर्न छाडेर बैंकविरुद्ध अराजक गतिविधि गर्दै हिँडेका प्रसाईले २ सयभन्दा बढी निजी सेक्युरिटी गार्ड राखेका छन् । केही समयअघि निजी सेक्युरिटी गार्डलाई प्रसाईंले परेड खेलाएर सलामी लिएको भिडियो भाइरल बनेको थियो । प्रसाईंले राखेका निजी गार्डले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने, थर्काउने जस्ता चरम अराजक गतिविधि गर्दै आएका छन् ।

तर, पछिल्लो समय प्रसाईंका मेडिकल कलेज, अस्पताल र होटलमा कार्यरत सयौं कर्मचारीको मात्रै होइन, निजी फौजको पनि तलब रोकिएको छ । बी एण्ड सीमा ६१५ जना कर्मचारी छन् भने ४६६ जना डाक्टर कार्यरत छन् । क्यान्सर अस्पताल र होटेलमा गरि जम्मा १५ सयको हाराहारीमा कर्मचारी छन् ।

‘हामीले पछिल्लो ३ महिनादेखि तलब पाएका छैनौं,’ बी एण्ड सी मेडिकल कलेजमा कार्यरत एक कर्मचारीले क्किकमान्डुसँग भने, ‘धेरै कर्मचारीहरु जागिर छोड्ने मुडमा छन् । तर, व्यवस्थापनले केही समय पर्खिनु भनेकाले म चाहीँ छिट्टै आउला भन्ने आशमा बसेको छु ।’

बैंकका कारण समस्यामा परेको भन्दै उनले केही समय पर्खिन कर्मचारीहरुलाई आग्रहसमेत गरेको ती कर्मचारीले बताए ।

बैंकविरुद्ध अभियान नै चलाएपछि बैंकहरुले उनलाई ऋणको सावाँब्याज तिर्न धमाधम अन्तिम ताकेता पत्र पठाउन थालेका छन्। सावाँब्याज नतिरे असूलीको कानूनी प्रक्रिया अघि बढाउने (लिलामी गर्ने) बैंकको पत्रपछि प्रसाई थप संकटमा परेका हुन् ।

प्रसाईंले भने बैंकले प्रतिवद्धता गरेअनुसार ऋण नदिएर उल्टै असूलीको प्रक्रिया सुरु गर्छु भन्दै धम्क्याएका कारण आफूलाई केही संकट परेको बताउँछन् ।

‘०७९ जेठ १६ गते ३२ करोड रुपैयाँ चालु पुँजी कर्जा दिने सम्झौता गरेका बैंकले प्रतिवद्धताअनुसार १ रुपैयाँ पनि ऋण दिएका छैनन्, बैंकले ऋण नदिएपछि मैले उपकरण किन्न पाईंन, उपकरण किन्न नपाएपछि व्यवसाय पनि गर्न पाईंन,’ प्रसाईंले क्लिकमान्डुसँग भने, ‘अहिले आएर सावाँब्याज नतिरे असूलीको प्रक्रियामा जान्छु भनेर बैंकले भन्न मिल्छ ? कि बैंकको नियत हामीजस्ता व्यवसायीलाई डुबाउने नै हो ? होइन भने दिन्छु भनेको ऋण दिनुपर्दैन ?’

सरकारले बी एण्ड सी मेडिकल कलेज सञ्चालनका लागि प्रसाईंलाई सैद्दान्तिक समझदारी दिएको थियो । तर, पछि गोविन्द केसीले मेडिकल कलेजलाई लाइसेन्समा भ्रष्टाचार भएको भन्दै नयाँ मेडिकल कलेजलाई लाइसेन्स दिनुहुन्न भनेर आमरण अनसन बसेपछि प्रसाईंको बी एण्ड सी मेडिकल कलेजले अन्तिम स्वीकृति पाएको छैन । जसकारण उनी सरकारबाटै पीडित भएका हुन् ।

सरकारले दिएको सैद्दान्तिक सहमतिलाई आधार मानेर अर्बौं ऋण दिएका बैंकहरुको ऋण भने यतिखेर जोखिममा परेको छ । प्रसाईंलाई व्यवसाय सञ्चालन गरेर बैंकको ऋण तिर्न धौं-धौं परेको छ।

बी एण्ड सी मेडिकल कलेजले २ अर्ब ७० करोड रुपैयाँ कर्जा लिएको छ । रेटिङ एजेन्सी केयर नेपालले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बी एण्ड सी मेडिकल कलेजले सन् २०२२ मा १ अर्ब १९ करोड ६० लाख आम्दानी गरेको छ भने सन् २०२१ मा ८१ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ५३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो।

त्यस्तै, कम्पनीले सन् २०२३ को ५ महिनाको अवधिमा ३९ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । कम्पनीले चालू आर्थिक वर्षमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएसँगै बाहिरीबाट आउने बिरामी संख्या कम हुँदा आम्दानी घटेको रेटिङमा उल्लेख गरिएको छ ।

सन् २०११ मा स्थापना भएको अस्पतालले विभिन्न प्रकारका सेवा दिँदै आएको छ । इन्दिरा गिरी अध्यक्ष रहेको कम्पनीमा दुर्गा प्रसाईं कार्यकारी निर्देशक छन् । कम्पनीमा गिरी र प्रसाईंबाहेक अन्य दुई जनाको लगानी छ ।

सन् २०२० मा पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि प्रसाईंले १ अर्ब ५५ करोडको ऋणको रेटिङ गराएका थिए । ३ सय शैयाको यो अस्पतालको शतप्रतिशत स्वामित्व दुर्गा प्रसाईंसँग छ ।

प्रसाईंले २०७९ फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा झापाबाट नागरिक बचाउ महाअभियानका नाममा बैंक तथा वित्तीय संस्थाविरुद्ध अभियान नै सुरु गरेका छन् । त्यसक्रममा उनले बैंकको ऋण नतिर्ने, ऋण उठाउन आउने बैंकका कर्मचारीलाई कालोमोसो दल्ने तथा आक्रमण गर्ने जस्ता गतिविधि गर्दै आएका छन् ।

गत बैशाखमा बी एण्ड सी मेडिकल कलेजको आयकर १५ दिनभित्र तिर्न आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले निर्देशन दिएको थियो ।

आफू आर्थिक संकटमा फसेपछि प्रसाईं बैंकविरुद्धको आन्दोलनमा थप आक्रामक बनेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । मिटरब्याजी पीडितको आन्दोलन होस् या वित्तीय संस्थाविरुद्धका आन्दोलन भाषण गर्न उनी पुगिहाल्छन् । काठमाडौंको माइतीघरमा लघुवित्त पीडितको आन्दोलनमा समेत उनले दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो ।


क्लिकमान्डु