बैंक तथा वित्तीय संस्थामा थुप्रियो साढे ३ खर्ब, सुस्तायो कर्जा प्रवाह



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा साढे ३ खर्बभन्दा बढी पैसा थुप्रिएको छ । वस्तु तथा सेवाको मागमा कमी एवं उच्च ब्याजका कारण कर्जा प्रवाह सुस्त बन्दा असार १४ सम्ममा बैंक वित्तीय संस्थामा ३ खर्ब ५७ अर्ब २८ करोड रुपैयाँ थुप्रिएको हो ।

असार १४ सम्ममा बैंक वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्ब निक्षेप संकलन भएकोमा ४८ खर्ब ५९ अर्ब कर्जा प्रवाह भएको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.६२ प्रतिशतमा झरेको छ ।

असारका १४ दिनमै वित्तीय प्रणालीमा ३१ अर्ब निक्षेप थपिएको छ भने कर्जा प्रवाह ५ अर्ब रुपैयाँले मात्र बढेको छ । अर्थतन्त्रमा छाएको मन्दीका कारण व्यापार व्यवसाय ठप्प बनेपछि बैंकहरु पनि कर्जा प्रवाहमा भन्दा असुलीमा केन्द्रित भएका छन् ।

असार २ गतेसम्ममा वित्तीय संस्थामा ५५ खर्ब ६८ अर्ब निक्षेप तथा ४८ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो भने सीडी रेसियो ८३.९३ प्रतिशत थियो ।

वाणिज्य बैंकमा असार २ गतेसम्ममा ४९ खर्ब ११ अर्ब निक्षेप संकलन तथा ४२ खर्ब ९८ अर्ब कर्जा प्रवाह भएको थियो । असार १४ गते वाणिज्य बैंकमा निक्षेप संकलन ३२ अर्बले बढेर ४९ खर्ब ४३ अर्ब पुगेको छ भने कर्जा ३ अर्बले बढेर ४३ खर्ब १ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वैशाख २ गतेसम्ममा बैंक वित्तीय संस्थामा कुल निक्षेप ५४ खर्ब ७३ अर्ब थियो भने कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब थियो । असार १४ सम्मको अढाई महिनामा निक्षेप १ खर्ब २६ अर्बले बढ्दा कर्जा प्रवाह ९ अर्बले मात्र बढेको छ ।

समीक्षा अवधिमा अन्तर बैंक ब्याजदर भने बढेको छ । अन्तर बैंक ब्याजदर ४.७२ बाट बढेर ५ प्रतिशतमा उक्लिएको छ । वित्तीय क्षेत्रमा अधिक तरलता हुँदै गएपछि ब्याजदर पनि घट्दै गएको छ ।

अधिक तरलता भएपछि बैंक वित्तीय संस्थाले असारदेखि कर्जाको ब्याजदर घटाएका छन् । आधार दर घटेसँगै वाणिज्य बैंकले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका हुन् । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । असारमा ०.२ विन्दुले घटेर १२.४५ प्रतिशतमा झरेको हो ।

वैशाख र जेठमा निक्षेपको ब्याजदर घटेकाले असारमा बैंकको आधारदर ०.२४ प्रतिशत बिन्दुले घटेको र कर्जाको ब्याजदर सोही अनुपातमा घटेको हो । चैतमा १०.४८ प्रतिशत रहेको बैंक वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको छ । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ ।


क्लिकमान्डु