८ अर्ब लगानीमा ३ अस्पताल बन्ने, कहाँ-कहाँ बन्दै छन् ?



काठमाडौं । देशका विभिन्न स्थानमा करिब ८ अर्ब लगानीमा तीनवटा अस्पताल बन्ने भएका छन् । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) अनुसार ७ अर्ब ८५ करोड ८१ लाख रुपैयाँमा तीन अस्पताल बन्ने भएका हुन् ।

सम्बन्धित संघसंस्थाले अस्पताल निर्माणका लागि आवश्यक अध्ययन गरिसकेका छन् । साथै, आयोजनाको लागत अनुमानसहित कार्य अगाडि बढाएका छन् । संकलित तथ्यांकअनुसार हालै ईआईए तयार भएकोमा सुर्खेतको वीरेन्द्र नगरपालिकाको ११ र १३ नम्बर वडामा सुर्खेत मेडिकल कलेज तथा अस्पताल, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-७ मा किओच-काठमाडौं बाल अस्पताल र काभ्रेको धुलिखेल नगरपालिका-३ मा पतञ्जली आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टर निर्माण हुने भएका छन् ।

प्रतिवेदनअनुसार एउटा अस्पतालमा १ अर्ब ७० करोडभन्दा बढी लगानी हुनेछ । त्यस्तै, किओच काठमाडौं बाल अस्पताल २ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ भने पतञ्जली आयुर्वेदिक मेडिकल कलेज निर्माणका लागि ३ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

देशभरका अस्पतालले क्षमता बढाइरहेको अवस्थामा ठूलो लगानीमा अस्पतालहरुको निर्माण कार्य अगाडि बढाइएका छन् ।

कुन अस्पतालको क्षमता कति ?

सुर्खेत मेडिकल कलेज तथा अस्पताल

कर्णाली प्रदेशको सुर्खेतमा १ अर्ब ७० करोड लगानीमा सुर्खेत मेडिकल कलेज बन्ने भएको छ । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले वीरेन्द्रनगर नगरपालिकाको ११ र १३ नम्बर वडामा १ अर्ब ७० करोड लगानीमा कलेज निर्माणको लागि प्रस्ताव गरेको छ ।

अस्पताल तथा कलेज २९.८८९ हेक्टर क्षेत्रफलमा बन्नेछ । प्रस्तावित आयोजनामा साइट ‘ए’ र ‘बी’ मा निर्माण गर्ने उल्लेख गरिएको छ । विकास आयोजना साइट ‘ए’ १६.५० हेक्टर र साइट ‘बी’ १३.३८९ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ ।

निर्माणका लागि तयारी रहेको अस्पतालमा साइट ‘ए’ मा १० वटा ब्लक र साइट ‘बी’ मा ११ ब्लक हुनेछ । उक्त अस्पतालमा ६ सय सय्याको सुविधा हुनेछ । साथै, वार्षिक एक सयले विद्यार्थीले पढ्न पाउनेछन् ।

मेडिकल कलेजमा ८ वटा संकाय तथा डिमापर्टमेन्ट हुनेछ । जसमा अनाटोमी, फिजियोलोजी, बायोक्यामेष्ट्री, प्याथोलोजी, माइक्रोबायोलोजी, फर्माकोलोजी, फोरेन्सिक मेडिकलसहित टोक्सीओलोली र कम्युनिटी मेडिसिनको संकाय तथा डिपार्टमेन्ट हुनेछ ।

ईआईएअनुसार कर्णाली मेडिकल कलेजमा ३ वटा ब्लक अस्पताल, १-१ ब्लक एटेन्डेन्स होस्टेल, प्रिकिनिकल ब्लक, २-२ वटा ब्लकमा सिनियर र जुनियर रेसिडेन्ट होस्टेल र असिस्टेन्ट प्रोफेसर क्वार्टर, ४-४ वटा एसोसिएट प्रोफेसर क्वार्टर/प्रोफेसर क्वार्टर र ३ वटा ब्लकमा टाइप एको स्टाफ क्वार्टर बन्नेछ ।

त्यस्तै, ४-४ वटा ब्लकमा टाइप २/टाइप ३ को स्टाफ क्वार्टर, १ ब्लकमा गल्र्स होस्टेल, २ वटा ब्लकमा प्रशासन ब्लक, १-१ ब्लकमा बाइज/नर्स होस्टेल र १-१ ब्लकमा अध्यक्षका लागि भवन, गेस्ट हाउस इलेक्ट्रिकल ब्लक, लाइब्रेरी ब्लक, मोर्टयुरी ब्लक र वेस्ट ट्रिटमेन्ट प्लान्टको व्यवस्था हुनेछ । साथै, ३ वटा ब्लक गार्ड र २ वटा ब्लकमा क्यान्टिनको व्यवस्था हुनेछ । अस्पतालको भवनहरु ९५ हजार १६० वर्गमिटरमा निर्माण हुनेछ ।

किओच-काठमाडौं बाल अस्पताल

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-७ मा किओच-काठमाडौं बाल अस्पताल बन्ने भएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बूढानीलकण्ठको हेपाली हाइटमा बाल अस्पताल बनाउने भएको हो ।

कम्पनीले ४१ रोपनी १० आना ३ पैसा (२१ हजार १९५.९८ वर्गमिटर) क्षेत्रफलमा अस्पताल निर्माण गर्ने भएको छ ।

कम्पनीले बाल अस्पताल निर्माण गर्न २ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रतिवेदनमा अस्पतालको ग्राउन्ड कभरेजको अनुमति योग्य ९९६२.२१ वर्गमिटर (५० प्रतिशत) क्षेत्रफल रहेकोमा वास्तविकमा (३८३५.२४ वर्गमिटर) १९.२५ प्रतिशत हुनेछ ।

त्यसैगरी, ७९ हजार ६९८.६८ वर्गमिटर अनुमति योग्य क्षेत्रफल रहेकोमा फ्लोर क्षेत्र वास्तविक २३,९७१.३३ वर्गमटिरमा बन्ने भएको छ । साथै, फार १.२० र हरियाली क्षेत्र ४० प्रतिशत हुनेछ ।

अस्पताल भुइँ तल्लासहित ५ तल्लाको निर्मााण हुनेछ । त्यसमा बेसमेन्ट ३ तल्लाको हुनेछ । अस्पतालमा ३८३५.२४ वर्गमिटर क्षेत्रफल पार्किङ क्षेत्रको व्यवस्था हुनेछ । जसमा १२० वटा कार, अपांगमैत्री संरचना लिफ्ट चारवटा हुनेछ । कम्पनीका अनुसार र्‍याम्प, ह्विल चेयर र बाल/अपांगमैत्री भवन निर्माण हुनेछ ।

अस्पतालको चौथो तल्लामा जनरल वार्ड, अडिटोरियम, एड्मिनिस्ट्रेसन निर्माण गर्ने कम्पनीको भनाइ छ । तेस्रो तल्लामा डबल बेड रुम, सिंगल बेड रुम, सुइट रुम, दोस्रो तल्लामा एआईसीयू, पीआईसीयू, एचडीयू, जेनरल वार्ड, वेटिङ रुम र पहिलो तल्लामा ओटी, पी-ओपी, पोस्ट-ओपी र सीआईसीयूको व्यवस्था हुनेछ ।

प्रतिवेदनका अनुसार अस्पतालको भुइँ तल्लामा ओपीडी, नाम दर्ता, फार्मेसी, फिजियोथेरापी र डे केयर हुनेछ । बेसमेन्टमा आकस्मिक कक्ष लेबल (१) मा आकस्मिक सेवा, खाना खाने क्षेत्र, रेडियोलोजी, ल्याब लेबल (२) मा ल्याब, गोदाम, सीएसएसडी, प्रशासन, चिकित्सक कक्ष लुगा धुने सुविधा, हाउस किपिङ र पार्किङ लेबलमा पार्किङको व्यवस्था हुनेछ । उक्त स्थानमा ३० वर्षका लागि जग्गा भाडामा लिएर अस्पताल बनाउन लागिएको हो ।

इन्स्टिच्युटका अध्यक्षसमेत रहेका मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले बहुविशिष्टीकृत अस्पताल तथा बाँकी प्रदेशहरुमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरु सञ्चालन गर्न लागेको बताएका छन् । किओचले काठमाडौंसहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने जनाएको छ ।

किओच अध्यक्ष डा. कोइराला हुन् भने अन्य सदस्यहरुमा दीपकराज सापकोटा, गोविन्दप्रसाद अधिकारी, वीरेन्द्रबहादुर बस्नेत, डा. ज्योतिन्द्र शर्मा, भुवन दाहाल र भवानी राणा छन् ।

पतञ्जली आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टर

काभ्रेको धुलिखेल नगरपालिका-३ मा पतञ्जली आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टर निर्माण हुने भएको छ ।

सन् २००६ देखि आयुर्वेदिक चिकित्सा शिक्षा सिकेकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने, जनतालाई गुणस्तरीय स्वस्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्यका लागि सक्षम जनशक्ति विकास गर्ने लक्ष्यका साथ स्थापना भएको पतञ्जली योगपिठ नेपालले सेवालाई थप बृहत बनाउन आयुर्वेदिक मेडिलक कलेज तथा रिसर्च सेन्टरको प्रस्ताव गरेको जनाइएको छ ।

योगपिठले धुलिखेलमा २ सय शय्याको शिक्षण अस्पताल र अन्य आवश्यक सुविधा सञ्चालनका लागि प्रस्ताव गरेको छ । योगपिठले धुलिखेलामा वार्षिक २५० जनाको क्षमतामा अस्पताल निर्माण गर्नेछ । पहिलो वर्षका लागि ५० जना भर्ना क्षमता हुने योगपिठको प्रस्तावित मूल्यांकनमा उल्लेख छ ।

अस्पतालमा १०८ रोपनीमा १५ वटा भवन बन्ने योगपिठले जनाएको छ । हाल उक्त क्षेत्रमा ३ वटा भवन निर्माण भइरहेका छन्। त्यसमा १२ वटा भवन निर्माण कार्य बाँकी छ ।

उक्त क्षेत्रमा ९ हजार ९३५. वर्गमिटरमा बिल्डअप र बिल्डअप क्षेत्र र आयोजन क्षेत्रको अनुपात १८.०८ प्रतिशत कायम गरेको छ। योगपिठले ब्लक ‘ए’ मा एक तल्लाको भवन बन्नेछ । जसमा विभाग र लाइब्रेरी हुने प्रस्ताव गरिएको छ । उक्त भवनको भुइँ तल्ला ७००.५८१८ वर्षमिटरको र पहिलो तल्ला ६६०.३५४८ वर्गमिटरको बन्नेछ ।

त्यसैगरी, ब्लक ‘बी’मा २१ वटा कोठासहित २ तल्लाको भवन बन्नेछ । सो भवनको भुइँ तल्ला ९९७.३१४ वर्गामिटर, पहिलो तल्ला ९७३.२५ वर्गमिटर र दोस्रो तल्ला ९७३.२५ वर्गमिटरको बन्नेछ । जसमा ओपीडी सेवा सञ्चालन हुनेछ ।

ब्लक ‘सी’मा जेनरल वार्ड हुने गरी दुई तल्लाको भवन बन्नेछ । जसमा भुइँतल्ला ९९७.४० वर्गमिटर र पहिलो तल्ला र दोस्रो तल्ला ९७३.४३ वर्गमिटरको बन्नेछ । ब्लक ‘डी’ मा तीन तल्लाको भवन बन्नेछ । जसमा इमर्जेन्सी वार्डको व्यवस्था हुनेछ । प्रस्तावित आयोजनाअनुसार उक्त भवनको हरेक तल्ला ५२०.२५ वर्गमिटरको निर्माण हुनेछ ।

ब्लक ‘ई’ मा २ तल्लाको भवन बन्नेछ भने उक्त भवनका गाइकोलोजीको व्यवस्था हुनेछ । त्यस्तै, ब्लक ‘एफ’ ३ तल्लाको बन्नेछ । जसमा नर्स क्वार्टर हुनेछ ।

ब्लक ‘जी’ मा क्यान्टिन, ब्लक ‘एच’ मा १५ कोठाको दुई तल्लाको भवन निर्माण हुनेछ । सो भवनमा ब्वाइज होस्टेल हुनेछ । त्यसैगरी ब्लक ‘आई’ मा १५ कोठाको दुई तल्ला भवनमा गर्ल्स होस्टेल निर्माण हुनेछ ।

साथै, ब्लक ‘आईए’, ब्लक ‘आईबी’, ब्लक ‘आईसी’, ब्लक ‘जे’मा १ तल्लाको भवनमा लाइब्रअरी, ब्लक ‘के’ मा डक्टर वार्डका लागि १९ वटा कोठाको २ तल्ला भवन, ब्लक ‘एल’ मा ६ कोठाको १ तल्लाको भवन, ब्लक ‘एम’को ५ कोठाको भवन, ब्लक ‘एन’ मा २४ कोठाको १ तल्ला भवन र ब्लक ‘ओ’ मा १ तल्लाको भवन बन्नेछन् ।

त्यसैगरी, सोही रिसर्च सेन्टरमा एकै पटकमा १००-१५० गाडी अट्ने गरी १ हजार वर्गमिटर क्षेत्रफलमा पार्किङ क्षेत्र हुनेछ । साथै, अस्पतालमा ९३ वटा शौचालय बन्नेछ । उक्त रिसर्च सेन्टर ८ वर्षमा निर्माण सम्पन्न हुने जनाएको छ । रिसर्च सेन्टर ५ चरणमा निर्माण हुने भएको छ । पहिलो चरणमा शैक्षिक भवन, अस्पतालको ओपीडी, क्यान्टिन, प्रशासनिक भवनको निर्माण गर्नेछ ।

दोस्रो चरणमा महिला छात्रावास, परुष छात्रावास, शिक्षक क्वार्टर, नर्स क्वार्टर, बिरामी आगन्तुक प्रतिक्षा कक्ष, तेस्रो चरणमा छात्रावास, केटाको छात्रावास, सज्जन शिक्षक, महिला शिक्षिका र हर्बेरियम भवन, चौथो चरणमा हर्बेरियमको विकास, अनुसन्धान भवन र फार्मेसीको स्थापन र पाँचौ चरणमा अनुसन्धान र फार्मेसी सुरु गरिनेछ ।


क्लिकमान्डु