वैशाखयता १ खर्ब निक्षेप संकलन, कर्जा प्रवाह शून्य, अन्तरबैंक ब्याजदर ७ बाट २.६५ प्रतिशतमा झर्‍यो



काठमाडौं । वैशाखयताका नौ सातामा बैंक तथा वित्तीय संस्थामा १ खर्ब निक्षेप संकलन भएको छ । वैशाख २ सम्ममा बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ५४ खर्ब ७३ अर्ब रहेकोमा असार ८ गते ५५ खर्ब ७१ अर्ब पुगेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार ७ गते कुल निक्षेप ५५ खर्ब ७६ अर्ब थियो । समीक्षा अवधिमा कर्जा प्रवाह ५ अर्बले बढेर ४८ खर्ब ५० अर्बबाट ४८ खर्ब ५५ अर्ब रुपैयाँ भएको छ ।

नौ साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४८ खर्ब २२ अर्बबाट बढेर ४९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । असार ७ गते निक्षेप ४९ खर्ब २१ अर्ब पुगेको थियो । त्यस्तै वाणिज्य बैंकहरुको कर्जा प्रवाह समीक्षा अवधिमा ४३ खर्ब १ अर्बबाट १ अर्बले घटेर ४३ खर्बमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थामा ब्याजदर उच्च भएपछि कर्जा प्रवाह सुस्ताएको हो । कतिपय संस्था कर्जा-निक्षेप अनुपात (सीडी रेसियो)को सीमानजिक पुगेपछि ऋण दिनै नसक्ने अवस्थामा थिए । अर्थतन्त्रमा मन्दीका कारण बजारमा वस्तु तथा सेवाको माग घटेकाले पनि कर्जाको माग भएन ।

समीक्षा अवधिमा कर्जा-निक्षेप अनुपात पनि ८५.२ प्रतिशतबाट ८३.९७ प्रतिशतमा झरेको छ । अहिले वित्तीय प्रणालीमा ३ खर्ब ३५ अर्बभन्दा बढी अधिक तरलता (लगानीयोग्य रकम) छ । तरलतायोग्य रकम बढ्दै जाँदा अन्तर बैंक ब्याजदर पनि वैशाख २ गतेको ७ प्रतिशतबाट झरेर असार ८ गते २.६५ प्रतिशतमा आइपुगेको छ ।

लगानीयोग्य रकम पर्याप्त भएपछि आन्तरिक ऋणको ब्याज पनि घटेको छ । तरलता सहज भएसँगै सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ट्रेजरी बिल, नागरिक बचतपत्र, विकास ऋण पत्रलगायतका सबै उपकरणको ब्याजदर घटेको हो । गत वर्ष १३.९९ प्रतिशत ब्याज दिएर आन्तरिक ऋण लिएको सरकारले गएको मंगलबार ३.५७ प्रतिशत ब्याजदरमा २८ दिनको ट्रेजरी बिल बिक्री गर्दै ऋण उठाएको छ ।

त्यस्तै चालू आर्थिक वर्षको पुस ६ गते १०.९३ प्रतिशत ब्याज दिएर विकास ऋणपत्र बिक्री गर्दै ५ अर्ब रुपैयाँ लिएको सरकारले मंगलबार ६.९३ प्रतिशत ब्याजदरमा विकास ऋणपत्र बिक्री गर्दै १० अर्ब रुपैयाँ ऋण उठाएको छ । मंगलबार सरकारले विकास ऋणपत्रमा तिरेको ब्याजदर १६ महिनायताकै न्यून हो । यसअघि २०७८ फागुन ९ गते विकास ऋणपत्रको ब्याजदर ६.९३ प्रतिशत थियो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्षको अन्तिम महिनामा चालू पुँजी प्रकृतिको कर्जा लिन रोक लगाएका तत्कालै कर्जा लगानी नबढ्ने बैंकरहरु बताउँछन् ।

अधिक तरलता भएपछि बैंक वित्तीय संस्थाले असारदेखि कर्जाको ब्याजदर घटाएका छन् । आधार दर घटेसँगै वाणिज्य बैंकले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका हुन् । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । असारमा ०.२ विन्दुले घटेर १२.४५ प्रतिशतमा झरेको हो ।

वैशाख र जेठमा निक्षेपको ब्याजदर घटेकाले असारमा बैंकको आधारदर ०.२४ प्रतिशत बिन्दुले घटेको र कर्जाको ब्याजदर सोही अनुपातमा घटेको हो । चैतमा १०.४८ प्रतिशत रहेको बैंक वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको छ । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ ।

तथापि, सरकारले आगामी वर्ष मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएकाले थप ब्याजदर घटाउने स्पेस भए-नभएको विषयमा अध्ययन गर्नुपर्ने नेपाल बैंकर्स संघले जनाएको छ । सिद्धान्तत: महँगी घटाउन ब्याजदर बढाउनुपर्छ । तर, अहिले ७.९ प्रतिशत रहेको महँगी ६.५ प्रतिशतमा ल्याउनुपर्ने लक्ष्य राखेकाअर्थमन्त्री डा. प्रकाशशरण महत ब्याजदर घट्नुपर्ने पक्षमा छन् । महँगी नियन्त्रणमा राख्ने दबाब बढ्यो भने ब्याजदर धेरै नघट्न सक्छ ।

स्थानीय तहको पैसा अल्पकालका लागि निकालिने भएकाले असार अन्तिममा बैंक तथा वित्तीय संस्थामा निक्षेप केही कम हुने बैंकर बताउँछन् । असार अन्तिममा केही समय निक्षेप निकालिए पनि तत्कालै प्रणालीमा फर्किहाल्ने भएकाले तरलता दबाब खासै नपर्ने माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए ।

अहिले बैंकहरु कर्जा प्रवाहभन्दा पनि असुलीमा केन्द्रित भएकाले नयाँ-नयाँ स्किम नल्याएको उनको भनाइ छ । उनले तरलता सहज भएका कारण ब्याजदर केही घटेपछि कर्जा जान थाल्ने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु