बालेनको नीति तथा कार्यक्रम: धुलोरहित काठमाडौं योजना सञ्चालनमा ल्याइने (पूर्णपाठ)



काठमाडौं । काठमाडौं महानगरपालिकाले धुलो रहित काठमाडौं गौरवको योजना तर्जुमा गरि सञ्चालनमा ल्याउने भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन्द्र शाहले महानगरपालिकाका सम्पूर्ण सडकहरुलाई आगामी तीन वर्षभित्र गुणस्तरीय पक्की सडकमा रुपान्तरण गर्न र सडपेटीको स्तरोन्ततिका लागि धुलो रहित काठमाडौं गौरवको योजना तर्जुमा गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।

त्यस्तै महानगरभित्रका सार्वजनिक जग्गाहरु अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाइ खुला क्षेत्रको रुपमा विकास गरिने उनले उल्लेख गरे ।

महानगरमा पार्किङका लागि बनाइने भवनको नक्सा पासमा ९० प्रतिशत छुट

काठमाडौं महानगरमा सवारी साधन पार्किङ प्रयोजनको भवन निर्माण स्वीकृतिका लागि गरिने नक्सा पासमा लाग्ने दस्तुरमा छुट दिने भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।

‘काठमाडौं महानगरपालिकाले निजी क्षेत्र संघसंस्था तथा व्यक्ति विशेषले सवारी साधन पार्किङ प्रयोजनको मात्र भवन निर्माण स्वीकृतिका लागि नक्सा पेस गरेमा निर्माण हुने भवनको नक्सापास वातपको लाग्ने कुल दस्तुरमा ९० प्रतिशत छुट दिइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यस्तै सबैका लागि पार्किङ सुविधा कार्यक्रम सञ्चालनका लागि मोबाइल एप्लिकेशन तयार गरी प्रयोगमा ल्याइने बालेनले जनाए।

तोकिएको ‘फार’विपरित भएका भवनमा सम्पत्ति कर बढ्ने

काठमाडौं महानगरपालिकाले फ्लोर एरिया रेसियो ‘फार’को मापदण्ड उल्लंघन हुने गरि निर्माण भएर अभिलेखिकरण भएका र हुन बाँकी संरचनाको हकमा कर बढाउने भएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले प्रस्तुत गरेको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो । भवन निर्माण सम्बन्धि मापदण्डको परिपालनामा जोड दिनका लागि मापदण्डको उल्लंघन हुने गरि फ्लोर एरिया रेसियोको सुविधाभन्दा बढि निर्माण भई अभिलेखिकरण भइसकेका र हुन बाँकी भवन संरचनाहरुको सम्पत्ति कर बढाइने गरि आर्थिक ऐनमा व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

काठमाडौं उपत्यकामा फ्लोर एरिया रेसियो ‘भुई क्षेत्रको अनुपात’ को हालको मापदण्डअनुसार काठमाडौं उपत्यकामा व्यापारिक तथा सभासम्मेलन भवनमा ३.५ मिटर, आवासिय भवनमा ४.० मिटर, मिश्रित आवासिय भवनका लागि ४.५ मिटर र संस्थागत भवनका लागि २.५ मिटर भुई क्षेत्रको अनुपात हुनुपर्ने व्यवस्था छ ।

साउन १ गतेदेखि काठमाडौंमा प्लाष्टिक प्रयोग निषेध, प्लाष्टिकका फूल बिक्री गर्न नपाइने

काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने भएको छ ।

महानगरको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले २०८० श्रावण १ गतेबाट एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने बताएका हुन ।

नीति तथा कार्यक्रममा एकल प्लाष्टिकलाई निषेध गर्ने सँगै प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगरभित्र प्रतिबन्ध लगाउने पनि उल्लेख गरिएको छ ।

त्यस्तै, महानगरले आगामी आवमा सार्वजनिक स्थानहरुमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्णरुपमा रोक लगाउने पनि उल्लेख गरेको छ ।

काठमाडौं महानगरका समस्या समाधानका लागि ‘गौरवका योजना’

काठमाडौं महानगरपालिकामा रहेका प्रमुख समस्याहरु समाधानका लागि महानगरले ‘गौरवका योजना’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने गरि १० वटा महानगर ‘गौरव योजना’हरु सञ्चालन गर्ने बताएका हुन् । 

यी योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यावसायिक र व्यवस्थित सहरको निर्र्माण गर्दै काठमाडौं महानगरपालिकालाई पर्यटनमैत्री सांस्कृतिक सहर, समृद्ध महानगरको रुपमा स्थापित गरिने पनि बालेनले बताए ।

त्यस्तै, महानगरवासीहरुको दैनन्दिनसँग जोडिएका समस्या समाधान गर्न तथा महानगरपालिकाबाट प्रभावकारी सेवा प्रवाह गर्न र सहरी शासनका सवालहरुमा दिगो व्यवस्थापनका लागि आवश्यक योजनाहरुलाई महानगर स्वर्णिम योजनाका रुपमा स्वचालित संयन्त्र बनाई सञ्चालन गर्ने नीति पनि महानगरले लिएको छ ।

साथै, स्थानीय आवश्यकताका आधारमा तत्काल सम्पन्न गर्नुपर्ने हरेक वडाबाट प्राप्त भएका योजनाहरुलाई प्राथमिकता प्राप्त योजनाका रुपमा कार्यानवयन गरिने पनि महानगरका मेयर बालेनले बताएका छन् ।


क्लिकमान्डु