सवारीसाधनको आयातमा गिरावट आउँदा सरकारले पाउने राजस्व ५४ अर्बले घट्यो



काठमाडौं । निजी कार, मोटसाइकल, ट्रक, जिप लगायतका सामानको आयात उच्च दरले घट्दा राजस्व संकलन प्रभावित भएको छ ।

भन्सार विभागका अनुसार निजी कार, अनएसेम्बल र एसेम्बल मोटसाइकल, ट्रक, सिंगल र डबल क्याब पिक अफ भ्यान लगायतका समानमा मात्रै गत वर्ष भन्दा ५४ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ ।

बीरगञ्ज स्थीत सुख्खा बन्दरगाहा कार्यालयका अनुसार भन्सार कार्यालयको ¥यार्डमा ४ हजारभन्दा बढी गाडी थन्किएका छन् ।

राजस्वमा सबै भन्दा धेरै योगदान दिने निजी सवारी साधानको आयातमा आएको गिरावटले राजस्व लक्ष्य प्रभावित भएको छ ।

भन्सार विभागले जेठ मसान्तसम्म ६ खर्ब ९ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३ खर्ब ५६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले गत वर्ष ११ महिनामा ४ खर्ब ६२ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत वर्ष जेठ मसान्तसम्ममा १७ अर्ब ६३ अर्ब रुपैयाँको आयात भएकोमा चालू आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ८० अर्ब रुपैयाँको आयात भएको छ । ११ महिनाको अवधीमा १६ प्रतिशतले आयातमा गिरावट हुँदा राजस्व संकलन २३ प्रतिशतले घटेको छ ।

जेठ मसान्तसम्म संकलन भएको राजस्व हेर्दा चालू आर्थिक वर्षको अन्त्यसम्ममा विभागले ४ खर्ब पनि राजस्व संकलन गर्ने सम्भावना छैन । गत वर्ष १२ महिनामा विभागले ५ खर्ब ६ अर्ब रुपैयाँ संकलन गरेको थियो ।

विभागले जेठ महिनामा मात्रै लक्ष्यको ६२ प्रतिशत राजस्व संकलन गरेको छ । जेठमा मात्रै ६० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ३७ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।

भन्सार महसुल बढी भएका सामानको आयातमा गिरावट हुँदा राजस्व प्रभावित भएको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

‘चोरी तस्करीले पनि राजस्व प्रभावित भएको हुन सक्छ,’विभागका एक उपमहानिर्देशकले भने,‘ तर, बढी भन्सार महसुल लाग्ने सामानको आयातमा आएको गिरावटले ठूलो राजस्व प्रभावित भएको छ ।’

भन्सार विभागका अनुसार जेठ मसान्तसम्म निजी कारमा गत वर्ष भन्दा ३० अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा विद्युतीय कारको आयात उच्च दरले बढ्दा राजस्वमा निजी कारको योगदान घटेको हो । सरकारले विद्युतीय गाडीलाई प्रवद्र्धन गर्न पेट्रोलियमको तुलनामा अत्यन्तै कम भन्सार महशुल र अन्तशुल्क लगाउँदै आएको छ ।

विभागका अनुसार मोटरसाइकलमा गत वर्ष भन्दा ११ अर्ब रुपैयाँ कम, डिजलमा ९ अर्ब ४१ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ ।

नेपालमा एम बिलेट बनाउने कम्पनी स्थापना भएपछि विलेटमा गत वर्ष भन्दा ५ अर्ब रुपैयाँ कम राजस्व उठेको छ ।

अनएसेम्बल मोटरसाइकलको आयात घट्दा गत वर्ष भन्दा ४ अर्ब रुपैयाँ कम राजस्व उठेको छ । यस्तै, ट्रकको आयातमा आएको गिरावटले गत वर्ष भन्दा ३ अर्ब कम राजस्व उठेको छ ।

सिंगल क्याब पिक अप भ्यानको आयात घट्दा गत वर्ष भन्दा २ अर्ब ५४ करोड रुपैयाँ कम राजस्व उठेको छ भने डबल क्याब पिक अप भ्यानको आयातमा भएको गिरावटले २ अर्ब ५९ करोड कम राजस्व उठेको छ ।

विभागमा अनुसार लत्ताकपडाको आयात घट्दा गत वर्ष भन्दा २ अर्ब रुपैयाँ कम राजस्व उठेको छ ।

विभागका अधिकारीहरु चोरी तस्कारीबाट लत्ताकपडा भित्रिदा राजस्व संकलन प्रभावित भएको बताउँछन् ।


क्लिकमान्डु