नेपालमै गुगल पे र अमेजोन पे जस्तै साउन्डमार्फत भुक्तानी दिने ‘एन-क्यास’



काठमाडौं । अध्ययनका लागि रोहन अडुकिया लन्डन गएको दुई वर्ष भयो । लन्डनमा रहँदा उनले फिनटेक क्षेत्रलाई नजिकबाट नियालिरहे ।

‘लन्डनमा भनेको फिनटेकमा रेगुलेसन एकदम कम छ । उनीहरुले बनाउने प्रविधि एकदमै फरक किसिमको छ । हङकङमा हेर्ने हो भने डेबिट कार्ड किन्न नै मिल्छ,’ उनी भन्छन्, ‘यूकेमा गएर पसलमा गएर मेरो एकाउन्टमा पैसा हाल्न भन्यो भने सहजै हालिदिन्छ तर नेपालमा यस्तो छैन ।’

नेपालमा डिजिटल वालेटहरुको विकास निरन्तर भइरहेको छ । तर, यसो हुँदाहुँदै पनि सुविधामा धेरै सीमितता छन् । रोहनलाई यही कुराले मनमा पटक-पटक प्रश्न उब्जायो । उनी सोच्थे, ‘ईसेवामा हाल्न ईसेवा चाहिने, खल्तीमा हाल्न खल्ती चाहिने । खल्तीबाट ईसेवामा पैसा हाल्न किन नमिल्ने ?’

यिनै समस्यालाई समाधान गर्ने सोचले उनले एउटा यस्तो डिजिटल वालेट बनाउने सोच बनाए, जसमा सकेसम्म धेरै विशेषता रहुन् । तर, विशेषताहरु दिने भन्दै त्यसमा कठिन र जटिल नभएर प्रयोगकर्ताका लागि सहज बढी होस् भन्नेमा उनले ध्यान दिए । यी समस्या समाधान गर्न रोहन र उनकी दिदी राधिकासहितको टिमले तयार गर्‍यो ‘एन-क्यास’ ।

‘एन-क्यास भनेको हामीले बनाउन खोजिरहेको नयाँ किसिमको डिजिटल वालेट हो,’ रोहन भन्छन्, ‘अहिले बजारमा ईसेवा, खल्ती, आईएमई पेजस्ता २८ वटा वालेट छन् । हामीले एन-क्यासको सुरुवात हामी कसरी फरक हुन सक्छौं भन्ने सोचसहित गरेका छौं ।’

डिजिटल वालेटको क्षेत्रमा फरक देखिने दुई तरिका छन् भन्ने रोहनलाई लाग्छ । एउटा प्रविधिको सहायताले, अर्को ब्रान्डको पहिचानले । उनी भन्छन्, ‘उदाहरणका लागि एप्पल भन्नासाथ एउटा पर्सनालिटी दिमागमा आउँछ । सामसङको पर्सनालिटी छ । ब्रान्डलाई मान्छेको जस्तै व्यक्तित्व दिन सकिन्छ । नेपालमा भएका डिजिटल वालेटहरुको त्यस्तो व्यक्तित्व छैन । हामीले बनाउन खोजेको वालेट भनेको यस्तै व्यक्तित्वसहितको वालेट हो । एन-क्यास भन्नासाथ मान्छेलाई दिमागमा एउटा पर्सनालिटी आउने बनाउन खोजका छौं ।’

थोरै काउन्टर कल्चर भनेजस्तै वालेट भन्नासाथ आर्थिक कारोबार मात्रै नभएर मान्छेलाई प्रयोग गर्दा पनि रमाइलो हुने र सहयोग हुने किसिमको वालेट बनाउने सोचले एन-क्यास सुरु भएको उनी बताउँछन् ।

गत जेनवरी, फ्रेबुअरीबाट ‘एन-क्यास’ वालेट निर्माणको काम सुरु भएको थियो । विगतमा ‘सुलभ पे’ नामक डिजिटल वालेट निर्माण गरेको कम्पनीमा ५० प्रतिशत लगानीमा उनीहरुले यसको सुरुवात गरेका थिए । हाल सुलभ पे बन्द भएको छ । कम्पनीले आफ्नो नयाँ वालेटको रुपमा एन-क्यास ल्याएको बताउँछन् रोहन । उनी भन्छन्, ‘अहिले प्रशिक्षणका लागि प्ले स्टोरमा राखेका छौं । अहिले हामीले राम्रो प्रतिक्रिया पाइरहेका छौं, यिनै प्रतिक्रियालाई लिएर धेरै कुरा सुधार गर्नेछौं ।’

रोहनका अनुसार अहिले एन-क्यासमा २ लाखभन्दा धेरै प्रयोगकर्ता जोडिएका छन् । ब्राउजरबाट धेरै प्रयोगकर्ता थपिएको र दैनिक २ सय जनासम्म थपिँदै गएको उनले दाबी गरे । गुगल प्ले स्टोरमा राखिएको एन-क्यासको एप भने १० हजारभन्दा धेरै डाउनलोड भएको छ ।

एन-क्यासको मुख्य विशेषता भनेको साउन्डको प्रयोगबाट अफलाइन रुपमा नै प्रयोगकर्तालाई भुक्तानी सुविधा दिनु हो । भारतको बैंग्लोरको एक कम्पनीसँगको सहकार्यमा एन-क्यासले यो प्रविधिलाई नेपालमा ल्याएको बताउँछन् रोहन ।

‘एन-क्यासमा नयाँ प्रविधि छ, जसको सहायताले साउन्डबाट नै पैसा तिर्न सकिन्छ । यो अफलाइन हुन्छ,’ उनी भन्छन्, ‘अहिले कतै गएर पैसा क्यूआरबाट तिर्न खोज्ने हो भने डेटा चाहिन्छ । कतिपय ठाउँमा नेटवर्क पनि हुँदैन । हामीले यो समस्या समाधान गर्न खोजेका छौं । बैंग्लोरको एक कम्पनीसँग सहकार्य गरेर हामीले ध्वनिको सहायताले पैसा अफलाइन तिर्न सक्ने प्रविधि ल्याएका छौं । यो प्रविधिको सहायताले पैसा तिर्दा फोनलाई ‘ट्याप’ मात्र गरे पुग्छ । मोबाइलमा हुने स्पिकर र माइक्रोफोनको सहायताले सहजै अफलाइनबाट पैसा तिर्न सकिन्छ ।’

रोहनका अनुसार यसरी अफलाइनमा पेमेन्ट गर्न स्मार्टफोन नै चाहिन्छ भन्ने पनि हुँदैन । पहिलेको बटन वाला फिचर फोन भएमा पनि पेमेन्ट हुन्छ । भन्छन्, ‘किनकि त्यसमा पनि माइक्रोफोन र स्पिकर हुन्छ ।’

साउन्डको माध्यमबाट हुने पेमेन्टका लागि कम्पनीले मर्चेन्ट तथा पसलहरुमा एउटा पड राखिदिनेछ । त्यसैमा मोबाइललाई ट्याप गरेर पेमेन्ट गर्न सकिने रोहन बताउँछन् । भन्छन्, ‘यसका लागि हामीसँग एउटा पड हुन्छ । मर्चेन्टकहाँ पड राखिएको हुन्छ । पडमै सिम राखिएको हुन्छ । मोबाइल ट्याप गर्नासाथ पैसा तिर्न सकिन्छ ।’

डिजिटल पेमेन्टलाई सबैमाझ पुर्‍याउन खोज्ने पहिलो कम्पनी नै आफ्नो भएको रोहनको दाबी छ । यसबाहेक विभिन्न पीएसओमा पनि सहजै भुक्तानी हुने गरी सहकार्य भएको उनले बताए । एनसीएचएल र एससीटीसँग सहकार्य गरेर आफ्ना मर्चेन्ट र पडलाई विस्तार गरिरहेको उनी बताउँछन् । ‘हाम्रो लक्ष्य भनेको यो प्रविधिलाई सबैतिर फैलाउने हो,’ उनले बताए ।

अहिले एन-क्यासले आफ्ना मर्चेन्टहरु अक्वायर गरिरहेको उनले जानकारी गराए । ‘२० जनाको समूह छ । यो समूहले मर्चेन्टहरुलाई एन-क्यासको बारेमा बुझाएर अघि बढिरहेको छ,’ उनी भन्छन् ।

यसका साथै एन-क्यासले लगानीको फिचरहरु पनि बनाइरहेको उनी बताउँछन् । विभिन्न लक्ष्य राखेर लगानी गर्ने फिचर बनाइरहेको र कालान्तरमा यस्ता विशेषता जोडिने उनले बताए । उनले भने, ‘हामीले वालेटमा भएको पैसालाई पनि लोनमा दिने विशेषता विस्तार गरिरहेका छौं । कसैको एन-क्यास वालेटमा पैसा छ र अर्को कसैलाई पैसा चाहिएको छ भने त्यो कारोबार हुने फिचर ल्याउन खोजिरहेका छौं । सापटी दिनेले ब्याज पाउनुहुन्छ ।’

वालेटमा यसै रहने पैसा चाहिएको व्यक्तिलाई सापटी दिने विशेषतामा काम गरिरहेको उनको जिकिर छ । रोहन भन्छन्, ‘यसका लागि आफूले पैसा सापटी दिने मान्छेको क्रेडिट स्कोरदेखि उसको विगतका कारोबारको डेटा कलेक्ट गरिरहेका छौं । हाम्रो देशमा सबै बैंक तथा वालेटको एउटै सेन्ट्रल डेटा नभएका कारण अलिक गाह्रो भने भइरहेको छ ।’

त्यस्तै, रिवार्ड करेन्सीको रुपमा पनि हामीले विशेषता दिने सोचिरहेको उनी बताउँछन् । भन्छन्, ‘उदाहरणका लागि कसैले भाटभटेनीमा एन-क्यासबाट पैसा खर्च गर्‍यो भने त्यसबापत रिवार्ड प्वाइन्ट पाउँछ । यसलाई फ्लाइटदेखि अरु ठाउँमा पनि खर्च गर्न पाइने किसिमले विस्तार गर्ने लैजाने गरी काम गरिरहेका छौं । मान्छेले खर्च गरेका आधारमा रिवार्ड प्वाइन्ट दिन्छौं र त्यो प्वाइन्टलाई पनि खर्च जतासुकै गर्न सकिने गरी विस्तार गरिरहेका छौं । यो रिवार्ड प्वाइन्ट जोसुकैले सहजै खर्च गर्न पाउने गरी विस्तार गरिरहेका छौं ।’

कम्पनीले आफूलाई व्यक्तित्वको रुपमा विकास गर्दै लैजानका लागि विज्ञापनमा पनि मौलिक विज्ञापन गरिरहेको उनी बताउँछन् । भन्छन्, ‘अरु वालेटहरु मान्छे इन्गेज हुन नसक्ने किसिमका छन् । डिजिटल बिलबोर्ड जस्ता छन् । हामीले एक क्यासको सामाजिक सञ्जालमा पनि आफूलाई मौलिक रुपमा प्रचार गरिरहेका छौं । पैसा कसरी बचाउने, कसरी कमाउनेजस्ता विषयलाई लिएर प्रचार गरिरहेका छौं ।’


क्लिकमान्डु