क्यान्सरको औषधी आयातकर्ता कम्पनीमा विभागको छापा, बिलबिजक नियन्त्रणमा



औषधी व्यवस्था विभागले उच्च मुनाफा राख्दै क्यान्सर रोगको औषधी बिक्री गरेको आरोपमा फर्माकेम प्रालीमा छापा आन्दै विभिन्न बिलबिजक नियन्त्रणमा लिएको छ ।

प्रतीकात्मक तस्बिर

काठमाडौं । औषधी व्यवस्था विभागले रक्त क्यान्सरको उपचारमा प्रयोग हुने रिटक्सइरेल खोप आयातकर्ता कम्पनी फर्माकेम प्रालिको कार्यालयमा छापा हानेको छ ।

विभागको काठमाडौंस्थित कार्यालयबाट खटिएको टोलीले फर्माकेम प्रालीको काठमाडौंस्थित कार्यालयमा र विभागको वीरगन्जस्थित क्षेत्रीय कार्यालयले वीरगन्जमा रहेको फर्माकेम केन्द्रीय कार्यालयमा एकैसाथ छापा हानेको हो ।

विभागको टोलीले २०७८ साल माघदेखि फर्माकेम प्रालिले बिक्री गरेको रिटक्सइरेल खोपको बिलबिजक नियन्त्रणमा लिएको छ ।

बिहीबार क्लिकमान्डुले १६ हजारमा आयात भएको क्यान्सरको औषधी ६१ हजार ६६६ मा बेच्न सरकारको अनुमति ! शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

औषधी व्यवस्था विभागले रक्तसहित कयौं क्यान्सरको उपचारमा प्रयोग हुने रिटक्सइरेल खोप २७२ प्रतिशतसम्म नाफा राख्दै बिक्री गर्न अनुमति दिएको छ ।

क्यान्सर रोगको उपचारमा प्रयोग हुने रिटक्सइरेल औषधी उच्च नाफा राखेर बिक्री गर्न अनुमति दिएको विभागले शुक्रबार फर्माकेमको कार्यालयबाट बिल भौचर नियन्त्रणमा लिएको हो । 

भारतबाट १६ हजार ५६० रुपैयाँ (१० हजार ३५० भारतीय रुपैयाँ) मा आयात भएको औषधीको अधिक्तम खुद्रा मुल्य ६१ हजार ६६६ रुपैयाँ तोकिएको छ । हाल नेपालमा ४ वटा कम्पनीले रिटक्सइरेल खोप आयात गर्ने गरेका छन् ।

रियायन्स कम्पनीले उत्पादन गर्ने रिटक्सइरेल खोप फर्माकेम प्रालिले आयात गर्ने गर्छ । यस्तै, डाक्टर रेडिज कम्पनीको खोप यति केम प्राली, हेट्रो कम्पनीको खोप भिभोइस र इन्टास कम्पनीको खोप ताज कम्पनीले आयात गर्ने गरेको छ ।

विभागका एक अधिकारीका अनुसार सबै कम्पनीले आयात गर्ने खोपको अधिक्तम बिक्री मूल्य ६१ हजार ६६६ रुपैयाँ तोकिएको छ ।

२५ हजार भन्दा महँगोमा औषधी बेचका छैनौं: फर्माकेम

फर्माकेम प्रालिका लेखापाल रत्नाकर पाण्डेले विभागले तोकेको अधिक्तम मूल्यमा आफूहरुले औषधी बिक्री नगरेको दाबी गरेका छन् ।

समाचारमा उल्लेख भएअनुसार औषधी व्यवस्था विभागले ६१ हजार ६६६ मा रिटक्सइरेल खोप बिक्री गर्न अनुमति दिए पनि फर्माकेमले १० देखि २० प्रतिशतभन्दा बढी नाफा नलिएको पाण्डेको दाबी छ ।

‘औषधी व्यवस्था विभागले हाम्रो कार्यालयबाट बिल भौचर नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘हामीले कानुनविपरीत काम गरेका छैनौं । त्यसैले कुनै डर छैन ।’

भारतमा औषधी उत्पादक कम्पनीले अधिक्तम बिक्री मूल्य ३८ हजार भारतीय रुपैयाँ तोकेकाले विभागले अधिक्तम बिक्री मूल्य ६१ हजार तोकेको पाण्डेको दाबी छ ।


शरद ओझा