इन्टरनेटमा ग्राहक आकर्षित हुँदा डिस मिडियाको आम्दानी घट्यो, करिब ५ अर्बको व्यापार



काठमाडौं । पछिल्लो समय इन्टरनेटमा ग्राहकहरु आकर्षित हुन थालेपछि डाइरेक्ट टु होम अर्थात् डिसहोमको सेवा दिँदै आएको डिस मिडिया नेटवर्कको आम्दानी घटेको छ । कम्पनीको आम्दानी पछिल्लो तीन वर्षमा निरन्तर घटेको पाइएको हो ।

नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको उच्च प्रतिस्पर्धा छ । देशभर इन्टरनेटको प्रयोगकर्ता बढेसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको उच्च प्रतिस्पर्धा छ ।

प्रतिस्पर्धी बजारमा सेवा प्रदायक कम्पनीहरुले ग्राहकलाई विभिन्न अफरसहित आकर्षित गरिरहेका छन् । साथै, नयाँ–नयाँ सेवा प्रदायक कम्पनीहरु सञ्चालन आइरहेका छन् ।

बजारमा ग्राहक तान्ने उच्च प्रतिस्पर्धा हुँदा डिस मिडिया नेटवर्क लिमिटेडले आफ्ना ग्राहक गुमाउँदै गएको छ । पछिल्लो समय इन्टरनेटको उच्च प्रयोगकर्ता बढेसँगै कम्पनीले सेवा दिँदै आएको डाइरेक्ट टु होमको ग्राहक भने घट्दै गएको छ । डिजिटल प्लेटफर्ममा ग्राहकहरु आकर्षण बढ्दै जाँदा डाइरेक्ट टु होम (डीटीएच) सेवा घटेकाले कम्पनीको आम्दानीमा असर परेको कम्पनीको भनाइ छ ।

कम्पनीले डाइरेक्ट टु होममा नयाँ सेवाग्राहीलाई आकर्षण गर्न नसक्दा आम्दानी उच्च असर परेको छ । कम्पनीले सन् २०२० मा ५ अर्ब १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेकोमा सन् २०२१ मा ४ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२२ मा झनै आम्दानी घटेको छ । कम्पनीले ४ अर्ब ८३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन १.६६ प्रतिशतले कमी हो ।

डाइरेक्ट टु होम सर्भिस प्रोभाइडरको रुपमा सन् २०१० मा स्थापना भएको थियो । स्याटालाइट च्यानल प्रालि र डिस मिडिया नेटवर्क प्रालि मर्जर भएर सन् २०१७ मा पब्लिक कम्पनीमा परिणत गरेको थियो ।

देशभर ७५ वटा डिलर, ४५ सयभन्दा बढी सबडिलर, १४ वटा सर्भिस सेन्टर, १५ सय फ्रेन्चाइज र १० हजार पोइन्ट अफ सेल्स, २२ वटा लोकल केबल अपरेटर र ५० लोकल केबल अपरेटर–फ्रेन्चाइज छन् ।

विदेशी कम्पनी स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडको ३३ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ९८ करोड ४५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनील दीर्घकालीन कर्जाका लागि १ अर्ब ४३ करोड ४५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ५५ करोड रुपैयाँको रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङले कम्पनीलाई प्लेसड अन क्रेडिट वाच विथ नेगेटिभ इम्लिकेशनमा मूल्याङ्कन गरेको छ ।

कम्पनीले सन् २०२० देखि डिसहोम फाइबरनेट ब्रान्डमा इन्टरनेट सर्भिस दिँदै आएको छ । प्रभु डिजिटल लिमिटेड र र सीभटीभी अधिग्रहण गरी सेवा दिँदै आएको कम्पनीले डिजिटल टीभी र आइपीटिभीको सेवा दिई आम्दानी गर्दै आएको छ ।

सन् २०२० बाट इन्टरनेट सेवा प्रदान दिन सुरु गरेको कम्पनीको प्रयोगकर्ता बढ्दै जाँदा सन् २०२२ मा उक्त क्षेत्रबाट ७७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा ८ करोड रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ मा नाफा पनि घटेको छ । कम्पनीअनुसार विगतको दिनमा ४० प्रतिशत नाफा कमाउँदै आएकोमा पछिल्लो तीन वर्षमा १७ प्रतिशतको दरले नाफा कमाउँदै आएको जनाएको छ ।

डीटीएचको सेवाग्राही घट्दै गएको र ब्यान्डविथको सेवामा उच्च खर्चले गर्दा कम नाफा भएको कम्पनीको भनाइ छ ।

कम्पनीको डीटीएच सेवा लिने ग्राहकको संख्या घट्दा सन् २०२२ मा २९ प्रतिशतले नाफा घटेको उल्लेख छ । डीटीएचको ग्राहक १५ प्रतिशतले घट्दा कम्पनीले सन् २०२२ मा ३ अर्ब ६९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा डीटीएच सेवाबाट ४ अर्ब ३२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले अहिले इन्टरनेट, आइपीटीभी र डिजिटल टीभीको सेवा दिँदै आएको छ । सन् २०२३ को जनवरीसम्म कम्पनीको देशभर ९ लाख १० हजार ग्राहक छन् ।

कम्पनीले अहिले २०७ वटा च्यानल सञ्चालन गर्दै आएको छ । जसमा ६० वटा एचडी र १४७ एसडी च्यानल सञ्चालनमा छन् । साथै, कम्पनीले १५ वटा च्यानलमार्फत् आफ्नै टेलिकास्टिङ सुविधा दिँदै आएको छ । जुन अन्य कम्पनीहरुसँग छैन ।

त्यसैगरी, कम्पनीले ओभर द टप (ओटीटी) सेवा ‘डिसहोम गो’ एप सञ्चालनमा ल्याएको छ । उक्त एपमा १०० प्रिमियम लिटर च्यानलमा एक हजार भिडियो च्यानलको सेवा उपलब्ध छन् ।

देवीप्रकाश भट्टचन अध्यक्ष रहेको कम्पनीले फाइबर नेटवर्क विस्तार गर्न ब्यान्डविथ बढाउने कार्यलाई तीब्रता दिएको छ । कम्पनीअनुसार डेन्स वेभ लेन्थ–डिभिजन मल्टीफ्लेक्सिङ निर्माण कार्यलाई जोड दिएको हो ।

जसमा कम्पनीले काठमाडौं, हेटौंडा, ढल्केबर, विराटनगर, बुटवललगायत अन्य क्षेत्रमा ब्यान्डविथ बढाउने कार्यलाई तीब्रता दिएको जनाएको छ ।

त्यस्तै, सन् २०२३ को ६ महिनाको अवधिमा ग्राहक बढेको उल्लेख छ । सन् २०२१ को ६ महिनाको अवधिमा कम्पनीले १ लाख ३० हजार नयाँ ग्राहकलाई सेवा दिएको थियो भने सन् २०२३ को सोही अवधिमा २ लाखलाई नयाँ ग्राहकलाई सेवा दिएको छ ।
कम्पनीले नेपालको इन्टरनेट सेवामा ८.२१ प्रतिशत हिस्सा ओगटेको छ ।


क्लिकमान्डु