केही व्यापारीको अनुहार हेरेर ऐन बन्दा समस्या



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले केही व्यापारीको अनुहार हेरेर ऐन बन्दा समस्या भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्ष नारायण प्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुरको विमर्श कार्यक्रमममा बिहीबार अध्यक्ष हमालले यसरी केही व्यापारीको अनुहार हेरेर ऐन बनेकाले अब प्रतिस्पर्धामा जान आवश्यक रहेको बताए ।

नेपालको सेयर बजार सानो र फोहोर रहेको भन्दै उनले बजारलाई पारदर्शी बनाउन प्रयत्न जारी रहेको बताए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफू पनि नेपालमा बिरक्त लागेर २० वर्ष विदेश बसेर पुन: नेपाल आएको बताए ।

विश्व बजारमा पत्रकारले लगानी गर्यो भने त्यो क्षेत्रमा समाचार नलेख्ने गरेको उनले बताए । आफूले एआईटीमा मास्टर गर्दा सेयर बजारको बारेमा धेरै बुझेको हमालले बताए ।

हमालले क्षमता हुनेले व्यवसाय गर्न पाउनु पर्ने उल्लेख गरे । पहिलो पटक बजारमा फुल डिलर ल्याउन लागेको बताउँदै हमालले लाइसेन्स दिँदा कसैसँग पनि चियासमेत नखाएको दाबी गरे । इमान्दार भएर ५ वटा मापदण्डअनुसार लाइसेन्स दिँदा सरकारले ठूलो राजस्व पाएको उनले तर्क गरे ।

मापदण्ड पुगेका सबैले लाइसेन्स पाएको हमालको भनाइ थियो ।

यो पटक ३५ दिनभित्र ४३ वटा कम्पनीलाई लाइसेन्स दिएको बताउँदै अध्यक्ष हमालले यसले बजारमा प्रतिस्पर्धा बढ्ने, लागत घटने बताए ।

ब्रोकरको बीचमा प्रतिस्पर्धा बढेपछि कमिशनको माथिल्लो दर तोक्ने र तल्लो दर खुला छोड्नु पर्ने बताए ।

कार्यक्रम सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले सापकोटाले सेयर बजारमा धेरै प्रगति गरेको बताए । प्रधानले सेयर बजार जुवा हो भनेर भन्न नहुने बताए ।

पत्रकारले आफूले किन्ने बेला बजार घटाउने, बेच्ने बेला बढाउने खालका समाचार लेख्न नहुने उनले बताए ।

नयाँ स्टकलाई लाइसेन्स दिन, नयाँ ब्रोकर आउनु राम्रो भए पनि नयाँ कम्पनी आउँदा कति करोडको खेल हो भन्ने देखिएको भन्दै त्यसमा ध्यान दिनु पर्ने बताए ।

नेपालमा पनि नयाँ स्टक आउने लागेको बेला आर्थिक चलखेल भएको कुरा बाहिरिएकाले त्यस्तो हुन नहुने बताए ।

कार्यक्रममा सेजनका पूर्व अध्यक्ष गोकर्ण अवस्थीले पुस्तकमा ब्रोकरको फ्रि एक्जिट, फ्रि इन्ट्रिको विषय, नयाँ स्टकको कुरा उल्लेख गरेको र नेपालमा पनि त्यो पूरा हुन खोज्दा खोज्दै रोकिएको बताए ।

पुस्तकमा सेयर बजारमा लगानी गर्ने मान्छे परिस्थिति प्रतिकुल हुँदा विदेशिनु पर्ने वाध्यता, बजारमा निरन्तर लागि परे एकदिन सफल हुने विषय सरल रुपमा समेटिएको उनले बताए ।

नेपालको विकासमा देखेको सपना, बजार विकासका लागि नयाँ स्टक, त्यसको आवश्यकता लगायतका विषय उल्लेख भएको उनले बताए ।

सापकोटा १० /१२ वर्ष हराउँदा सेयर बजारका बारेमा जानकारी दिने गरि किताव लिएर आउनु सकारात्मक भएको अवस्थीको भनाइ थियो ।

कार्यक्रममा सेजनका पूर्वअध्यक्ष विज्ञानविभु अधिकारीले लेखक सापकोटाले जटिल विषयलाई सरल भाषामा प्रस्तुत गरेको बताए ।

कार्यक्रममा लेखक सापकोटाले पत्रकारले सेयर बजारमा लगानी गरे पनि सूचनाको गलत प्रयोग गर्न नहुने बताए ।
गैरआवासीय नेपालीलाई सेयर बजारमा पूरै खुला गर्नु पर्ने उनको भनाइ थियो ।

एनआरएनएले डलरमा गरेको लगानी रुपैयाँमा कन्भर्टर भएर पनि पैसा डलरमा लैजादा स्वीकृति लिनु पर्ने झन्झट हुने भन्दै यसलाई हटाउन उनले माग गरे ।

लगानी, नाफा फिर्ता लैजाने झन्झट हटाउने हो भने विदेशबाट धेरै लगानी भित्रने उनको भनाइ छ ।

सेजनका निवर्तमान अध्यक्ष भीम गौतमले पत्रकारले लगानी गरे पनि स्वार्थमा बाझिन नहुने बताए । सेयर बजारमा लगानी गरे पनि मूल मर्म पत्रकारिता हुनुपर्ने उनले बताए । अहिले सेयर बजारमा लगानी बढे पनि लाभांश त्यो अनुसार पाउन नसकेको उनले बताए ।

कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले सेजनलाई अघि बढाउन महत्त्वपूर्ण योगदान नारायण सापकोटाको भएको बताए । ‘कामको सिलसिलामा उहाँ अमेरिका भए पनि आर्थिक पत्रकारका लागि निकै महत्त्वपूर्ण साबित हुने उपन्यास लेख्नु भएको छ’ उनले भने,’ सेयर बजारको बिषयमा धेरै किताब छैन, उहाँको किताबबाट उपन्यास पढेर सेयर बजारको बारेमा पत्रकार, सर्वसाधारणले थाहा पाउन सक्नेछन् ।’


क्लिकमान्डु