करेन्ट चाउचाउद्वारा वाइवाइ ट्रेडमार्कको नक्कल, सीजी फुड्सद्वारा मुद्दा दायर



काठमाडौं । यशोदा फुड्स प्रा.लिद्वारा उत्पादित करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कलगरि वाइवाइ जस्तै देखिने गरि उपभोक्तालाई झुक्याउने काम गरेको छ । यसबाट यशोदा फुड्सले कानुनको प्रत्यक्ष उल्लंघन मात्रै गरेको छैन, उपभोक्ताको अधिकार समेत हनन गरेको छ ।

वाइवाइ नेपालको लोकप्रिय चाउचाउ हो । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायमगरि चौधरी ग्रुपद्वारा उत्पादीत वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाईमा रहदै आएको छ ।

यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरि र्‍यापर प्रयोग गरेर उपभोक्ताको अधिकारमाथि प्रत्यक्ष प्रहार गरिएको कम्पनीले जनाएको छ । करेन्ट चाउचाउले आफुलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको कम्पनीले जनाएको छ ।

वाइवाइ जस्तै देखिने र्‍यापर प्रयोग गरि करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सीजी फुड्स प्रालीले उद्योग विभागमा मुद्दा दायर गरेको जनाएको छ ।

पेटेन्ट, डिजाईन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न हुँदैन भनिएको छ । उपभोक्तालाई भ्रममा पार्ने गरि ट्रेडमार्क हुवहु नक्कल गरि प्रयोग गरेमा उक्त ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्राअनुसार १ लाख रूपैयाँसम्म जरिवना र सो कसुरसँग सम्वन्धित सबै मालसामान बजारबाट जफत हुने व्यवस्था गरेको छ ।

सीजी फुड्सले यहि कानुनअनुसार करेन्ट चाउचाउ माथि कार्वाही हुनुपर्ने माग गरेको छ । कानुनले यस सम्बन्धी निर्णय गर्ने अधिकारी उद्योग विभागका महानिर्देशकलाई तोकेको छ ।

विभाग सम्वद्ध अधिकारीहरूकाअनुसार सीजी फुड्ले २०७९ साउनमा विभागमा दर्ता गरिएको मुद्दा लामो समयदेखि विचाराधीन अवस्थामा छ जसका कारण उपभोक्ताको अधिकार हनन भएको छ भने विश्वमै स्थापित उपभोक्ताको सर्वप्रिय ब्राण्ड वाइवाइ माथि अन्याय भएको छ ।

ठूला र स्थापित ब्राण्डका उत्पादनप्रति उपभोक्ताको विश्वास हुन्छ । उक्त विश्वास आर्जन गर्न कम्पनीले लामो सयम र ठूलो वित्तीय लगानी गरेका हुन्छन् । त्यसको दुरूपयोग गरेर नाफा कमाउने धुनमा डुब्लिकेटको बिगबिगी बढिरहेको छ । यस्तो प्रवृत्तिले स्थापित ब्राण्डलाई भने ठूलो नोक्सानी पुर्‍याउँछ ।

स्थापित ब्राण्डको नक्कल गर्नेहरुको केहीदिनमै उपभोक्तालाई भ्रममा पारेर मुनाफा कमाउने र वास्तविकता खुलेपछि उत्पादन बन्दगरिदिने प्रवृत्ति देखिएको छ ।

पछिल्लो समयमा नेपाली बजारमा पनि स्थापित भइसकेका ब्राण्डको दुरुस्त हुने गरी ट्रेडमार्कको नक्कलगर्ने प्रवृत्ति मौलाउँदै गएको छ ।

स्थापित वस्तुहरुको ट्रेडमार्क हुबहु प्रयोग गर्ने र प्याकेजिंङ उस्तै देखिने गरि गरेर कम लागतमा धेरै मुनाफा आर्जन गर्ने प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्तिलाई बौद्धिक सम्पत्ति संरक्षणका विज्ञहरूले अर्काको बौद्धिक सम्पत्ति दुरुपयोग गरेर खान पल्केको समूहका रुपमा टिप्पणी गर्दै आएका छन् ।


क्लिकमान्डु