विद्युतीय सवारी साधनमा कर बढ्ने सूचना चुहिएपछि दुई हप्तामा भित्रिए ११४५ गाडी



काठमाडौं । सरकारले विद्युतीय गाडीमा कर बढाउने सूचना चुहाएपछि बजेटको दुई हप्ताको अवधिमा ११ सय ४५ वटा गाडी भित्रिएका छन् ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् गाडीको भन्सार दर बढाउने सूचना चुहिएपछि अप्रत्याशित तरिकाले विद्युतीय सवारी साधन भित्रिएको पाइएको छ ।

सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गत वर्ष १० किलोवाटसम्मको सवारी साधनमा १० प्रतिशत भन्सारबाहेक अन्तशुल्क नलाग्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थाले गर्दा बजारमा जीप, कार र भ्यान उच्च आयात भएको भन्सार विभागको तथ्याङकले देखाउँछ ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा नेपालले करिब ३ हजारको हाराहारीमा विद्युतीय सवारी साधन आयात गरेको छ । जुन हालसम्मकै उच्च हो ।

सरकारले गतवर्ष १०० किलोवाटभन्दा बढीका सम्पूर्ण सवारी साधनको आयातमा भने भन्सार दर र अन्तशुल्क बढाएको थियो । तर, यो वर्ष सरकारले १०० किलोवाटसम्मको सवारी साधनको भन्सार दर ५ प्रतिशतले बढाएको छ।

सरकारले यो वर्ष ५० किलोवाटसम्मको क्षमताको सवारीले मात्रै भन्सारबाहेक अन्य शुल्क नलाग्ने व्यवस्था गरेको छ । तर, ५० देखि १०० किलोवाटसम्मको सवारी साधनमा भन्सार १० प्रतिशतबाट १५ प्रतिशत बढाउनेबारे अगाडि नै सूचना चुहिँदा भन्सार थन्किएका विद्युतीय सवारी साधन बजेटअघि नै व्यवसायीहरुले धमाधाम नेपाल भित्र्याएका छन् ।

व्यवसायीहरुले भन्सार दर बढाउने सूचना पाएसँगै २ महिनाको अवधिमा ११ सय ४५ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।

नेपाल भित्रिएको सवारी साधन अधिकांश १०० किलोवाटका छन् । व्यवसायीहरुले नेपालमा सबैभन्दा बढी चीनबाट विद्युतीय सवारी साधन आयात गर्दै आएका छन् । त्यस्तै, करको दर बढाउने सूचना व्यवसायीहरुले चुहाएसँगै रसुवा भन्सार कार्यालयबाट १४ दिनको अवधिमै ८०५ वटा सवारी साधन भित्र्याएका छन् । उक्त भन्सारबाट भित्रिएको सवारी साधन अधिकांश १०० किलोवाटसम्म रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

रसुवा भन्सार कार्यालयका कर्मचारी निर्मलराज कणेलले हालसम्ममा १६ सय ८४ वटा सवारी साधन भित्रिएकोमा जेठयता ८०५ वटा दुई हप्तामा भित्रिएको बताए । उनकाअनुसार जेठयता ८०५ वटा सवारी साधन भित्रिँदा एमजी, बीवाईडी र नेटाभी ब्रान्डको सवारी साधन भित्रिएका छन् ।

दुई हप्ताको अवधिमा एमजीले सो भन्सार कार्यालयबाट उच्च सवारी साधन भित्र्याएको पाइएको छ । उक्त कम्पनीले मात्रै ५२४ वटा गाडी दुई हप्ताको अवधिमा भन्सार पास गरेको छ ।

एमजीले जेडएस ईभी कम्पफर्ट २० वटा, जेडएस ईभी डिलक्स ८६ वटा र जेडएस ईभी लङ रेन्जको ४२१ वटा सवारी साधन दुई हप्तामा आयात गरेको छ । साइमेक्स इन्क प्रालिले बिक्री गर्दै आएको बीवाइडी ब्रान्डका विद्युतीय सवारी साधन मात्रै १६१ वटा भित्रिएका छन् ।

बीवाईडी ब्रान्ड विद्युतीय जीप, कार र भ्यान २० वटा, बीवाईडी अट्टो ३ ब्रान्डको १२० वटा, बीवाईडी डल्फिन ब्रान्डको १ वटा र बीवाइडीको ईसिक्स ब्रान्डको २० वटा भित्रिएका छन् ।

साथै, चौधरी ग्रुपले पनि सो अवधिमा चीनबाट १०० किलोवाटसम्मको नेटा भी ब्रान्डको १२० वटा विद्युतीय सवारी साधन भित्र्याएको छ ।

त्यस्तै, तोतोपानी भन्सारबाट दुई हप्ताको अवधिमा १०० किलोवाटभन्दा कमको २४ वटा विद्युतीय सवारी साधन भित्रिएका छन्। जसमा फोटोन ब्रान्डको ६० किलोवाटको १० सिट भएको गाडी ९ वटा र १०० किलोवाटको ५ सिट भएको कार १५ वटा भित्रिएको भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए ।

उनकाअनुसार तातोपानी भन्सारबाट निकै कम सवारी साधन भित्रिँदै आएको छ । तर, पछिल्ला दुई हप्तामा भने उच्च गाडी आयात भएको छ ।

भैरहवा भन्सार कार्यालयबाट हालसम्ममा २१ सय ३७ वटा विद्युतीय सवारी साधन भित्रिएका छन् । जसमा जेठयता दुई हप्ताको अवधिमा उच्चमात्रामा विद्युतीय गाडी भित्रिएको पाइएको छ ।

भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले गत साउनमा १२५ वटा, भदौमा १७९ वटा, असोजमा १९८ वटा, कात्तिकमा १८७ वटा, मंसिरमा २५७ वटा, पुसमा ३३४ वटा र माघमा १५५ वटा विद्युतीय सवारी साधन भैरहवा भन्सारबाट जाँचपास भई नेपाल भित्रिएको बताए ।

त्यसैगरी, फागुनमा १३६ वटा, चैतमा १८४ वटा, वैशाखमा १७१ वटा भित्रिएकोमा जेठको १४ गतेसम्ममा २११ वटा भित्रिएको उनले जानकारी दिए । उनकाअनुसार जेठको १४ दिनको अवधिमा ५५ करोड ८० लाख रुपैयाँ विदेशिएको छ भने सरकारले १६ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जेठको दुई हप्ताको अवधिमा १०५ वटा विद्युतीय गाडी भित्रिएको बताए ।


अरिष्मा मोक्तान