भारतीय सिमेन्टको प्रमुख आयातकर्तामा नेपाल दोस्रो स्थानमा, पहिलो श्रीलंका



काठमाडौं । भारतको सिमेन्ट क्षेत्रको प्रमुख आयातकर्तामा नेपाल रहेको छ । भारतीय रेटिङ एजेन्सीले सिमेन्ट क्षेत्रमा गरेको अध्ययनले भारतबाट निर्यात हुने सिमेन्टको प्रमुख आयातकर्तामा नेपाल भएको देखाउँछ ।

अध्ययनमा एजेन्सीले मुख्य पाँच आयातकर्ताको विवरण सार्वजनिक गरेको छ । त्यसमा पहिलो श्रीलंका, दोस्रो नेपाल, तेस्रोमा माल्दिभ्स, चौथोमा युएई र पाँचौंमा मरिसस छन् ।

विश्वमा सिमेन्ट उत्पादन क्षेत्रमा चीनपछि दोस्रो ठूलो देश भारतको पहिलो आयातकर्ता श्रीलंका रहेको छ । श्रीलंकाले सन् २०२०/२१ मा ३ अर्ब ५० करोड ६० लाख भारतीय रुपैयाँ बराबरको सिमेन्ट आयात गरेको अध्ययनले देखाएको छ । त्यस्तै, श्रीलंकाले सन् २०२१/२२ मा ४ अर्ब ४२ करोड ३५ लाख रुपैयाँको आयात गरेको पाइएको छ ।

अध्ययनअनुसार दोस्रोमा नेपाल छ । नेपालले भारतबाट सन् २०२०/२१ मा २० करोड ३४ लाख रुपैयाँको सिमेन्ट आयात गरेको थियो भने सन् २०२१/२२ मा १९ करोड २५ लाख भारतीय रुपैयाँको सिमेन्ट आयात गरेको छ ।

नेपाल अहिले सिमेन्ट क्षेत्रमा आत्मनिर्भर भइसकेको छ । तर, कच्चा पदार्थमा भने भारतकै भर छ । नेपाल अहिले सिमेन्ट क्षेत्रमा आत्मनिर्भर मात्रै होइन वार्षिक खर्बौं रुपैयाँ निर्यात गर्न सक्ने क्षमता रहेको व्यवसायीहरुले बताएका छन् । त्यस्तै, भन्सार विभागको तथ्यांकले पनि नेपालले केही मात्रामा क्लिङ्कर तथा सिमेन्ट आयात गरेको स्पष्ट देखिन्छ ।

त्यसैगरी, नेपालपछि भारतले माल्दिभ्समा उच्च निर्यात गर्दै आएको छ । माल्दिभ्सले सन् २०२०/२१ मा २९ करोड ४० लाख रुपैयाँको आयात गरेको थियो भने सन् २०२१/२२ भने १७ करोड ८७ लाख रुपैयाँको आयात गरेको छ ।

त्यसपछि युएईले सन् २०२१/२२ मा ६ करोड ७७ लाख रुपैयाँ र मरिससले ६ करोड ५४ लाख रुपैयाँ आयात गरेको पाइन्छ । भारतको सिमेन्ट र निर्माण सामग्रीको लागि राष्ट्रिय परिषद्अनुसार सन् २०२५ सम्ममा थप ८ करोड टन सिमेन्ट उत्पादन गर्ने क्षमता बढ्ने अनुमान गरेको छ । सन् २०२२ मा भारतले २९ करोड ८० लाख टन सिमेन्ट उत्पादन गरेको थियो । जुन विश्वको दोस्रो ठूलो सिमेन्ट उत्पादन गर्ने देश हो ।

भारतले सिमेन्ट उत्पादन क्षेत्रमा विश्वको ८ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा २१० वटा ठूला सिमेन्ट उद्योग छन् । आन्द्र प्रदेश, राजस्थान र तमिल नाडुमा मात्रै ७७ वटा उद्योग छन् ।

भारतको सिमेन्ट क्षेत्रको आकार हेर्ने हो भने वार्षिक ३ अर्ब ६४ करोड ४५ लाख टन उत्पादन गर्न सक्ने क्षमता रहेको अध्ययनले उल्लेख गरेको छ । सन् २०२८ सम्ममा सिमेन्ट उत्पादनको आकार बढेर ४ अर्ब ८३ करोड २६ लाख टन पुग्ने अनुमान गरेको छ।

सन् २०२२ मा विश्वको सिमेन्ट क्षेत्रको आकार ३ अर्ब ६३ अर्ब ४० लाख पुगेको थियो । तर, रुस–युक्रेनबीचको द्वन्द्वले मुद्रास्फिति बढाएसँगै उत्पादनमा उच्च असर पुगेको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार चीनमा सिमेन्ट उत्पादनमा सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले घटेको छ । पाकिस्तानको खपत ७.१ प्रतिशत र ब्राजिलमा ३ प्रतिशत र स्पेनमा १ प्रतिशतले माग देखिएको छ । तर, अर्जेन्टिनामा भने सिमेन्टको माग ६ प्रतिशतले बढेको पाइएको छ ।

भारतमा सन् २०२२/२३ मा २ करोड १२ लाख टन उत्पादन क्षमता बढ्ने अनुमान गरेको छ । भारतको सिमेन्ट उद्योगहरुले वार्षिक साढे ५७ करोडको हाराहारीमा सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता छ । पूर्ण क्षमता भएपनि खपतको कम हुँदा सिमित मात्रामा सिमेन्ट उत्पादन गर्दै आएको पाइन्छ ।

सन् २०२१/२२ मा उद्योगहरुले ३५ करोड ६ लाख टन सिमेन्ट उत्पादन गरेको थियो । त्यसमा ३ करोड १६ लाख टन क्षमता थपिएको थियो । जसमा सो वर्ष ५७ करोड ६४ लाख टन सिमेन्ट उत्पादन गर्ने क्षमता थियो । तर, क्षमता हुँदाहुँदै उत्पादन भएको ६०.८ प्रतिशत खपत भएको अध्ययनले देखाएको छ ।

त्यसैगरी, सन् २०२२/२३ मा भारतमा ३७ करोड ४५ लाख टन उत्पादन गरेको थियो । त्यसमा ३७ करोड ५१ लाख टन खपत भएको पाइएको छ ।

भारतले विशेषगरी पोर्टल्यान्ड सिमेन्ट, पीपीसी सिमेन्ट, हाइ स्ट्रेन्थ सिमेन्ट, मरिन टेक्नोलोजी सिमेन्ट, ब्लेन्डेड सिमेन्ट, फ्लाई एस सिमेन्ट, स्ल्याग बेस्ड सिमेन्ट र सिलिका बेस्ड सिमेन्ट र आइ अल्ममिना सिमेन्ट उत्पादन गर्दै आएको छ ।

डाइरेक्टोरेट जेनरल अफ कमर्सियल इन्टिलिजेन्स एण्ड स्ट्याटिक्सअनुसार भारतले मुख्य गरी पोर्टल्यान्ड, अल्मिनस सिमेन्ट, स्ल्याग सिमेन्ट, सुपर सल्फेट सिमेन्ट र हाइड्रोकिल सिमेन्ट निर्यात गर्दै आएको छ । उक्त सिमेन्टको मुख्य आयातकर्ता बंगलादेश, श्रीलंका र युएई रहेको छ । साथै, विश्वमा सिमेन्ट निर्यातकर्तामा स्पेन, जर्मनी, इटली र चीनपछि भारत पनि प्रमुख निर्यातकर्ता बनेको छ ।

भारतले निर्यात मात्रै होइन आयात पनि गर्दै आएको छ । भारतले सन् २०२१/२२ मा ८ लाख १६ हजार टन सिमेन्ट आयात गरेको छ । भारतले सन् २०२१/२२ मा युएईबाट ३९ लाख ५१ हजार टन, बंगलादेशबाट १३ लाख टन, भुटानबाट १९ लाख ६४ हजार टन र ओमनबाट ४ लाख १२ हजार टन उच्च आयात गरेको छ ।


क्लिकमान्डु