बैंक वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सिबिफिन र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता



काठमाडौं । बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ ।

दक्ष एवं प्रतिस्पर्धी मानवीय पुँजीको उत्पादन एवं उपयोगका लागि सिबिफिन र विश्वविद्यालयबीच अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम निर्माण गरी लागू गर्ने सहमति भएको हो ।

बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पुँजीको अवस्था, विद्यार्थीको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पुँजीको उत्पादन एवं उपयोगका लागि उत्कृष्ट पाठ्यक्रम निर्माण तथा कार्यान्वयन गर्न सम्झौता गरिएको आज जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।

पाठ्यक्रममा कर्जा जोखिम, सम्पत्ति व्यवस्थापन, तरलता र जोखिम मूल्यांकन, तरलता र जोखिम व्यवस्थापन, वित्तीय उपकरण विकास, वित्तीय इन्जिनियरिङ, डिजिटल/क्रिप्टो करेन्सीलगायत विषयले महत्व पाउनेछन् ।

त्यस्तै वित्तीय मोडेलिङ, वित्तीय स्थायित्व, वित्तीय समावेशीकरण, डिजिटल फाइनान्स, छायाँ बैंकिङ, स्टार्ट अप बिजनेस, स्वउद्यमशीलता जस्ता नवीन विषय र बैंकिङ क्षेत्रमा प्रवेश गरिसकेपछि व्यावहारिक रुपमा सम्पादन गर्नुपर्ने कार्यका विषयमा पाठ्यक्रम निर्माण हुनेछ ।

त्यसैगरी विदेशी मुद्रा नीति, विदेशी विनिमय व्यवस्थापन/विदेशी विनिमय दर र विदेशी मुद्रा नीतिमा यसको प्रभाव, भुक्तानी प्रणाली विकास, भुक्तानी उपकरण, भुक्तानी प्रणाली पूर्वाधार, इलेक्ट्रोनिक भुक्तानी प्रणाली, ई-बैंकिङ/डिजिटल बैंकिङ, ब्याजदर, निक्षेप, कर्जा, पुँजी बजारको विकास, पुँजी बजारका साधन र पूर्वाधार जस्ता विषयले पनि पाठ्यक्रममा महत्व पाउनेछन् ।

हस्ताक्षर कार्यक्रममा सिबिफिनका अध्यक्ष गोल्यानले शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई व्यावहारिकता र उत्पादनसँग जोड्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष एवं क्षमतावान् मानवीय पुँजीको विकास लागि समझदारी भएको जानकारी दिए । बैँकिङ बजारको आवश्यकताको परिपूर्ति मात्र नभई स्तरीय शिक्षाका लागि ठूलो संख्यामा विदेसिने युवा जनशक्ति र धनराशिलाई रोक्न पनि यो सम्झौता फलदायी हुने उनको विश्वास छ ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले नयाँ पाठ्यक्रमले बैकिङ क्षेत्रका व्यावहारिक विषयमा ज्ञान दिनुका साथै विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्तिको उत्पादनमा ठोस योगदान पुग्ने बताए ।


क्लिकमान्डु