भारतले रुससँग किनेको पेट्रोलियम वस्तु निर्यात गरेको भन्दै युरोपेली संघ आक्रोशित, के होला सम्बन्ध ?



काठमाडौं । युरोपेली संघ (ईयु)का विदेश नीति प्रमुख जोसेफ बारेलले युरोपेली संघले भारतलाई कारबाही गर्नुपर्ने बताएका छन्। उनले भारतले रुसबाट कच्चा तेल ल्याएर त्यसबाट प्रशोधन गरिएका सामनहरु बजारमा बेचिरहेका कारण भारतलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

भारतले प्रशोधन गरेर बिक्री गरिरहेका यस्ता वस्तुहरुमा डिजेल पनि रहेको छ । मंगलबार फाइनेन्सियल टायम्समा प्रकाशित एक अन्तर्वातामा बारेल्लले यस्तो बताएका हुन् ।

रुस युक्रेनबीच भईरहेको युद्धको सुरुवात भएपश्चात विगत एक वर्षमा भारतले रुसबाट सबैभन्दा धेरै कच्चा तेल खरिद गरेको छ । सस्तो मूल्यमा कच्चा तेल (क्रुड ओयल) उपलब्ध भएका कारण भारतमा भएका प्रशोधन केन्द्र (रिफाइनरी)हरुलाई धेरै फाइदा पनि भइरहेको छ । यस्ता प्रशोधन केन्द्रहरुले युरोपमा प्रशोधित वस्तुहरु बेचेर ठूलो आम्दानी गरिरहेका छन्।

यहि विषयलाई लिएर ईयुका विदेशी नीति प्रमुख बोरेलले भनेका छन्, ‘यदि डिजेल र पेट्रोल भारतबाट युरोप आइरहेका छन्, जुन त्यो रुसको कच्चा तेलबाट बनिरहेको छ, यो ईयुका सदस्य राष्ट्रहरुका लागि चिन्ताको विषय हो । र उनीहरुले यसको विरुद्धमा कदम उठाउनु पर्छ ।’

उनले भारतले रुसबाट कच्चा तेल ल्याउनु सामान्य भएको बताएका छन् । तर, रुसबाट ल्याईएको तेल प्रशोधन गरेर त्यसलाई युरोपमा बेचिरहेको छ भने त्यसविरुद्ध आफूहरुले कदम उठाउनु पर्ने उनको जिकिर थियो ।

बोरेलले आफूले भारतका विदेशमन्त्री एस जयशंकरसँगको कुराकानीमा रुसले युक्रेनमाथि गरेको हमलाको बारेमा उल्लेख गरेको बताएका छन् । यो कुराकानीमा आफूले खाद्य सुरक्षाको विषय पनि उठाएको उनले बताएका छन् । तर, उनले रुसको कच्चा तेल र त्यसलाई खरिद गरेर भारतले प्रशोधनपश्चात् गरिरहेको निर्यातको विषयमा भने कुनै पनि कुरा उल्लेख गरेका छैनन्।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार युरोपेली कमिसनका उपाध्यक्ष मार्गरेट वेस्टेगरले युरोपेली संघले भारतसँग यो विषयमा कुरा गर्ने जिकिर गरेका छन् । तर, यो कदम भारतमाथि प्रश्न मात्रै उठाउने किसिमको नहुने भएर भारतलाई आदेश दिने किसिमको हुने पनि बताइएको छ ।

भारतले कति तेल आयात गरिरहेको छ ?

भारतमा रहेका तेल प्रशोधन केन्द्रहरुले विगतमा रुसबाट कम तेल आयात गर्थे । रुसबाट तेल आयात गर्न यातायातमा धेरै खर्च हुने भएकाले किम मात्रामा तेल आयात हुन्थ्यो । तर, सन् २०२२/०२३ को आर्थिक वर्षमा प्रतिदिन ९७ हजारदेखि ९८ हजार ब्यारल कच्चा तेल आयात भएको छ । यो मात्रा भनेको भारतमा हुने तेल आयातको पाँच प्रतिशत हो ।

रुसको सबैभन्दा धेरै तेल उत्पादन गर्ने रोसनेफ्ट (आरओएसएन डट एमएम) र भारतको सबैभन्दा ठूलो प्रशोधन केन्द्र इण्डियन ओयल कर्प (आईओसी डट एनएस)ले पनि भारतमा आपूर्ति गरिने तेलको ग्रेडमा पर्याप्त बृद्धि र विविधता ल्याउनका लागि एउटा कारोबार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

केपलरको जहाज निगरानी (सिप ट्र्याकिङ) तथ्यांककाअनुसार भारतका रिलायन्स इन्डस्ट्रीज र नायरा एनजी रिफाइन्ड इन्धन प्रमुख निर्यातकर्ता र रुसको तेलको प्रमुख खरिदकर्ता रहेका छन् । रोयटर्सकाअनुसार यी कम्पनीहरुले ईयुको आरोपलगायतका विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन ।

केपलरकाअनुसार युक्रेनमाथि रुसले गरेको आक्रमणभन्दा पहिले भारतले सामान्यतय युरोपमा औसतमा १लाख ५४ हजार ब्यारल प्रतिदिनको दरले डिजेल र जेट इन्धन निर्यात गर्ने गरेको थियो । यो वर्ष ५ फेब्रुअरीमा युरोपेली संघले रुसी तेल उत्पादनहरुको आयातमाथि प्रतिबन्द लगाएका थिए । त्यसपछि भारतबाट प्रतिदित २ लाख ब्यारल तेल प्रतिदिन युरोपमा निर्यात भइरहेको छ ।

बोरेलले बताएअनुसार रुसको तेलको प्रवाह रोक्नका लागि कुनै पनि किसिमको नियम वा व्यवस्था राष्ट्रिय अधिकारीहरुले लागु गर्नुपर्ने आवश्यकता रहेको छ । उनले युरोपेली संघले रुससँग तेल किन्ने खरिदकर्ताहरुलाई निशाना बनाउन सक्ने ईशारा गरेका छन् । उनी भन्छन्, ‘यदि उनीहरु (रुस)ले बेचिरहेको छ भने यसको अर्थ कसै न कसैले किनिरहेको छ । हामीले हेर्नुपर्ने कुरा कसले किनिरहेको छ भन्ने हो ।’

ईयुको आरोपमा भारतको के छ प्रतिक्रिया ?

भारतका विदेशमन्त्री एस जयशंकरले एक पत्रकार सम्मेलनमा भनेका छन्, ‘युरोपेली संघको प्रतिबन्धको नियमकाकाअनुसार क्रुड तेल जसलाई कुनै तेस्रो देशमा फरक स्वरुपमा बनाइन्छ, त्यो रुसकै सामान हुँदैन ।’

उनको यो अभिव्यक्तिको अर्थ भारतले रुसबाट कच्चा तेल आयात गरेको र युरोपलाई बेचेको वस्तु भने भारतमै प्रशोधन भएको पेट्रोलियम वस्तुहरु रहेको भन्ने हो । उनले भनेका छन्, ‘युरोपेली संघको काउन्सिलका नियममा हेर्ने हो भने रुसको कच्चा तेललाई कुनै तेस्रो देशमा केही हदसम्म परिवर्तन गर्ने हो भने त्यो तेल रुसको हो भन्ने मानिँदैन । म तपाईंहरुको काउसिन्लको विनियम ८३३/२०१४ लाई हेर्न आग्रह गर्छु ।’

जयशंकर बंगलादेश, स्वीडेन र बेल्जियमको आफ्नो यात्रापछि गत सोमबार ब्रसेल्स पुगेका थिए । यात्राको अन्तिम चरणमा उनी बेल्जियमको राजधानी ब्रसेल्स पुगेका थिए ।

यसअघि पनि जयशंकरले रुसबाट भारतले आयात गरिरहेको तेलको विषयमा उठ्ने गरेको प्रश्नहरुको खण्डन गरेका थिए । सँगै युक्रेनमा भइरहेको सैन्य कारबाहीलाई मध्यनजर गर्दै रुससँग भारतको व्यापार कम गर्नका लागि नयाँ दिल्ली (भारतको संघीय सरकार)लाई दबाब सिर्जना गर्नमा अप्रत्यक्ष रुपमा पश्चिमा देशहरुको आलोचना पनि जयशंकरले गरेका छन् ।

‘युरोपेली देशहरुको तुलनामा रुससँग हाम्रो व्यापार निकै कम मात्रामा छ,’ जयशंकरले भनेका छन्, ‘१२ देखि १३ अर्ब अमेरिकी डलरको व्यापार रुससँग भइरहेको छ । हामीले रुसलाई केही उत्पादन दिएका छौं । मलाई लाग्दैन, अरुले यो कुरालाई यसरी हेर्नुपर्छ ।’

ईयुको आरोप भारतका लागि कति चिन्ताजनक ?

तेल तथा पेट्रोलियम वस्तुहरुको विषयमा जानकार नरेन्द्र तनेजा भारत र युरोपेली देशहरुबीच रणनीतिक सम्बन्ध रहेको समयमा यस्तो बयान आउनु निन्दनीय भएको बताउँछन् । उनी भन्छन्, ‘यदि यो एउटा राजनीतिक अभिव्यक्ति हो, जुन आफ्नो देशका नागरिकलाई खुसी बनाउन गरिएको छ भने यो ठीक छ । तर, यदि उनीहरुले (युरोपेली संघ)ले आफूले कुनै पनि किसिमको प्रतिबन्ध लगाउने सोचिरहेका छन् भने उनीहरुले ची, टर्कीलगायतका कमसेकम १५ देशहरुमाथि प्रतिबन्ध लगाउनु पर्छ । र यदि यस्तो भयो भने तेलको मूल्य आकाश छुनेछ, जसलाई सम्हाल्न वा थेग्न सकिदैंन ।’

उनी यस्तो अभिव्यक्ति आउनुले तेलको मूल्य पहिले नै निकै बढिरहेका कारण संकटग्रस्त देखिएको अमेरिका र युरोपेली अर्थव्यवस्थाका लागि थप जोखिमपूर्ण रहेको बताउँछन्।

‘भारत र चीन रुसबाट तेल किनिरहेका छन् । यसले गर्दा नै विश्व बजारमा तेलको कमि भएको छैन । यदि यो प्रणालीमा कुनै किसिमले हस्तक्षेप भयो भने कोलाहल मच्चिन्छ ।’

युरोपमा विगतमा प्रदुषण भएको भन्दै विभिन्न तेल प्रशोधन केन्द्रहरुलाई बन्द गरिएको छ । तर, अहिले युरोपमा यसको आवश्यकता देखिएको छ । यस्तो अवस्थामा युरोपले अन्य कुनै पनि देशबाट तेल खरिद गरिरहँदा त्यसको कच्चा पदार्थ रुसको हो वा टर्कीको हो वा इराकको हो भन्ने कसरी थाहा हुन्छ भन्ने प्रश्न तनेजाको रहेको छ ।

तनेजा युरोपेली संघले दिएको यस्तो अभिव्यक्तिका कारण भारतसँगको सम्बन्धमा असर पर्ने आशंका कम भएको बताउँछन् भने भारतले यस्तो अभिव्यक्तिका कारण डराउनु पर्ने अवस्था पनि नरहेको उनको जिकिर छ ।


क्लिकमान्डु