ढोरपाटनमा यस वर्षको सिकार याम सकियो, एउटा नाउरको राजस्व ७ लाख ८० हजार



बलेवा । ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ । सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो ।

दोस्रो सिकार याममा ढोरपाटनमा १२ नाउर र ६ झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामको लागि ९ झारलको कोटा निर्धारण गरे पनि ३ झारलको सिकार भएन ।

हिमालयन सफारिज प्रालिबाट आएका ३ विदेशी सिकारीले यसपटक निर्धारित कोटामा ३ झारलको सिकार गर्न नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए । बोलपत्र प्रक्रियाबाट छानिएका ७ कम्पनीमार्फत् ८ देशका पेसेवर विदेशी सिकारीले यस वर्षको दोस्रो याम (फागुन–वैशाख)मा सिकार गरेका थिए ।

यस पटक सिकारीले एक नाउरको ५ लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि ३ लाख १० हजारसम्म राजस्व तिरेका थिए । पहिलो याममा १ नाउरको २० लाख ५ हजार र झारलको ६ लाख रुपैयाँ राजस्व बुझाइएको थियो ।
सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।

यस वर्षको पहिलो सिजनमा ८ नाउर र ६ झारलको सिकार कोटा निर्धारण गरिए पनि ७ नाउर र ५ झारलको सिकार भएको थियो । आरक्षमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खान्छन् भने सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् ।

अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।


क्लिकमान्डु