सस्तो ब्याजमा बैंकका ‘होम लोन’ स्किम धमाधम सार्वजनिक, कसको कति ?



काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएपछि वाणिज्य बैंकहरुले घर निर्माणमा दिने कर्जालाई प्राथमिकतामा राखेका छन् । अधिक तरलता हुन थालेपछि बैंकहरु घर कर्जामा केन्द्रित हुन थालेका हुन् ।

कतिपय बैंकले घर निर्माण गर्न, घर किन्न र पुनर्निर्माणका लागि कर्जाको स्किम नै ल्याएका छन् । सिद्धार्थ बैंकले ‘तपाईंको सोच हाम्रो साथ, घर बनाउने सपना पार्नुस् साकार’ योजना ल्याएको छ ।

बैंकले ग्राहकको घर बनाउने सोचलाई साकार बनाउन भन्दै विशेष घर कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । बैंकबाट घर बनाउन ७ वर्षका लागि ११.७५ प्रतिशत ब्याजदरमा कर्जा पाइनेछ । हाल बैंकको आधारदर १०.६१ प्रतिशत छ ।

अहिले कतिपय बैंकले आधारदरमा २ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने गरेका छन् । त्यस्तै प्रभु बैंकले ५ वर्षसम्मका लागि १२.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले ५ वर्षभन्दा बढी अवधिका लागि १३.९९ प्रतिशत ब्याज तोकेको छ । हाल बैंकको औसत आधारदर ११.०७ प्रतिशत छ ।

यस्तै कुमारी बैंकले आधारदरमा २ प्रतिशत प्रिमियम थपेर घर कर्जा दिने भएको छ । बैंकको हाल आधारदर १०.९८ प्रतिशत छ । कुमारी बैंकले अहिले १२.९८ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउँदै आएको छ ।

एनएमबी बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरसहितको नयाँ घर कर्जा दिने भएको छ । यो नयाँ कर्जाले घरधनीलाई कर्जाको स्थिर मासिक भुक्तानीका साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्‍याउने बैंकको विश्वास छ ।

बैंकले ल्याएको योजनामा पाँच वर्षसम्म कर्जाको ब्याजदर बढने छैन । घरकर्जा लिँदा ब्याजदर पाँच वर्षसम्म स्थिर रहनेछ । एनएमबी बैंकबाट ११ प्रतिशत ब्याजदरमा २५ वर्षका लागि घरकर्जा लिन सकिन्छ । बैंकको आधारदर १०.६१ प्रतिशत छ ।

यस्तै एभरेस्ट बैंकले १ करोड रुपैयाँसम्मको हाउजिङ लोन १२.५ प्रतिशत र १ करोडभन्दा बढीको १३ प्रतिशतमा दिने भएको छ । बैंकको आधारदर ९.८७ प्रतिशत छ । अन्य केही बैंकले पनि आधार दरमा न्यून प्रिमियम थपेर कर्जा दिइरहेका छन् ।

अहिले बैंकहरुमा करिब २ खर्ब लगानीयोग्य रकम छ । त्यो पनि १४-१५ वटा बैंकमा मात्रै छ । ६-७ वटा बैंक कर्जा प्रवाह गर्न नसक्ने स्थितिमा छन् । लगानी गर्न सक्ने अवस्थाका बैंकले विभिन्न स्किम ल्याएर सेवाग्राहीलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।

तर, बैंकमा कर्जाको माग भने सुस्त छ । नेपाल बैंकर्स संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी अहिलेको बिग्रँदो अवस्थाका कारण ऋण लिने ‘कन्फिडेन्स’ नआइसकेको बताउँछन् ।

‘भोलि के कसो हुने हो भन्ने लागेर हुनसक्छ,’ उनले भने, ‘ब्याजदर घटिरहेको छ तर कन्फिडेन्स आउन सकिरहेको छैन, हामीले होम लोनका लागि निकै आकर्षक स्किम ल्याउँदा पनि अपेक्षाकृत कर्जा माग हुन सकेको छैन ।’

एनएमबी बैंकले होम लोनको स्किम ल्याउनुको कारण सिमेन्ट, इँटा, बालुवा, ढुंगा, रडलगायतका निर्माण सामग्रीको प्रयोग बढाउनु रहेको अध्यक्ष केसीले बताए । ‘निर्माण सामग्री चलायमान भएपछि अरु क्षेत्र पनि चलायमान हुन्छन् भन्ने हामीले बुझेका छौं,’ उनले भने ।


क्लिकमान्डु