आर्थिक वृद्धिदर १.१% ले ऋणात्मक, निर्माण क्षेत्र निराशाजनक



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक देखिएको छ ।

केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १.१ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक देखिएको हो ।

कार्यालयले मौसमी प्रभावसहित र मौसम प्रभाव असमायोजित गरी त्रैमासिक कुल गार्हस्थ उत्पादनका आधारमा आर्थिक वृद्धिदरको अध्ययन गरेको छ ।

मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १.१ प्रतिशतले ऋणात्मक देखिएको कार्यालयले जनाएको छ ।

गत वर्षको दोस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर ६.४ प्रतिशत थियो भने आव २०७७/७८ मा २ प्रतिशतले ऋणात्मक थियो । साथै, आव ७६/७७ मा आर्थिक वृद्धिदर ४.७ प्रतिशतले वृद्धि भएको थियो ।

तर, मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा ०.७ प्रतिशतले कमी आएको छ । गत वर्षको दोस्रो त्रैमासिकमा १.७८ प्रतिशत वृद्धिदर भएकोमा यो वर्षको सोही अवधिमा ०.७३ प्रतिशतले ऋणात्मक देखिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक र अघिल्लो वर्षको दोस्रो त्रैमासिकबीच मौसमी प्रभाव असमायोजित क्षेत्रगत तुलनागर्दा सबैभन्दा बढी आर्थिक वृद्धिदर आवास र खाद्यान्नमा २०.४ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ । उक्त क्षेत्रपछि वित्तीय र बिमा क्षेत्रमा १४ प्रतिशत, विद्युतमा ८ प्रतिशत, पेशागत, वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा ६.३ प्रतिशत, सार्वजनिक प्रशासननिक क्रियाकलापमा ५.७ प्रतिशत र शिक्षा क्षेत्रमा २.६ प्रतिशतले आर्थिक वृद्धिदर भएको छ ।

त्यसैगरी, कृषि क्षेत्रमा २.६ प्रतिशत, घरजग्गा कारोबार २.२ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रमा १.९ प्रतिशत, स्वास्थ्य क्षेत्रमा १.५ प्रतिशत, अन्य सेवा ०.८ प्रतिशत र पानी आपूर्ति क्षेत्रमा ०.१ प्रतिशतले आर्थिक वृद्धि देखिएको छ ।

तर, विकास निर्माणले गति लिन नसक्दा निर्माण क्षेत्र निराशाजनक देखिएको छ । दोस्रो त्रैमाससम्ममा आइपुग्दा निर्माण क्षेत्र सबैभन्दा कम २०.६ प्रतिशतले उत्पादनमा कमी देखिएको छ । निर्माण सामग्रीको आन्तरिक उत्पादन र आयातमा आएको गिरावटका साथसाथै निर्माण क्षेत्रमा भएको शिथिलताले यस क्षेत्रमा नकारात्मक असर परेको अधययनले देखिएको छ ।

यसैगरी खानी तथा उत्खनन् क्षेत्र १६.४ प्रतिशत, व्यापार ९.७ प्रतिशत, यातायात र औद्योगिक उत्पादन क्षेत्र ५.५ प्रतिशत, र उद्योग क्षेत्र ४.३ प्रतिशतले ऋणात्मक देखिएको छ ।

मौसमी प्रभाव समायोजित त्रैमासिकको विवरण हेर्दा हेर्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन, भदौ र असोज) भन्दा दोस्रो त्रैमासिक (कात्तिक, मङ्सिर र पुस)मा कुल २१ प्रकारका उद्योगहरु मध्ये पाँच वटाको उत्पादनमा वृद्धि दर ऋणात्मक भएको छ ।

बाँकी उद्योगहरुको उत्पादनमा धनात्मक रहने कार्यालयको अनुमान गरिएको छ । वित्तीय तथा बिमा सम्बन्धी क्रियाकलापहरुमा सबैभन्दा धेरै ४.०७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यसैगरी मुख्यतः स्वास्थ्यमा २.३ प्रतिशत, शिक्षामा २.२ प्रतिशत र कृषिको क्षेत्रमा १.६ प्रतिशतले सुधार आएर उत्पादनमा वृद्धि भएको छ ।

अर्कोतर्फ सोही अवधिमा खानी तथा उत्खनन् को क्षेत्रमा सबैभन्दा कम १८.५ प्रतिशतले उत्पादनमा कमी आएको छ । त्यसपछि आवास तथा खाद्यान्न, औद्योगिक उत्पादन, निर्माण, व्यापार र यातायातको क्षेत्रमा अघिल्लो त्रैमासिकको तुलनामा कमी आएको छ ।


क्लिकमान्डु