प्रतिबन्ध हटेसँगै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात बढ्यो



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध हटाएसँगै पैठरी बढ्न थालेको छ । सरकारले गत मंसिर मसान्तसम्म आयातमा प्रतिबन्ध गरेको थियो । त्यसयता भने सरकारले आयातमा कुनै कडाइ गरेको छैन ।

सरकारले आयातमा सहज बनाएसँगै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात मासिकरुपमा बढ्दै गएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

सरकारले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै गत बैशाख १३ गते विलासिताका वस्तुको पैठरीमा प्रतिबन्ध गरेको थियो । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनसहित अन्य विभिन्न वस्तुको पैठरीमा पूर्णबन्देज गरेको थियो । सरकारले आयातमा प्रतिबन्ध गरेसँगै यस क्षेत्रको व्यापार ठूलो असर पुगेको छ ।

नेपालले आयातमा प्रतिबन्ध गर्दा साउनमा २१ करोड १८ लाख रुपैयाँको १५६ वटा मात्रै गाडी आयात भएको थियो । तर, भदौमा भने एकै महिनामा ४५८ वटा गाडी नेपाल भित्रिएको थियो ।

त्यस्तै, असोजमा २५७ वटा, कात्तिकमा एक सय, मंसिरमा १३४, पुसमा १०९ वटा र माघमा २४० वटा भित्रिएका थिए । फागुनदेखि भने गाडीको आयात ह्वात्तै बढेको देखिन्छ । फागुनमा ४२२ वटा र चैतमा ४५१ वटा गाडी नेपाल भित्रिएका छन् । विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३ अर्ब ३२ करोड ६ लाख रुपैयाँको २३ सय २७ वटा सवारी साधन आयात गरेका छन् ।

आयात बढ्दै गएको देखिए पनि बजारमा भने माग नभएको व्यवसायीहरु बताउँछन् । व्यवसायीहरुका अनुसार अहिले आर्थिक संकुचनका कारण सवारी साधनको माग निकै कम भएकाले व्यापारमा उल्लेख्य कमी आएको बताउँदै आएका छन् ।

त्यस्तै, आर्थिक मन्दीले बजारमा गाडीको माग नहुँदा टोयटा ब्रान्डको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्सको व्यापार ५८.०८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ६ महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा ५८ प्रतिशतले घटेको हो ।

कम्पनीअनुसार आर्थिक मन्दीले गर्दा बजारमा माग नहुँदा व्यापारमा कमी आएको जनाएको छ । साथै, सरकारले उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै सरकारले पैठरीमा प्रतिबन्ध गरेकाले गाडी बिक्रेता कम्पनीको व्यापारमा धेरै प्रभाव परेको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा १ अर्ब ८६ करोड ३० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । सो अवधिमा कम्पनीले ९४ युनिट गाडी बिक्री गरेको छ । जबकी सन् २०२२ को सोही अवधिमा कम्पनीले ३०५ युनिट गाडी बिक्री गरेको थियो ।

नेपाली बजारमा निसान ब्रान्डको सवारी साधन बेच्ने पोयोनियर मोटोकर्प प्रालिको व्यापार ७२ प्रतिशतले घटेको छ । तरलता अभावका कारण बजारमा माग नहुँदा कम्पनीको व्यापार गत वर्षको ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा ७२ प्रतिशतले घटेको हो ।

कम्पनीअनुसार सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा लगाएको प्रतिबन्धले व्यापारमा उच्च प्रभाव परेको जनाएको छ । सन् २०२२ मा ५० प्रतिशतले बढेको व्यापारमा आयात प्रतिबन्धले गर्दा आम्दानीमा ठूलो धक्का पुगेको कम्पनीको भनाइ छ ।

सारदा ग्रुपद्वारा सञ्चालित कम्पनीले ७ महिनाको अवधिमा ८९ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । जबकी कम्पनीले सन् २०२२ मा ५ अर्ब ७१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो।

त्यस्तै, कम्पनीले सन् २०२१ मा ३ अर्ब ८१ करोड ५० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ५९ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब २३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

नेपालका लागि भारतबेन्च ब्रान्डको कमर्सियल सवारी साधनको आधिकारिक विक्रेता ओम्नी मोटर्सको व्यापार पनि सन् २०२२ को ६ महिनाको तुलनामा २०२३ को ६ महिनामा ७८ प्रतिशतले घटेको छ । कम्पनीअनुसार बजारमा माग नहुँदा व्यापार ७८ प्रतिशतले घटेको जनाएको छ ।

नेपाली बजारमा जेसीबी ब्रान्डमा निर्माण सम्बन्धी गाडी बिक्री गर्ने एमएडब्ल्यू अर्थ मोभरको व्यापार गत वर्षको ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा ५६ प्रतिशतले घटेको छ ।

नेपालले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २६ सीटभन्दा बढी क्षमताको ३२२ वटा गाडी आयात गरेका छन् । त्यस्तै, १५ सीटदेखि २५ सीटसम्मको १०७ वटा र ११ देखि १४ सीटसम्मको ३९ वटा आयात गरेका छन् ।

त्यस्तै, २ हजार सीसीभन्दा माथिको जीप, कार र भ्यान ३० वटा, एक हजार सीसी क्षमताको ३१२ वटा, एक हजार सीसीदेखि १५ सय सीसीसम्मको ९८९ वटा, १५ सय सीसीदेखि २ हजार सीसीसम्मको ३४ वटा, १५ सय सीसीदेखि २५ सय सीसीसम्मको २९५ वटा, २ हजार सीसीदेखि २५ सय सीसीसम्मको ६ वटा, १५ सय सीसीको १०८ वटा, २५ सय सीसीको ६३ वटा, २ हजार सीसीसम्मको १२ वटा र २ हजार सीसीभन्दा माथिको २३ वटा सवारी साधन नेपाल भित्रिएका छन् ।


क्लिकमान्डु