स्वर्णिम वाग्लेः अर्थशास्त्रमा अब्बल, राजनीतिमा सिकारु
काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्ले चैत १६ गते नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको खबर पढ्दा, हेर्दा र सुन्दा धेरैले हतपत्त विश्वास गरेनन् । कांग्रेसमा रहेर राम्रै राजनीतिक लाभ लिएका वाग्ले रास्वपाले तनहुँ १ मा उम्मेदवार बनाउने भएपछि शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवालाई गाली गर्दै रवि लामिछानेसँग कुम जोड्न पुगेका थिए ।
‘हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ वाग्लेले इतरपक्षका नेताहरुलाई पठाएको पत्रमा लेखेको मध्येको चोटिलो वाक्य हो यो । यसको अर्थ भिन्न समयमा भिन्न तरिकाले खोजौंला ।
डा. वाग्ले कांग्रेसबाट बाहिरिएर रास्वपामा प्रवेश गर्दैगर्दा उपनिर्वाचन आउन जम्मा २४ दिन बाँकी थियो । अन्तिम ७२ घण्टाको मौन अवधि बाहेकलाई गणना गर्ने हो भने वाग्लेले २१ दिन चुनाव प्रचार गर्न पाए । तर, माहोल बनाउन सक्यो भने चुनाव जित्न लामो समयको योगदान नचाहिने रहेछ भन्ने यो परिणामले सिकाएको छ ।
वाग्ले ३४ हजार ९१९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२१ मत पाए । एमालेका उम्मेदवार पूर्वआईजीपी सर्वेन्द्र खनाल ८ हजार ४८८ मतसहित तेस्रो स्थानमा पुगे ।
बर्सौंदेखि किल्ला बनाएर बसेका र स्थानीय स्तरमा जनताका पक्षमा काम गरिरहेको बताउने दलहरु २१ दिन चुनाव प्रचार गरेका वाग्लेसामु यति निरीह देखिनुका दुई कारण छन्:
पहिलो, वाग्लेको व्यक्तित्व र दोस्रो रवि लामिछानेप्रतिको क्रेज
वाग्लेले देउवा र आरजुको निरन्तरको अपमानले पार्टीमा बस्न नसकेको बताएका थिए । र, यो एक हदसम्म सत्य पनि हो ।
तर, विगतमा देउवाले नै वाग्लेलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए । त्यसपछि नै उनी आमरुपमा अर्थशास्त्रीका रुपमा परिचित भएका हुन् । देउवाले नै वाग्लेलाई कांग्रेस महासमिति सदस्य बनाएका थिए ।
गत वर्षको कांग्रेस महाधिवेशनमा वाग्ले क्याम्प परिवर्तन गरी शेखर-गगन पक्षमा खुलेपछि देउवा क्रुद्ध भएका थिए । योजना आयोगको उपाध्यक्ष छाडेर वाग्ले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको एसिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकारका रुपमा जागिर खान गए ।
त्यहाँ जागिर सकेर नेपाल फर्किएपछि उनले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन या गोरखाबाट सांसदको टिकट मागेका थिए । तर, क्याम्प परिवर्तन गरेको र असहज अवस्थामा देश छाडेर विदेशी संस्थामा जागिर खान गएको भन्दै रिसाएका देउवाले वाग्लेलाई टिकट दिएनन् ।
शेखर-गगन क्याम्पमा लागेर राजनीतिक सक्रियता बढाएका वाग्ले अर्थमन्त्रीका दाबेदार थिए । तर, देउवाले डा. प्रकाशशरण महतलाई अर्थमन्त्री बनाउने निश्चित भएपछि वाग्ले पार्टी छोड्ने निर्णयमा पुगेका थिए । क्याम्प मात्र होइन, पार्टी नै परिवर्तन गरेका उनको संसद यात्रा निकै सहज बन्यो
वाग्ले १४ हजार ७९८ मतान्तरले विजयी हुँदा आफ्नो किल्ला ठान्ने कांग्रेस र एमाले नमज्जाले खुम्चिएका छन् ।
डा. वाग्ले गोरखाको बुङकोटमा २०३१ सालमा जन्मेका हुन् । उनले २०४६ सालमा काठमाडौंको बूढानीलकण्ठ स्कुलबाट एसएलसी गरेका हुन् । त्यस्तै लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक गरेका छन् ।
अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनी कामको सिलसिलामा अस्ट्रेलिया पुगे । त्यहीँबाट विद्यावारिधि उपाधि पनि हासिल गरे ।
संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सी र विश्व बैंकमा गरी उनले करिब २० वर्ष विदेशमा बिताए । २०७२ पछि नेपाल आएर पोस्ट डिजास्टर निड एसेस्मेन्ट (पीडीएनए)को उप-प्रमुख भएर काम गरे । त्यही बीच (सन् २०१९) मा डा. वाग्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को दक्षिण एसिया सल्लाहकार बनेर अमेरिका गए ।
उनले विश्व बैंकको मुख्यालय, वासिङ्टन डीसीमा वरिष्ठ अर्थशास्त्रीको रुपमा काम गरेका थिए । त्यस्तै राष्ट्र संघीय विकास कार्यक्रममा नीति विश्लेषकको रुपमा काम गरेको अनुभव पनि उनीसँग छ ।
सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका ज्ञाता डा. वाग्ले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा राष्ट्रिय योजना आयोगको सदस्यसमेत बनेका थिए । २०७४ मा देउवा प्रधानमन्त्री बनेपछि उनलाई योजना आयोगको उपाध्यक्ष दिइएको थियो ।
देउवाले २०७५ मंसिरमा महाधिवेशन तथा महासमिति सदस्य मनोनित गरेर कांग्रेसको राजनीतिमा ल्याए । त्यसपछि उनी लगातार कांग्रेसमा सक्रिय थिए । मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसको घोषणापत्र बनाएका वाग्लेले सबैतिरबाट चेपुवामा परिरहेका बेला रास्वपामा बलियो स्थान बनाएका छन् ।
विश्वभर संकलन गरेको अनुभव स्वदेशमै उपयोग गर्ने उनको प्रण थियो । त्यो प्रण पूरा गर्न वाग्लेले नवगठित रास्वपा र लामिछानेलाई वैशाखी बनाएर बाटो खोलेका छन् । तनहुँ-१ का मतदाताले त्यसमा साथ दिएका छन् । भर्खर राजनीतिमा पाइला राखेका वाग्ले आफ्नो विद्वता र रवि लामिछानेको क्रेजले जुन उचाइमा पुगेका छन्, त्यसको मान राख्न सके अवश्य सफल हुन्छन्।