बैंकको नाफा प्रभावित हुँदा ९ महिनामै सरकारले गुमायो सवा अर्ब कर



काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनका कारण बैंकहरुको नाफा प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर सरकारले संकलन गर्ने करमा देखिएको छ । ०७८ चैतकोभन्दा ०७९ चैतमा सरकारले वाणिज्य बैंकहरुबाट संकलन गर्ने आयकर ५.५९ प्रतिशत अर्थात् १ अर्ब १८ करोड ४९ लाख रुपैयाँले घटेको छ ।

०७८ चैत मसान्तमा वाणिज्य बैंकहरुले २१ अर्ब १८ करोड २४ लाख रुपैयाँ आयकर तिरेका थिए । तर, ०७९ चैत मसान्तमा बैंकहरुले १९ अर्ब ९९ करोड ७५ लाख ७६ हजार रुपैयाँ मात्रै आयकरबापत तिरेका छन् ।

अर्थतन्त्रमा देखिएको संकुचनका कारण ऋणीहरुले ऋण तिर्न नसक्दा बैंकहरुको खराब कर्जा बढेको र त्यसले नाफा प्रभावित हुँदा सरकारलाई तिर्ने कर पनि घटेको नेपाल बैंकर्स संकका उपाध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् ।

०७९ असार मसान्तमा १.२ प्रतिशत रहेको बैंकहरुको खराब कर्जा अहिले बढेर ३.००८ प्रतिशतमा पुगेको छ । ५ वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ भने ३२ अर्ब रुपैयाँ बढी सावाँ र २० अर्ब रुपैयाँको हाराहारीमा ब्याज उठ्न सकेको छैन । जसले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतिहरु भोग्नुपर्ने अवस्था देखिएको कोइरालाले बताए ।

बैंक तथा वित्तीय क्षेत्रबिरुद्ध भइरहेको अराजक आन्दोलनले अझ चुनौति बढेको भन्दै सरकारले तत्काल बैंक बिरुद्धको अराजक आन्दोलन रोक्न नसके कठिन अवस्था सिर्जना हुनेतर्फ ध्यानाकर्षण गराए ।

नाफा प्रभावित भएपछि ९ वटा बैंकले सरकारलाई तिर्ने आयकर घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको ०७९ चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कृषि विकास बैंकको ४८ करोड ४५ लाख, सिद्धार्थ बैंकको २७ करोड ५२ लाख, कुमारी बैंकको २२ करोड ८८ लाख, सिटिजन्स बैंकको ११ करोड ९८ लाख, प्राइम बैंकको १२ करोड १५ लाख, प्रभु बैंकको ५ करोड ३२ लाख, सनराइज बैंकको ४ करोड ५९ लाख, नेपाल बैंकको १ करोड ६० लाख रुपैयाँ आयकर घटेको छ ।

कोइरालाले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको करिब २५ देखि ३० प्रतिशत नाफा घट्ने दाबी गरे । उनले चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रले तिर्ने ८ देखि १० अर्ब रुपैयाँको हाराहारीमा कर घट्ने बताए । सरकारले कर उठाउन नसक्दा ऋण काढेर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आएको छ ।

उनले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गर्नभन्दा पनि बैंकबिरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतिहरु थपिएको बताए ।

कसले कति आयकर तिरे ?

चालु आर्थिक वर्षको ९ महिना अर्थात् ०७९ चैत मसान्तसम्ममा नविल बैंकले सरकारलाई आयकरबापत २ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ आयकर तिरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७५ करोड ६१ लाख ७४ हजार रुपैयाँले बढी हो । नविल बैंक राज्यलाई सबैभन्दा धेरै कर तिर्ने बैंक बन्न सफल भएको छ ।

त्यसैगरी, एनआइसी एशिया बैंकले चालु आवको ९ महिनामा १ अर्ब ७२ करोड रुपैयाँ आयकर तिरेको छ । यो गत वर्षको सोही अवधिको भन्दा १७ करोड ५८ लाख रुपैयाँले बढी हो ।

सरकारलाई बढी कर तिर्ने तेस्रो बैंक बन्न सफल भएको छ ग्लोबल आइएमइ बैंक । ग्लोबल आइएमइले चालु आवको ९ महिनामा १ अर्ब ७० करोड १६ लाख रुपैयाँ कर तिरेको छ । यो गत वर्षको सोही अवधिकको भन्दा २४ करोड ९० लाख रुपैयाँले धेरै हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ५३ करोड २९ लाख रुपैयाँ कर तिरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४१ करोड १४ लाख ५२ हजार रुपैयाँले बढी हो ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ३० करोड ५४ लाख रुपैयाँ आयकर तिरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा २४ करोड ३८ लाख रुपैयाँले बढी हो ।

त्यसैगरी, एनएमबि बैंकले १ अर्ब १३ करोड २६ लाख रुपैयाँ आयकर तिरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १ करोड ११ लाख रुपैयाँले बढी हो ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ११ करोड ८६ लाख रुपैयाँ कर तिरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४२ करोड ५ लाख रुपैयाँले बढी हो ।

त्यसैगरी, एभरेष्ट बैंकले १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ कर तिरको छ । यो गत आर्थिक वर्षको भन्दा ४० करोड ७० लाख ३२ हजार रुपैयाँले बढी हो ।

त्यस्तै, प्राइम बैंकले १ अर्ब ५ करोड ६३ लाख रुपैयाँ कर तिरेको छ । यो गत वर्षको सोही अवधिको भन्दा १२ करोड १४ लाख ७८ हजार रुपैयाँले कम हो ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार १२ वटा बैंकले तिरेको कर १ अर्ब रुपैयाँभन्दा कम रहेको छ । नेपाल एसबिआई बैंकले ७७ करोड २८ लाख ३७ हजार रुपैयाँ कर तिरेको छ । यो गत वर्षको सोही अवधिको भन्दा २१ करोड ५५ लाख २८ हजारले बढी हो ।

यस्तै हिमालयन बैंकले ७६ करोड २३ लाख ५९ हजार रुपैयाँ कर तिरेको छ । यो गत वर्षको भन्दा १६ करोड ४८ लाख ८० हजार रुपैयाँले बढी हो ।

प्रभु बैंकले भने राज्यलाई तिर्ने करको आकार घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ७७ करोड ६८ लाख ८ हजार रुपैयाँबाट घटेर ५ करोड ३२ लाख ५० हजार रुपैयाँले घटेर ७२ करोड ३५ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

सानिमा बैंकले राज्यलाई ७१ करोड ८६ लाख ९८ हजार रुपैयाँ कर तिरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६ करोड १५ लाख ९२ हजारले बढी हो ।

सिद्धार्थ बैंकले ९ महिनाको अवधिमा ६४ करोड ७३ लाख ७९ हजार रुपैयाँ कर तिरेको छ । गत आवको सोही अवधिको तुलनामा २७ करोड ५२ लाख १८ हजार रुपैयाँले कम हो ।

यस्तै माछापुच्छे« बैंकले नौ महिनाको अवधिमा ५७ करोड ९४ लाख ८ हजार रुपैयाँ कर तिरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ८ करोड ५६ लाख ३७ हजार रुपैयाँले कम हो ।

कुमारी बैंकले ५५ करोड ७८ लाख ५४ हजार रुपैयाँ कर तिरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २२ करोड ८७ लाख ९८ हजार रुपैयाँले कम हो ।

सिटिजन्स बैंकले ५४ करोड ७७ लाख ३५ हजार रुपैयाँ कर तिरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ करोड ९८ लाख ११ हजार रुपैयाँले कम हो ।

सनराइज बैंकले ५० करोड १८ लाख ४४ हजार रुपैयाँ कर तिरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४ करोड ५९ लाख ५८ हजार रुपैयाँले कम हो ।

लक्ष्मी बैंकले सरकारलाई ४९ करोड ७० लाख १५ हजार रुपैयाँ कर तिरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ८ करोड ८८ लाख ४५ हजार रुपैयाँ बढी हो ।

यस्तै नेपाल बैंकले राज्यलाई ४५ करोड ५४ लाख ४६ हजार रुपैयाँ कर तिरेको छ । गते गत आवको सोही अवधिको तुलनामा १ करोड ६० लाख ५३ हजार रुपैयाँले कम हो ।

त्यसैगरी, कृषि विकास बैंकले राज्यलाई तिर्ने कर गत आवको सोही अवधिको तुलनामा ४८ करोड ४५ लाख २८ हजार रुपैयाँ घटेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले राज्यलाई ४१ करोड ५४ लाख ४६ हजार रुपैयाँ कर तिरेको छ ।


क्लिकमान्डु