आर्थिक मन्दीको असरः बैंकहरुको खराब कर्जा १४७.५४ प्रतिशतले बढ्यो, सबैभन्दा बढी हिमालयनको



काठमाडौं । आर्थिक मन्दीको असर बैंकमा देखिएको छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण कर्जा असूली हुन नसक्दा त्यसको प्रत्यक्ष असर बैंकको वित्तीय विवरणमा परेको देखिएको छ ।

सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको खराब कर्जा बढेको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा सबै बैंकको खराब कर्जा बढेको हो ।

सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको बढेको छ । गत आवको चैत मसान्तको तुलनामा बैंकको खराब कर्जा ३६०.६० प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तमा बैंकको खराब कर्जा ०.९९ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर ४.५६ प्रतिशत पुगेको छ ।

धेरै खराब कर्जा हुने बैंकमा कृषि विकास बैंक, नेपाल बैंक रहेका छन् । कृषि विकास बैंकको खराब कर्जा ८७.५ प्रतिशतले बढेर ४.३५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.३२ प्रतिशत रहेको थियो । यस्तै नेपाल बैंकको खराब कर्जा १०१.९४ प्रतिशतले बढेर ४.१६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.०६ प्रतिशत रहेको थियो ।

तीन वटा बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा बढी रहेको छ । ३ प्रतिशत भन्दा बढी खराब कर्जा हुने बैंकमा १० वटा बैंक रहेका छन् । बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय अवस्था अनुसार सिटिजन्स बैंकको खराब कर्जा १३१.३९ प्रतिशतले बढेर ३.९८ प्रतिशत पुगेको छ । यस्तै कुमारी बैंकको खराब कर्जा ३१३.५४ प्रतिशतले बढेर ३.९७ प्रतिशत पुगेको छ । ग्लोबल आइएमई बैंकको खराब कर्जा १७३.१० प्रतिशतले बढेर ३.९६ प्रतिशत, सिद्धार्थ बैंकको खराब कर्जा २२६.४४ प्रतिशतले बढेर ३.९५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकको ७९.०९ प्रतिशतले बढेर ३.९४ प्रतिशत पुगेको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २६.३८ प्रतिशतले बढेर ३.८८ प्रतिशत, नबिल बैंकको २३९.४७ प्रतिशतले बढेर ३.८७ प्रतिशत, सनराइज बैंकको १६४.२३ प्रतिशतले बढेर ३.६२ प्रतिशत, प्रभु बैंकको १८७.६० प्रतिशतले बढेर ३.४८ प्रतिशत, प्राइम बैंकको खराब कर्जा २२५.५३ प्रतिशतले बढेर ३.०६ प्रतिशत पुगेको छ ।

बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार एनएबि बैंकको खराब कर्जा १०२.७३ प्रतिशतले बढेर २.९६ प्रतिशत, माछापुच्छ«े बैंकको खराब कर्जा १७२.४१ प्रतिशतले बढेर २.३७ प्रतिशत, सानिमा बैंकको ४९७.३६ प्रतिशतले बढेर २.२७ प्रतिशत, लक्ष्मी बैंकको ६८.५१ प्रतिशतले बढेर १.८२ प्रतिशत खराब कर्जा रहेको छ । १ प्रतिशत भन्दा कम खराब कर्जा ४ वटा बैंकको मात्रै रहेको छ । नेपाल एसबिआई बैंकको खराब कर्जा ५९२.८५ प्रतिशतले बढेर ०.९७, स्टयान्डर्ड चार्टर्ड बैंकको १५० प्रतिशतले बढेर ०.९०, एनआईसी एशिया बैंकको ६६.६६ प्रतिशतले बढेर ०.८५ र एभरेष्ट बैंकको खराब कर्जा १६९.२३ प्रतिशतले बढेर ०.७० प्रतिशत पुगेको छ । २१ वटा वाणिज्य बैंकको खराब कर्जा औषतमा २.४७ प्रतिशत रहेको छ ।

बैंकहरुले प्रवाह गरेको कर्जामध्ये साँवा ब्याज भुक्तानी गर्ने भाखा नाघेको एक वर्ष नपुगेको कर्जालाई खराब कर्जाको रुपमा लिइन्छ ।

बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जालाई केन्द्रीय बैंकले वर्गीकरण गरी प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ । कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १ प्रतिशत प्रोभिजन गर्नुपर्ने, १ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यो कर्जालाई वाचलिष्टमा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । यस्तै ३ महिनादेखि ६ महिनासम्म कर्जाको सावा ब्याज भुक्तानी नभएमा कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।

ऋणीले कर्जा लिएको ६ महिनादेखि १ वर्षसम्म साँवा ब्याज भुक्तानी नगरेमा त्यस्तो कर्जालाई शंकास्पद कर्जामा वर्गीकरण गरी कर्जाको ५० प्रतिशत प्रोभिजन बैंकले गर्नुपर्छ ।

१ वर्षभन्दा बढीको साँवा ब्याज भुक्तानी नभएमा त्यसमा शत प्रतिशत प्रोभिजन बैंकले गरेर उक्त कर्जालाई खराब कर्जामा राख्नु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।


क्लिकमान्डु