अर्थ मन्त्रालयमा महासंघ अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको सम्बन्ध ‘छताछुल्ल !’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको सम्बन्ध अर्थ मन्त्रालयमा छताछुल्ल भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेट्न पुगेका बेला अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठबीच सार्वजनिक स्थलमै भनाभन भएको हो ।

कोषाध्यक्षको चुनावको विषयलाई लिएर अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच सार्वजनिक रुपमै चर्काचर्की भएको देख्दा अर्थ मन्त्रालयकै कर्मचारी लज्जित भएका थिए ।

‘भर्खरै चुनाव सकिएर आउनुभएका उहाँहरु सँगै मिलेर आउनुहुन्छ र एउटै कुरा राख्नुहुन्छ भन्ने सोचेका थियौं,’ ढकाल र श्रेष्ठको भनाभन देखेका अर्थका एक कर्मचारी भन्छन्, ‘तर विडम्बना उहाँहरुले मन्त्रालयको ढोकाभित्र छिर्नुअघि र निस्केपछि पार्किङमा समेत भनाभन गरेर हामीलाई पनि निराश बनाउनुभयो ।’

सोमबारको चर्काचर्कीलाई ढकाल र श्रेष्ठ दुवै भने सामान्य छलफल मात्रै भएको दाबी गर्छन् । तर, प्रत्यक्षदर्शीहरु भने जुन स्वाभाविक हुनै नसक्ने बताउँछन् ।

कोषाध्यक्षको चुनाव त बहाना मात्रै, इगो वरिष्ठ उपाध्यक्षको चुनावको

महासंघको विधानअनुसार पदाधिकारीसहित निर्वाचित कार्यकारिणी सदस्यहरुले कोषाध्यक्ष चयन गर्नुपर्ने व्यवस्था छ । जसअनुसार आइतबारको पहिलो कार्यकारिणी बैठकले कोषाध्यक्ष टुंगो लगाउने कार्यक्रम थियो ।

आइतबार कोषाध्यक्षका लागि ४ जनाले आकांक्षा देखाएपछि अध्यक्ष ढकालले सहमतिमा चयन गर्नुपर्ने प्रस्ताव अघि सारे । अध्यक्षले नै सहमतिको प्रस्ताव गरेपछि सोमबार बिहान ९ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरियो ।

सहमति जुटाउने उद्देश्यले ढकालले आफ्नो निवासमा रात्रिभोजको आयोजना गरे । रात्रिभोजमा भित्री कोठामा बसेर सहमतिको प्रयास गरियो । उक्त छलफलमा अध्यक्ष ढकालले कोषाध्यक्षका आकांक्षी निरक केसी र प्रबलजंग पाण्डेलाई आधा-आधा कार्यकाल पदमा रहन प्रस्ताव गरे ।

अध्यक्ष ढकाल पहिलो आधा कार्यकाल केसीलाई कोषाध्यक्ष बनाउन चाहन्थे । केसी ढकालनिकट हुन् । आफूले खुलेर सहयोग गरेका एक मात्र पदाधिकारी एसोसिएट उपाध्यक्ष भरत आचार्यले चुनाव हारेपछि अध्यक्ष ढकाल आफूलाई सजिलो हुने कोषाध्यक्ष छान्न चाहन्थे ।

तर, ढकालको उक्त प्रस्ताव कोषाध्यक्षका अर्का आकांक्षी प्रबलजंग पाण्डेले सिधै अस्वीकार गरे । पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको बलियो साथ थियो । किनभने, श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा जिताउन पाण्डेले ‘इन्स्ट्रुमेन्टल’ अर्थात् यान्त्रिक भूमिका खेलेका थिए ।

सहमतिका लागि भएको उक्त छलफलमा अध्यक्ष ढकालको प्रस्ताव वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सिधै अस्वीकार मात्र गरेनन् आगामी चुनावमा प्रबलजंग पाण्डे आफ्नो टिमबाट वरिष्ठ उपाध्यक्षमा चुनाव उठ्ने प्रस्ट संकेतसमेत गरे । र, अहिले कोषाध्यक्षको चुनावमा पाण्डे विजयी हुने जिकिरसमेत गरे ।

‘चन्द्रजीले निरकजीलाई मात्रै च्याप्नुभयो भने अन्जनजीले प्रबललाई मात्रै, त्यसैले सहमति हुन सकेन,’ छलफलमा उपस्थित एक पदाधिकारीले भने ।

राति ११ बजेसम्म भएको छलफलमा सहमति नजुटेपछि बिहान चुनाव हुन्छ भन्ने थियो । तर, अध्यक्ष ढकालले बिहान फेरि सहमति खोज्दै प्रबलसँग ‘वान अन वान’ वार्ता गरे । महासंघका महानिर्देशक गोकर्ण अवस्थीलाई फोन गरेर अध्यक्ष ढकालले अर्को सूचना नआएसम्मका लागि सोमबार ९ बजे गर्ने भनिएको कोषाध्यक्षको निर्वाचन स्थगित भएको सन्देश सबै कार्यकारिणीलाई पठाउन निर्देशन दिए ।

अध्यक्षको निर्देशनबमोजिम महानिर्देशक अवस्थीले पनि महासंघको सचिवालयमार्फत् ‘अर्को सूचना नआएसम्मका लागि कोषाध्यक्षको निर्वाचन स्थगित भएको’ सन्देश पठाए ।

अनिश्चितकालका लागि कोषाध्यक्षको चुनाव सरेको सूचना मोबाइलमा आउनेबित्तिकै वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आक्रोशमा आइसकेका थिए । चुनाव सारेर अध्यक्ष ढकालले आफू र आफ्नो टिमलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको उनलाई आभाष भयो ।

केही दिनअघि भएको वरिष्ठ उपाध्यक्षको चुनावमा अध्यक्ष ढकालले सहयोग नगरेकोमा श्रेष्ठ उनीसँग रिसले चुर भएका थिए । तटस्थताको नीति अपनाएका ढकाललाई वरिष्ठ उपाध्यक्षमा भित्रभित्रै उमेशलाल श्रेष्ठलाई मात्रै सहयोग गरेको आरोप अन्जन श्रेष्ठ र रामचन्द्र संघाई पक्षको छ ।

अध्यक्ष ढकालको आफूले भनेको मान्छेको नाममा सहमति हुनुपर्ने अडान वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई मन परेको थिएन । अझ सोमबार बिहान लाजिम्पाटस्थित ले हिमालय होटलमा आफूनिकट कार्यकारिणी सदस्यलाई बोलाएर अध्यक्ष ढकालले कोषाध्यक्षमा निरक केसीलाई सहयोग गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको भन्ने हल्ला श्रेष्ठको कानमा परिसकेको थियो । यही बेला कोषाध्यक्षको चुनाव सार्ने खबर श्रेष्ठका लागि आगोमा घ्यू सरह भयो ।

अर्थमन्त्री महतलाई साढे ११ बजे महासंघको नवनिर्वाचित टोलीले भेट्ने कार्यतालिका थियो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ मन्त्रालय पुग्दा अध्यक्ष ढकाल त्यहीँ थिए । मन्त्रालयको ढोकामा उनीहरुको भेट भयो । भेट्नेबित्तिकै उपाध्यक्ष श्रेष्ठले अध्यक्ष ढकाललाई चुनाव कहिले हुन्छ ? भनेर प्रश्न गरिहाले ।

ढकालले ‘हुन्छ हुन्छ’ भन्ने मात्रै भने । कहिले भन्ने जवाफ दिएनन् ।

ढकालको जवाफले श्रेष्ठको चित्त बुझेन र अर्को प्रश्न गरे, ‘चुनाव नै नगर्न खोज्नुभएको हो ?’

उनले ढकालको नियतमाथि नै आशंका गरे ।

प्रत्यक्षदर्शी अर्थ मन्त्रालयका एक कर्मचारीका अनुसार वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अलि आक्रामक देखिए ।

ढकाल ‘चुनाव हुन्छ, हुन्छ’ भन्दै तर्किने प्रयास गरे ।

एक घण्टाको पर्खाइपछि महासंघको टोलीले अर्थमन्त्रीसँग भेट गर्‍यो । अर्थमन्त्रीसँगको छलफलमा पनि अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठले व्यक्त गरेको विचार बाझिएको थियो । अर्थात् फरक-फरक भ्वाइस थियो । यो देखेर महासंघका नवनिर्वाचित कार्यकारिणी सदस्यहरुले खासखुससमेत गरे ।

फर्किने बेला अन्जन श्रेष्ठ पार्किङमा रहेको आफ्नो गाडी चढ्न लागेका थिए । ढकालका तर्फबाट उनलाई बोलावट भयो । ढकाल श्रेष्ठलाई सम्झाएर संयम बनाउन खोजेजस्तो गरिरहेका थिए । तर, श्रेष्ठले पार्किङमा पनि प्रश्न गर्न छाडेनन्, ‘निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेर कोषाध्यक्षविहीन बनाउन लागेको हो ? यो त राम्रो भएन नि !’

‘त्यस्तो होइन, त्यस्तो होइन’ भन्दै ढकाल सम्झाउन खोजिरहेका थिए ।

उनीहरुको स्वर ठूलो हुँदै गयो । अर्थ मन्त्रालयका कर्मचारी र महासंघका कार्यकारणी सदस्यहरु रमिते बने ।

यसलाई सार्वजनिक स्थलमै वरिष्ठ उपाध्यक्षले आफूलाई अपमानित गरेको रुपमा अध्यक्ष ढकालले लिए । र, केसीलाई जिताउन मरिमेटेर लागे । अध्यक्ष ढकाल आक्रामक रुपले लागेपछि कोषाध्यक्षको परिणाम पनि उनैले समर्थन गरेका केसीको पक्षमा आयो । केसीले ३९ भोट ल्याउँदा पाण्डेले २८ मात्रै ल्याए ।

अहिले कोषाध्यक्ष बनेर आगामी कार्यकालमा वरिष्ठ उपाध्यक्ष उठ्ने यात्रामा पाण्डेलाई ठेस लाग्यो । पूर्वअध्यक्ष भवानी राणाका अति नै विश्वासपात्र मानिने पाण्डे पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेका छोरा हुन् । आफूलाई महासंघको राजनीतिका निकै खत्रा खेलाडी ठान्ने उनी यसपटक नराम्रोसँग चिप्लिए ।

पहिलो, उनले खुलेर सहयोग गरेका एसोसिएट उपाध्यक्ष भरत आचार्यलाई जिताउन सकेनन् । दोस्रो, अन्जनको टिम छाडेर एसोसिएट उपाध्यक्षकी उम्मेदवार ज्योत्स्ना श्रेष्ठ रामचन्द्र संघईको टिममा गएपछि अन्जनको टिमबाट एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको २४ घन्टा नपुग्दै भरतलाई समर्थन गर्दै पछि हटेका थिए ।

पृष्ठभूमि जे भए पनि निजी क्षेत्रको सर्वोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीचको सार्वजनिक स्थलमै भएको चर्काचर्कीले आगामी ३ वर्ष उनीहरुले कसरी महासंघ हाँक्लान् ? सँगै मिलेर निजी क्षेत्रका एजेन्डा जोडतोडका साथ उठाउलान् कि झगडामा अल्झिएर समय बर्बाद पार्लान् ? भन्ने संशय पैदा भएको छ ।

त्यो हेर्नका लागि अरु केही गर्नु पर्दैन- विधान संशोधनको तरबार नै काफी छ ।

वरिष्ठ उपाध्यक्षको दोस्रो चरणको चुनावमा अन्जनलाई समर्थन गर्दै उमेशलाल श्रेष्ठले महासंघलाई एक भएको देखाउन आग्रह गरेका थिए । उनले भनेका थिए, ‘मेरो एउटा अनुरोध छ, २०८० सालको वैशाख २ गतेदेखि एक भएको महासंघ देखाउनुस् । टिंगोटांगो महासंघ नदेखाउनुस् । एउटा उपाध्यक्षले बोल्दै छ, महासंघले त्यसको विरुद्धमा प्रतिक्रया देखाउँदै छ । हाँसको चाल न कुखुराको चाल नदेखाउनुस् । तपाईंहरु पदाधिकारीको एकमत होस् त्यहाँ । पदाधिकारी चारतिर फर्किएपछि हामीले के आश गर्ने ? महासंघका पदाधिकारी ७ जनाको कुरा मिल्दैन भने जिल्ला/नगर, वस्तुगत कसरी सम्हाल्नुहुन्छ ?’

उमेशलालले गरेजस्तो प्रश्न चन्द्र र अन्जनलाई बाँकी दिनमा अरुले गर्नु नपरोस् ।


क्लिकमान्डु