विजय डिष्टिलरीको व्यापार २२ प्रतिशतले घट्यो



काठमाडौं । विभिन्न प्रकारका भोड्का बेच्ने जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिजअन्तर्गतको विजय डिष्टिलरी प्रालिकाे व्यापार २२.१४ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २२.१४ प्रतिशतले घटेको हो ।

मदिराजन्य क्षेत्रमा वादशाहको रुपमा स्थापित जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिजकाे सहायक कम्पनी विजय डिष्टिलरी प्रालि हो । चार दशकदेखि मदिराजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२२ मा २ अर्ब ८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब ६७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२० मा १ अर्ब ५४ करोड ४० लाख रुपैयाँ, सन् २०१९ मा २ करोड ५० लाख रुपैयाँ र सन् २०१ मा ३ अर्ब ६६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले विभिन्न प्रकारका ११ ब्रान्डको मदिरा बेच्दै आएको छ । ब्राउन र ह्वाइट सेग्मेन्टको पेय पदार्थ बिक्री वितरण गर्दै आएको कम्पनीले ६ प्रकारका ब्राउन स्पिरिटमध्ये ४ वटा स्वदेशी उत्पादन र एउटा अन्तर्राष्ट्रिय ब्रान्डको ह्वाइट स्पिरिट बेच्दै आएको छ ।

कम्पनीको प्रख्यात ब्रान्ड रुस्लान भोड्का रहेको छ । सन् १९७३ देखि रुस्लान भोड्का बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२३ को फेब्रुअरीदेखि अन्तर्राष्ट्रिय चर्चित ब्रान्ड स्की भोड्का पनि बिक्री वितरण थालेको छ । साथै, अन्य विभिन्न प्रकारका मदिराजन्य वस्तु उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय उत्पादक कम्पनीहरुसँग सहकार्य गरेर नेपाली बजारमा कारोबार गर्दै आएको छ । देशभर २४० भन्दा बढी सब–डिलर रहेको कम्पनीका अध्यक्ष विजयकुमार शाह हुन् ।

कम्पनीले अहिले दुई वटा ब्रान्डको मदिराबाट उच्च व्यापार गर्दै आएको छ । कम्पनीअनुसार आम्दानी गरेकोमध्ये ब्लू डाइमन्ड जिन र गोल्डेन वोक ब्लेन्डेड ह्वीस्की ब्रान्डको मदिराले मात्रै करिब ६० देखि ८० प्रतिशत हिस्सा ओगटेको छ ।

सन् २०२१ मा दुई वटा ब्रान्डको हिस्सा ६२ प्रतिशत रहेकोमा सन् २०२२ मा ८८ प्रतिशत पुगेको छ । यता रुस्लान भोड्काको व्यापार भने सन् २०१९ देखि ह्वात्तै घटेको कम्पनीले जनाएको छ ।

रुस्लान भोड्काको व्यापार घटेसँगै नाफामा उच्च कमी आएको कम्पनीको जनाएको छ । रुस्लान भोड्काबाट उच्च नाफा कमाउँदै आएको कम्पनीको पछिल्ला दिनहरुमा उक्त मदिराको व्यापार घटेसँगै नाफामा पनि कमी आएको हो ।

त्यसैगरी, कम्पनीले बजारको मागअनुसार दुईवटा स्वदेशी ब्रान्डको मदिरा उत्पादन सुरु गरेको छ । कम्पनीले कालापत्थर ह्वीस्की र स्वान ब्रान्डको भोड्का उत्पादन गरिरहेको छ ।

सन् २०२३ को ६ महिनाको अवधिमा सन् २०२२ को तुलनामा १६ प्रतिशत केस कम बिक्री हुँदा व्यापार भने २२ प्रतिशतले घटेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् आयात शुल्क बढाएको छ । जसले गर्दा भन्सार शुल्क बढाउँदा कम्पनीको व्यापारमा असर पुगेको छ । सरकारले उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको भन्दै आयातमा गरेको कडाइ र प्रतिबन्धले गर्दा पनि व्यापारमा उच्च प्रभाव परेको कम्पनीले जनाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९१ करोड १६ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु