देशलाई औद्योगीकरणमा लैजाने मेरो मूल ध्येय हो, पहिलो चरणमै चुनाव जित्छुः रामचन्द्र संघई



नेपालको प्रतिष्ठित व्यापारिक घराना त्रिवेणी ग्रुपका सञ्चालक रामचन्द्र संघई निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका एशोसिएट उपाध्यक्ष हुन् । दुई दशकअघि केन्द्रीय सदस्यका रूपमा महासंघ प्रवेश गरेका उनी यही चैत अन्तिम साता हुने निर्वाचनमा संघई बरिष्ठ उपाध्यक्षका उम्मेद्वार पनि हुन् । महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था छ । त्यस अर्थमा उनी महासंघको अर्को कार्यकालको अध्यक्षका प्रत्यासी हुन् । देशमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारीसमेत दिँएको छ । चुनावका विषयमा केन्द्रित रहेर क्लिकमान्डुका लागि पुष्प दुलालडीआर आचार्यले संघईसँग गरेको कुराकानीः

महासंघका भावी अध्यक्ष चन्द्र ढकालले तपाईंहरु तीनैजना बरिष्ठ उपाध्यक्षका उम्मेद्वारलाई एकैठाउँ राखेर सहमतिका लागि प्रयास गर्नुभएको छ । चन्द्रजीको प्रस्ताव के थियो र उक्त प्रस्तावलाई तपाईंले कसरी लिनुभयो ?

चन्द्रजीले गत बुधबार हामी तीनैजना बरिष्ठ उपाध्यक्षका उम्मेदवारलाई बोलाउनुभएको थियो । हामी सौहाद्र्रपूर्ण वातावरणमा करिब आधा घण्टा बस्यौं । उहाँले राखेको प्रस्ताव राम्रो थियो । उहाँले जे इनिसिएशन लिनुभएको छ । त्यो अत्यन्तै सकारात्मक हो । उहाँले ‘६ वर्षमा तीनैजना २-२ वर्षका लागि अध्यक्ष बन्न सक्ने गरी विधान संशोधन गर्छु, तपाईंहरु सहमतिमा आउनुस्’ भन्नुभयो । त्यसमा मैले आफ्नो कुरा स्पष्टसँग राखेँ- ‘महासंघ निजी क्षेत्रको यति ठूलो छाता संगठन, जो जिल्ला, नगरको आस्थाको केन्द्र हो, त्यसमा २ वर्षको कार्यकाल कम हुन्छ । नयाँ आउने नेतृत्वलाई बुझ्नै ६-७ महिना लाग्छ । बाँकी डेढ वर्षमा उसले के काम गर्ने ? त्यसकारण महासंघका लागि ३ वर्षको कार्यकाल नै एकदमै उपयुक्त छ ।’ प्रत्यक्ष चुनावको कुरा पनि निस्कियो । त्यसमा पनि मैले ‘अहिले मूलतः वरिष्ठ अध्यक्षको चुनाव भइरहेको छ । त्यसपछि उसलाई अध्यक्षले के–कसरी काम गरिरहेको छ, नेतृत्वले कसरी काम गर्ने भन्ने जस्ता सबै कुराको अनुभव हुन्छ । त्यसपछि वरिष्ठ उपाध्यक्ष खारिन्छ । त्यसकारण विधानको अहिलेको व्यवस्था नै ठिक छ’ भन्ने कुरा राखेँ । र, अरु साथीहरुको पनि यस्तै यस्तै धारणा थियो ।

चन्द्र ढकालले सहमतिका लागि गर्नुभएको प्रयासअनुसार अघि बढ्नसक्ने ठाउँ रह्यो कि रहेन ?

त्यो हाम्रो पहिलो बैठक थियो । त्यतिमै सहमति भइहाल्छ जस्तो लागेन । आगामी दिनमा छलफल गरेर सहमति जुटाउन सक्ने संभावना भने टरेको छैन ।

‘तपाईंहरु तीन जना मिलेर ६ वर्ष चलाउनुस्’ भन्ने प्रस्ताव नराम्रो हो र ?

म यसलाई राम्रो या नराम्रो भनेर टिप्पणी गर्दिन । अहिलेको विधानमा जुन व्यवस्था छ, यो पनि त नराम्रो छैन । अहिले पनि हामी शुद्ध र निष्पक्ष चुनाव गर्छौं भने कार्यकालको अवधिले के फरक पार्छ र ?

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनको चुनाव भइरहेको छ । अर्थतन्त्र संकटमा छ, व्यवसायी आन्दोनलमा छन्, यस्तो बेलामा प्रतिस्पर्धाबाट आउने नेतृत्वका कारण व्यवसायीमा तिक्तता बढ्न सक्छ, त्यस्ता विगतका उदाहरण पनि छन्, मिलेर जाँदा के बिग्रिन्छ ?

मैले पटक-पटक सबै प्रत्यासीलाई ‘हामीबीचमा कुनै किसिमको तिक्तता आउनु हुँदैन है’ भनिरहेको छु । हामीले मतदाता आकर्षित गर्नु अरुलाई कुनै किसिमको गालीगलौज गर्नु हुँदैन । कसैको मानमर्दन गर्ने काम पनि नगरौं । हामी उद्योगी व्यवसायीको हितका लागि प्रतिस्पर्धा गरिरहेका छौं । मलाई लाग्छ, चुनावका कारण तिक्तता बढ्दैन ।

तपाईं सर्वसम्मतिको पक्षमा हो कि होइन ?

कस्तो खालको सर्वसम्मति हुने हो, त्यसमा भर पर्छ ।

तपाईं कस्तो खालको सर्वसम्मतिको पक्षमा हुनुहुन्छ ?

कसैले ‘तपाईं पहिलो कार्यकाल नेतृत्व गर्नुस्’ भन्यो भने म पक्षमा छु ।

अर्कोलाई पहिला दिने भन्नेमा तपाईं सहमत हुनुहुन्न ?

म के कारणले अरुलाई पहिला दिनु ? ममा के चिजको कमी छ ? मैले उद्योग व्यवसाय गरेको छैन कि ! मैले रोजगारी सिर्जना गरिन कि ! देशका लागि मेरो योगदान छैन कि ! सहमतिका कुरा गर्दैगर्दा यस विषयमा त सोच्नुपर्ला नि !

तपाईंले अहिले गरेजस्तो दाबी त उहाँहरुले पनि प्रस्तुत गर्न सक्नुहुन्न र ?

ठिक छ । उहाँहरुलाई मैले केही भनेको छैन । उहाँहरु पनि सबै कुरामा परिपूर्ण हुनुहुन्छ । त्यही कारणले त आज चुनाव हुन लागिरहेको छ ।

अब चुनावी कुरा गरौं । व्यस्तता खुब बढेको छ है ?

धेरै नै छ ।

उपाध्यक्ष उठ्दा यस्तो थिएन होला !

उपाध्यक्ष उठ्दा यत्तिको अलि थिएन ।

कत्तिको खटिनुभा’छ ?

बिहान ५ बजेदेखि राती १०-११ बजेसम्म खटिरा’छु ।

कति दिन भयो ?

६ महिना, एक वर्ष भयो होला । पहिला अलि कम थियो । अहिले अलि बढेको छ ।

चुनाव जितेपछि पनि यसरी नै खट्नुहुन्छ ?

चुनाव जितेपछि योभन्दा बढी खट्ने प्रयास गर्छु । यो मैले पहिले पनि भनेको छु ।

तर, तपाईंलाई चिन्नेहरुले महासंघमा विभिन्न जिम्मेवारीमा रहँदा पनि विगतमा आफ्नो भूमिका देखाउनुभएको थिएन भन्छन् नि ?

त्यो त रेकर्डले देखाउँछ । कुनै पदाधिकारी बैठक या कार्यसमिति बैठकमा उपस्थित नभएको सायद छैन ।

तर, बोल्नुहुन्न रे नि त !

म मेरो विषयमा बोल्छु । अर्काको विषयमा बोल्ने बानी मेरो छैन ।

तपाईं विशुद्ध व्यवसायी, आफ्नै उद्योगमा बढी व्यस्त हुनुहुन्थ्यो, पहिला कार्यसमितिमा आउनुभयो, पछि ‘फ्याट्ट’ एसोसिएटमा जित्नुभयो । अहिले वरिष्ठ उपाध्यक्ष उठ्दै हुनुहुन्छ भन्ने तपाईं माथि अर्को आरोप छ । जिल्ला, नगरको मतभार ठूलो छ तर तपाईंले जिल्ला नगरका कुरा बुझ्नुभएको छैन, उनीहरुका कुरा उठाइदिनुहुन्न भनेर आशंका गरिरहेका छन्, यसमा के भन्नुहुन्छ ?

पहिलो कुरा त म महासंघमा फ्याट्ट आएको होइन । २० वर्षदेखि म उद्योग वाणिज्य महासंघमा छु । कार्यसमिति सदस्यमा चुनाव लडेर आएको हुँ । निर्विरोध कहिले पनि आएको छैन । उपाध्यक्षमा पनि चुनाव लडेरै आएको छु । आज म वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दैछु । आजको दिनमा जिल्ला, नगरको मतभार ५० प्रतिशत छ । म भन्दा अघिका अध्यक्षहरु पनि त्यही मतले जितेर आउनुभएको छ । चन्द्र ढकाल, शेखर गोल्छाजीहरु पनि एसोसिएटबाटै आउनुभएको हो । हाम्रा त सबै उद्योग जिल्ला, नगरमै छन् । हामीलाई जिल्ला, नगरका समस्या किन थाहा नहुने ? त्यहीँ जग्गा किनेर उद्योग जडान गरेका छौं । यति धेरै रोजगारी सिर्जना गरेका छौं । त्यो त्यत्तिकै त छैन । तपाईं कसरी भन्न सक्नुहुन्छ कि मलाई जिल्ला, नगरको समस्या थाहा छैन भनेर ? अहिले पनि म जिल्ला-जिल्ला दौडिरहेको छु ।

जिल्लाका खास समस्या के हुन् ?

जिल्ला, नगरका तत्कालको समस्या भनेको ब्याजदर वृद्धि हो । विश्वव्यापी मन्दीको दबाबमा नेपाल पनि फसेको छ । त्यसबाट सबै उद्योगी व्यवसायी प्रताडित छन् ।

ब्याजदर वृद्धि धेरै देशमा भएको छ तर आन्दोलन कतै भएको छैन, नेपालमा किन आन्दोलन भइरहेको छ ?

नेपालीले यसपटक कहिल्यै नभोगेको मन्दीको सामना गरिरहेका छन् । यस्तो त भूकम्पको समयमा पनि थिएन । कोभिडको समयमा पनि थिएन । सरकारको राजस्व पनि लक्ष्यभन्दा निकै कम छ । त्यही भएर सबै आत्तिएका हुन् जस्तो लाग्छ । ब्याजदर घटेको खण्डमा राहत हुने थियो भने सबैलाई लागेको छ । कुनै उद्योगी व्यवसायी साँवा ब्याज नतिर्ने मनस्थितिमा छन् जस्तो लाग्दैन ।

महासंघमा रहेर सम्झनलायक के-के काम गर्नुभयो ?

रोजगारदाता परिषदको संयोजकको हैसियतमा मेरा जिम्मेवारी थिए । आईएलओसँग काम गर्नुपर्ने हुन्थ्यो । कुनै पनि उद्योगबाट रोजगारसम्बन्धी मुद्दा आउँदा समाधान गर्ने काम भयो । श्रमिकको न्यूनतम पारिश्रमिकका विषयमा लबिङ गर्ने काम गरेँ । हरेक २ वर्षमा पुनरावलोकन गर्ने सरकारको नियम छ, त्यसमा भूमिमा खेलेँ । मैले जिम्मेवारी पाएपछि एकपटक पुनरावलोकन भयो, त्यसमा कुनै गुनासा कतैबाट आएनन् । आईएलओसँग सहकार्य गरेर गर्नुपर्ने सामाजिक सुरक्षा कोषका विषयको कुरा छ, मलाई लाग्छ पूर्णरुपमा मैले आफ्नो भूमिका निभाएँ । विभिन्न ठाउँमा, विभिन्न फोरममा गएर काम गरेँ । अध्यक्ष शेखर गोल्छा हुनुहुन्छ, उहाँ मेरो कामबाट सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्छ । जति पनि जिल्ला, नगरका अध्यक्षज्यूहरु हुनुहुन्छ, कसैबाट गुनासा सुनेको छैन।

महासंघको नेतृत्वमा पुगेपछि के गर्नुहुन्छ ?

वातावरणमैत्री नीति बनाउन सरकारसँग लबिङ गर्छु । मेरो मुख्य उद्देश्य यही हो । किनभने आज जति पनि समस्या आइरहेको छ, नीतिकै कारण आइरहेको छ । त्यसकारण लगानीकर्ताले उद्योग कलकारखाना खोल्न र भएका उद्योगमा लगानी थप्न सकिरहेको छैन । कछुवाको गतिमा हिँड्ने कि खरायो जस्तो दौडिने ? सरकारसँग सहमति गरेर देशलाई समृद्ध बनाउन यसको गति बढाउनुपर्छ जस्तो लाग्छ । मैले सम्पूर्ण उद्योगी व्यवसायीका समस्या बुझेको छु, ती समस्या सरकारको सामुन्ने ल्याएर, त्यसमा समाधानको भूमिका खेल्छु । उदाहरणका लागि सरकारले निर्यातमूलक उद्योगलाई ८ प्रतिशत अनुदान दिएको छ । त्यो अनुदान कहिले घोषणा भयो ? त्यसको कार्यविधि कति महिनापछि बन्यो ? कति उद्योगीले अनुदान पाए ? सरकार निर्यातमूलक उद्योग बढाउन चाहन्छ भने आफूले बनाएका नीति कति कार्यान्वयन भयो भनेर समीक्षा गर्नुपर्छ । पाएन भने किन पाएन ? कानुनमा समस्या छ कि ! यस्तो धेरै छ । उद्योगीले २४सै घण्टा बिजुली पाएको छ कि छैन । बिजुली नपाउँदा उसले कति क्षति व्यहोरिरहेको छ ? कति निरुत्साहित भइरहेको छ ? यो सबै मिलाउने काम त सरकारको हो । यस्तोमा मेरो प्रभावकारी भूमिका रहनेछ ।

त्यसबाहेक अरु के छ ?

महासंघको सचिवालय र प्रदेश च्याप्टरहरुलाई सुदृढ कसरी बनाउने भन्ने योजना पनि छ मेरो ।

अहिले उद्योगी व्यवसायी व्यापारतिर सिफ्ट भइरहेका छन्, महासंघको नेतृत्वमा पुग्नुभयो भने यसलाई रोक्न या भनौं औद्योगिक वातावरण बनाउन तपाईंको भूमिका के हुन्छ ?

मेरो मूल ध्येय नै उत्पादनमूलक उद्योग स्थापनामा जोड दिने, देशलाई औद्योगीकरणमा लैजाने र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने भन्ने हो । त्यसका लागि कस्तो वातावरण चाहिन्छ, जिल्ला, नगरका उद्योगीबाट राय लिएर, सरकारसँग पैरवी गर्छु । सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ । देशमा समृद्धि ल्याउने हो भने सकारात्मक दृष्टिकोण राखेर अघि बढ्नुपर्छ ।

बुधबारको मिटिङमा तपाईं चन्द्र ढकालको दायाँतिर बस्नुभएको थियो, कूटनीतिमा यस्तो ‘सिटिङ पोजिसन’को विशेष अर्थ हुन्छ, तपाईंलाई त्यहाँ राखिएको हो कि संयोग हो ?

(लामो हाँसो) उहाँले भन्नुभएको होइन । जहाँ सिट खाली देखेँ म त्यहीँ बसेँ ।

चुनाव जित्ने तपाईंको आधार के हो ? तपाईंलाई कुन-कुन पूर्वअध्यक्षले सहयोग गर्ने अनुमान छ ?

अहिलेसम्म मैले एक जना पनि मलाई सपोर्ट नगर्ने पूर्वअध्यक्ष भेटेको छैन ।

तर, तपाईंको चुनावी सभामा त कुनै पनि पूर्वअध्यक्ष देखिएन नि ?

चुनावी सभामा देख्नु र नदेख्नुले अर्थ राख्दैन । मैले नबोलाएको भएर पनि नआउनुभएको हुनसक्न नि ! तर, मुख्य कुरा मलाई सबै पूर्वअध्यक्षज्यूहरुको साथ छ । मैले कुन लेबलको व्यवसाय गरिरहेको छु । रोजगारी सिर्जना गरिरहेको छु । देशका लागि योगदान गरिरहेको छु । उहाँहरुले सबै मूल्यांकन गरिरहनुभएको छ जस्तो लाग्छ ।

त्यसो भए चुनाव जित्नुहुन्छ ?

चुनाव त म शतप्रतिशत जित्छु ।

पहिलो चरण कि दोस्रो चरणमा ?

पहिलो चरणमै जित्छु ।

दोस्रो चरणमा गयो र तपाईं तेस्रो हुनुभयो भने के गर्नुहुन्छ ?

म मेरो व्यवसाय विस्तार गर्नेतिर लाग्छु । उद्योगधन्दा अझ थप्छु ।

त्यस्तो भयो भने तपाईंको सहयोग कुन वरिष्ठ उपाध्यक्षका उम्मेदवारलाई रहन्छ ?

मैले दोस्रो, तेस्रो चरणको बारेमा सोचेकै छैन ।

तपाईंले जित्नुभएन भने उमेशजीले जित्दा राम्रो कि अञ्जनजीले ?

उहाँहरु पनि एकदमै क्षमतावान उद्योगी व्यवसायी हुनुहुन्छ । मैले जितिन भने उहाँहरु जसले जिते पनि मलाई केही फरक पर्दैन । दुवैलाई सहजै स्वीकार गर्छु ।

चन्द्रजीले तपाईंलाई विशेष आश्वासन दिनुभएको छ ?

मलाई मात्र छैन, उहाँले त तीनै जनालाई आश्वासन दिनुभएको छ । उहाँको साथ पाउनेछु, यसमा दुईमत छैन । तर, म उहाँले भनेर होइन, आफ्नो विवेकले चुनाव उठ्दै छु । म महासंघमा रहेर काम गर्न चाहन्छु, देशका लागि काम गर्न चाहन्छु ।

झापामा कुनै बेला लिएको जग्गाको भाडा नतिरिकन सम्झौताविपरीत भोगचलन गर्नुभयो भन्ने सुनिन्छ, यो के हो ?

त्यस्तो थियो भने पक्कै पनि सरकारले कारबाही गर्थ्यो होला । धेरै वर्षपछि सुनेँ । अहिले चुनावको मुखमा किन कुरा आयो भनेर पनि सोच्दैछु । सरकारले जवाफ माग्यो भने दिन तयार छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

तपाईंको मिडियामार्फत् मेरा जति पनि उद्योगी व्यवसायी मित्र जिल्ला, नगरमा हुनुभएका, वस्तुगतमा हुनुभएका, एसोसिएटमा हुनुभएका सबै मतदातासँग अमूल्य मत दिनुस्, मलाई विजयी गराउनुस्, म तपाईंलाई निराश बनाउने छैन, तपाईंहरुको समस्या मेरो समस्या हुनेछ भन्न चाहन्छु ।


क्लिकमान्डु