बालबालिकालाई कसरी सिकाउने जागिर र व्यवसाय ?
कोमल ६ वर्ष पुग्न लागिन् । उनकी दिदी शीतल ९ वर्षकी भइन् । कोमल र शीतलकी आमा आज निकै राम्री भएर बाहिर निस्कने तयारी गर्दै छिन् ।
यो देखेर कोमल प्रश्न गर्छिन्, ‘आमा कहाँ जान लाग्नुभएको ?’
आमाः जागिर खान ।
कोमलः म पनि खान जान्छु नि ! के-के खान पाइन्छ ? चकलेट पनि पाइन्छ ?
आमाः शीतल ! बहिनीलाई भन्देऊ त, म कहाँ जान लागेको ।
शीतलः जागिर भनेको मलाई पनि थाहा छैन । बुवालाई थाहा होला कि !
कोमलः बुवा ! आमा कहाँ जान लाग्नुभएको ?
बुवाः कोमल, शीतल ! ल यता आओ । म भन्छु । आमालाई तयार हुन देओ ।
कोमलः हवस् बुवा ।
शीतलः हवस् बुवा
बुवाः ल सुन । जागिर भनेको काम गर्नु हो । हेर, तिम्रो विद्यालयमा तिमीहरुलाई शिक्षकहरुले पढाउँछन् । त्यसरी पढाउनुलाई पढाउने काम भनिन्छ । पढाएबापत उनीहरुले पैसा पाउँछन् । यस्तै सुन्तली दिदी हाम्रो घरमा हरेक दिन बिहान आउँछिन् । घर सफा गर्छिन् । यो पनि काम हो । यो काम गरेबापत हामीले सुन्तली दिदीलाई पैसा दिनुपर्छ । अस्ति हामी बैंकमा गयौँ । बैंकमा पनि मानिसहरु काम गरिरहेका थिए । उनीहरुलाई पनि काम गरेबापत बैंकले पैसा दिन्छ । तिमीहरुले प्रहरीलाई देखेका छौ नि ! उनीहरुले सुरक्षा दिने काम गर्छन् । आपत परेका बेला हामीलाई सहयोग पनि गर्छन् । चोर पकड्छन् । यो गरेबापत उनीहरुले पनि पैसा पाउँछन् । तिमीहरुकी आमा पनि आजबाट काम गर्न जान लाग्नुभएको हो । अब आमाले पनि काम गरेबापत पैसा पाउनुहुन्छ । काम गर्न जानुलाई नै हामी जागिर खानु पनि भन्छौँ । पैसा पाउने गरी केही न केही काम गर्नुलाई रोजगार हुनु पनि भनिन्छ ।
कोमलः (अलि ठूलो स्वरमा) आमा ! तपाईंले काम गरेर पाएको पैसाले मलाई चकलेट अनि खेलौना ल्याइदिनुहोस् है ।
शीतलः काम गरेपछि पनि पैसा बनाउन सकिने रहेछ है बुवा ।
बुवाः बहुत राम्रो कुरा गर्यौ शीतल । काम गरेर पनि पैसा बनाउन सकिन्छ । पैसा बनाउन काम गर्न आवश्यक छ । काम गरेर आएको पैसाले लुगा किन्न सकिन्छ । खानेकुरा किन्न सकिन्छ । जुत्ता-चप्पल किन्न सकिन्छ । स्कुलको शुल्क तिर्न सकिन्छ । रमाइलो ठाउँ घुम्न जान पाइन्छ । चाहेको खेलौना किन्न सकिन्छ । चिडियाखाना घुम्न जान सकिन्छ । अनि बचेको पैसा बैंकमा राख्यो भने पैसा पनि धेरै हुँदै जान्छ ।
कोमलः (मुस्काउँदै) अनि बैंकमा राखेको पैसाले बच्चा पनि पाउँछ !
बुवाः कति रमाइलो कुरा गरेको कोमल । हो नि ! बैंकमा राखेको पैसामा ब्याज (बच्चा) पनि पाइन्छ । तर, हामीले काम नै गरेनौँ भने कसरी पैसा आउँछ होला त ? अनि हामीसँग कसरी धेरै पैसा हुन्छ त ?
आमाः बाई कोमल, शीतल ! राम्ररी बस है बुवासँग । म भरे चाँडै आउँछु ।
शीतलः कति बेला आउनुहुन्छ आमा ?
आमाः म आइहाल्छु नि चाँडै ।
बुवाः दिनमा कति घन्टा काम गर्ने भन्ने नियम हुन्छ । जस्तो कि सुन्तली दिदीलाई हामीले हरेक दिन दुई घन्टा काम दिएका छौँ । उनी यहाँ आएर दुई घन्टा काम गर्छिन् । दुई घन्टा पूरा भएपछि जान्छिन् । हामीले उनलाई काम दिएको हो । योचाहिँ दिनभरको काम होइन । सामान्यत: दिनको आठ घन्टा काम गरिन्छ । जस्तै: अस्ति हामी बैंकमा गयौँ । बैंकमा काम गर्नेहरु दिनको आठ घन्टा काम गर्छन् । यसरी काम गर्ने मानिसलाई कामदार या कर्मचारी पनि भनिन्छ । कसै-कसैले मजदुर पनि भन्छन् ।
शीतलः उसो भए म पनि आमासँगै काम गर्न जान्छु नि ! अनि मसँग पनि धेरै पैसा हुन्छ ।
बुवाः गज्जबको कुरा गर्यौ । तिमी पनि काम गर्न सक्छ्यौ । तिमीले घरमै बुवा-आमालाई सक्ने जति काम सघाउन सक्छ्यौ तर अरुकहाँ गएर काम गर्न सक्दैनौ । त्यसरी काम गर्न तिम्रो उमेर पुग्दैन र त्यो कानुनविपरीत हुन्छ । कानुनले तोकेको उमेर पुगेपछि मात्र तिमी अरुकहाँ गएर काम गर्न सक्छ्यौ । तर, अहिले पनि तिमी युट्युब भिडियोहरु बनाउन सक्छौ । बाल कलाकारका रुपमा काम गर्न सक्छौ । गीत गाउन सक्छौ । नाटकहरु खेल्न सक्छौ । यसबापत पनि पैसा पाउन सकिन्छ । संसारमा बालबालिकाले यसरी पनि धेरै पैसा बनाउने गर्छन् । तर, कसैकहाँ भाँडा माझ्ने वा घर सफा गर्ने, बारी खन्ने, भारी बोक्ने, पसलमा काम गर्ने, होटल रेस्टुराँमा गएर काम गर्ने जस्ता काम गर्न भने पाइँदैन । तिम्रो उमेर पुगेपछि भने यी सबै काम गर्न सक्छौ ।
शीतलः बुवा अनि के-के गर्यो भने पैसा पाउन सकिन्छ ?
बुवाः धेरै तरिकाबाट पैसा पाउन सकिन्छ । जस्तै: बारीमा फलाएको साग बेचेर पैसा बनाउन सकिन्छ । फलफूल बेचेर पैसा बनाउन सकिन्छ । राम्रा-राम्रा चित्र बनाएर बिक्री गरेर पैसा बनाउन सकिन्छ । माटाका भाँडा बनाएर पनि पैसा बनाउन सकिन्छ । बारीको फूल बेचेर पनि पैसा आउन सक्छ । पैसाका लागि अरुकहाँ नै गएर काम गर्नुपर्छ भन्ने पनि छैन । यसरी आफ्नै काम गर्नुलाई चाहिँ स्वरोजगार भनिन्छ । तिमीलाई थाहा छ- तिम्रो साथी दीपाको घरमा पसल छ । उनका बुवा पसलमा बसेर चिया, चिनी, चामल, चकलेट, बिस्कुट, कोक बिक्री गरिरहनुभएको हुन्छ । पसल चाहिँ उहाँको व्यवसाय हो । अरुकहाँ नगई आफ्नै केही गर्नु र पैसा कमाउनुलाई चाहिँ स्वरोजगार भनिन्छ ।
शीतलः व्यवसाय भनेको चाहिँ के हो बुवा ?
बुवाः पैसा आउने गरी नियमभित्र रहेर गरिने कामलाई व्यवसाय भनिन्छ । जस्तै: तिम्रा साथीका बुवाको पसल छ । त्यसलाई हामी व्यवसाय भन्छौँ । अन्यत्रबाट सामान ल्याउनु र चाहिने मानिसलाई बेच्नु पनि एक प्रकारको व्यवसाय नै हो । जस्तै: हामी तरकारी किन्न जान्छौँ । मानिसले हामीलाई तरकारी बिक्री गरिरहेका हुन्छन् । यसरी तरकारी बेच्नु पनि व्यवसाय हो । लुगा सिलाउनु पनि व्यवसाय हो । पसल गर्नु पनि व्यवसाय हो । कुखुरा पालेर बेच्नु पनि व्यवसाय हो । युट्युबमा भिडिओ बनाएर राख्नु पनि व्यवसाय हो । चित्र बनाएर बेच्नु पनि व्यवसाय हो । कपडा बिक्री गर्नु पनि व्यवसाय हो । कपाल काट्नु पनि व्यवसाय हो । व्यवसाय यस्ता धेरै प्रकारका हुन्छन् ।
शीतलः अनि व्यवसाय कस्ता-कस्ता हुन्छन् ?
बुवाः व्यवसायमा आफूसँग भएको वा अरुबाट किनेर ल्याएको बस्तु (सामान), सीप वा सेवा बेचिन्छ । सामान बेच्दा किनेर ल्याएको भन्दा बढी मूल्यमा बेचिन्छ । तर, कहिलेकाहीँ कममा पनि बेच्नुपर्ने हुन्छ । तिम्रो साथीको बुवाको पसलबाट हामी चिनी किनेर ल्याउँछौँ । उहाँले चिनी आफैँ बनाउनु हुन्न । अरु कसैको पसलबाट किनेर ल्याउनुहुन्छ । त्यस्तै हामी साबुन किनेर ल्याउँछौँ । साबुन पनि पसलेले कसैबाट किनेर ल्याएर बेच्नका लागि राखेको हुन्छ । कोकाकोला किनेर ल्याउँछौँ । त्यो पनि पसले आफैँले बनाउँदैनन् । तर, कतिपय सामान हामी आफैँ बनाएर पनि बेच्छौँ । कतिपय अवस्थामा भने हामीसँग व्यवसाय भए पनि बेच्ने बस्तु वा सामान हुँदैन । जस्तै: कपाल काट्ने व्यवसाय गर्नेले हाम्रो कपाल काटेर पैसा लिइरहेका हुन्छन् । यस्तो व्यवसायलाई चाहिँ सेवामूलक व्यवसाय भनिन्छ । जहाँ अरुलाई सेवा दिइन्छ तर बेच्ने सामान नै चाहिँ हुँदैन ।
कोमलः अनि साथीको बुवाले चकलेट पनि बनाउनुहुन्छ ?
बुवाः चकलेट आफैँ बनाउनु हुन्न । अरु कसैबाट ल्याउनुहुन्छ ।
शीतलः अनि ती सबै कुरा कसले बनाउँछ त ?
बुवाः उद्योगमा बन्छन् । चिनी बनाउने, कोक बनाउने, चकलेट बनाउने, चाउचाउ बनाउने ठाउँलाई उद्योग भनिन्छ । त्यहाँ मेसिन हुन्छ । अनि मेसिन र मानिसले काम गर्छन् । मानिसले काम गरेबापत पैसा पाउँछन् । मेसिनले चाहिँ काम गरेको पैसा पाउँदैन । त्यसैले उद्योग सुरु गर्यो भने मानिसले काम पाउँछन् । त्यसले रोजगारी दिन्छ ।
कुनै उद्योगमा धेरै मानिस काम गर्छन् । कुनैमा थोरै । त्यसैले उद्योग साना र ठूला हुन्छन् । हामीले लगाउने कपडा पनि उद्योगमा बन्छ । जुत्ताको पनि उद्योग हुन्छ । पाउरोटीको पनि उद्योग हुन्छ । खेलौनाको पनि उद्योग हुन्छ । तिमीलाई थाहा छ, अस्ति तिहारमा हामी सेलरोटी पकाउने पिठो बनाउन चामल पिस्न गएका थियौँ नि ! त्यहाँ चामल पिस्ने मेसिन थिए । अनि त्यहाँ काम गर्ने अंकलले मेसिनमा चामल लगाएर पिसे । त्यो पनि एउटा उद्योग हो । अनि हामीले चामल पिसेको पैसा दियौँ । उद्योगमा सामान कसरी बन्छ भनेर हामी युट्युबमा भिडियो पनि हेर्न सक्छौँ । चकलेट, पाउरोटी, बिस्कुट कसरी बन्छ भनेर भिडियो हेर्न सकिन्छ ।
शीतलः धेरै उद्योग भयो भने धेरै मानिसले काम गर्न पाउने रहेछन् होइन त बुवा ? अनि उनीहरुसँग धेरै पैसा हुन्छ । काम गरेपछि उनीहरुका बच्चालाई चाहिने कपडा, कापी, किताब किन्ने र स्कुलको फि तिर्ने पैसा पनि हुने रै’छ । अनि रमाइलो ठाउँमा घुम्न पनि जान पाउने रहेछन् ।
कोमलः हामी पनि चकलेट उद्योग बनाऊँ न बुवा । अनि हामीसँग धेरै चकलेट हुन्छ नि !
बुबाः हुन्छ नानु ।
शीतलः कोमल आऊ तिमी र म चकलेट कसरी बनाउने रहेछ भनेर भिडिओ हेरौँ अनि धेरै चकलेट बनाऊँ ।
कोमल र शीतल युट्युबमा चकलेट कसरी बन्छ भनेर भिडिओ हेर्न थाल्छन् । बुबा घरको कामतिर लाग्छन् ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् । भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स तथा बिमाका बारेमा जीवन बिमा कोर्ससमेत गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इन्भेस्ट इन स्टक मार्केट, जीवन बिमा जस्ता किताब लेखेका छन् ।)
यो पनि पढ्नुहोस्