बैंक, बच्चा र बचत



पर्समा पैसा राखेर हिँड्न तयारी गरिरहेका बुवालाई नजिकै आएर मीना सोध्छिन् ?

मीना: कहाँ जान लाग्नुभएको बुवा ?

बुवाः बैंक जान लागेको नानु ।

रिहानाः बैंक किन जाने ? (केही समयअघि बुवाले किनेर ल्याइदिएको खुत्रुक्के देखाउँदै) बैंक यहीँ छ त !

बुबाः (नजिकैको कुर्सी तानेर बस्दै भन्छन् ।) ल सुन । बैंक भनेको पैसा राख्ने ठाउँ हो । हामीले धेरै पैसा घरमा राख्यौँ भने चोरी हुनसक्छ । आगलागी भएमा डढ्न सक्छ । धेरै पैसा पर्स वा गोजीमा बोकेर हिड्यौँ भने हराउन सक्छ । त्यसैले पैसा सुरक्षित राख्न बैंक बनाइएको हुन्छ। बैंकले हाम्रो पैसा सुरक्षित राख्ने काम गर्छ । खुत्रुक्के पनि रिहानाको सानो बैंक नै हो । यहाँ हामी अलि-अलि पैसा कहिलेकाहीँ राख्छौँ । कहिलेकाहीँ एक रुपैयाँ, दुई रुपैयाँका सिक्का, पाँच रुपैयाँ । त्यहाँ हामी धेरै पैसा राख्दैनौँ । यो पनि सुरक्षित हुँदैन । किनकि यो पनि त हाम्रो घरमै छ ।

मीना: बैंकमा पैसा राखेपछि हामीले लुगा किन्नुपरेमा हामीसँग पैसै हुँदैन। अनि केले लुगा किन्नु नि !

बुवाः राम्रो प्रश्न । पैसा चाहिएमा हामीले राखेको पैसा बैंकसँग माग्न सक्छौँ । मागेपछि बैंकले दिन्छ । त्यसैले बैंक भनेको हामीलाई नचाहिएका बेला पैसा लगेर राख्ने र चाहिएका बेला माग्दा दिने ठाउँ हो ।

रिहानाः बुवा हामी पनि बैंक जान सक्छौँ ?

बुवाः अँ हुन्छ । ल तयार होऊ ।

रिहाना र मीना दुवै जना बुवासँगै नजिकको बैंकमा जान्छन् ।

बुवाः (बैंकको नजिक पुग्दै गर्दा उनी बाटोबाटै छोरीहरुलाई बैंक देखाउँदै भन्छन् ।) ल हेर ऊ पारि । के तिमीहरुले बैंक देख्यौ ? दुवै जनाले बैंकको नाम पढ्छन् । हाम्रो बैंक ।

मीना: (बैंक पुगेर भौचर भर्दै गरेका बुवालाई मीना प्रश्न गर्छिन् ।) यसमा के लेख्नुभएको बुबा ?

बुवाः हामीले बैंकलाई पैसा दिँदा कति पैसा दिएको भनेर यहाँ लेख्नुपर्छ । यहाँ मिति, पैसा दिनेको नाम, कति पैसा दिएको, कति-कति रुपैयाँका कति वटा नोट दिएको सबै लेखेर हस्ताक्षर गर्नुपर्छ । यसलाई भौचर पनि भनिन्छ । पछि हामी माग्न आउँदा बैंकले तपाईंले हामीलाई पैसा नै दिएको थिएन भन्यो भने हामी यही भौचर देखाउन सक्छौँ । मैले पैसा दिएको थिएँ भनेर भन्न पाइन्छ । भौचरलाई बैंकलाई पैसा दिएको वा बैंकमा पैसा जम्मा गरेको प्रमाण पनि भनिन्छ ।

बुवाले भौचर र पैसा बैंकको कर्मचारीलाई दिन्छन् । कर्मचारीले पैसा गनेर भौचरमा बैंकको छाप लगाउँछन् र एक प्रति उनलाई नै फिर्ता गर्छन् । पैसा जम्मा गरिसकेपछि उनीहरु गफ गर्दै बैंकबाट घर फर्कन्छन् । फर्किंदै गर्दा मीनाले अर्को पनि बैंक देखाउँदै भन्छिन् ।

मीना: बुबा मैले अर्को पनि बैंक देखेँ । ऊ हेर्नुहोस् त ! त्यहाँ अर्को पनि बैंक रहेछ ।

बुवाः के रहेछ बैंकको नाम ? पढ त !

मीना: हजुरको बैंक । बुवा म एउटा प्रश्न सोध्न सक्छु ।

बुवाः सक्छौ ।

मीना: के बैंक धेरै वटा हुन्छन् ?

बुवाः हो । बैंक धेरै वटा हुन्छन् । सबैले पैसा राख्ने काम गर्छन् र मागेको बेला दिन्छन् ।

मीना: अनि हामी यो बैंकमा नगई किन अघिको बैंकमा गएको ?

बुवाः बैंकमा पैसा राख्नुअघि हामीले कुनै पनि बैंकमा नाम लेखाउनुपर्छ । यसरी नाम लेखाउनुलाई हामी खाता खोल्ने पनि भन्छौँ । खाता खोलेपछि बैंकले हामीलाई खाता नम्बर दिन्छ । जसरी स्कुलमा हाम्रो रोल नम्बर हुन्छ । जुन बैंकमा हामीले खाता खोलेका छौँ, त्यही बैंकमा पैसा जम्मा गर्न सकिन्छ । मैले हाम्रो बैंकमा खाता खोलेको हुनाले त्यहाँ पैसा जम्मा गर्न गएको । यो हजुरको बैंकमा चाहिँ मैले खाता खोलेको छैन । अनि एकै जनाले धेरै वटा बैंकमा पनि खाता खोल्न सकिन्छ । खाता बच्चाको पनि खोल्न सकिन्छ । तिमीहरुको पनि खाता खोल्न सकिन्छ । हामीले पैसा राखेपछि बैंकले हाम्रो खातामा पैसा जम्मा गरिदिन्छ वा जोडिदिन्छ र झिक्यौ भने हाम्रो खातामा भएको पैसाबाट झिकेजति पैसा घटाइदिन्छ । मेरो खातामा अघि एक हजार रुपैयाँ थियो । मैले बैंकलाई ५ सय रुपैयाँ दिएँ । अब बैंकले मेरो खातामा ५ सय रुपैयाँ जोडिदिन्छ र १५ सय रुपैयाँ हुन्छ । मलाई पैसा चाहिएर दुई सय रुपैयाँ झिकेँ भने मेरो खाताबाट घटाइदिन्छ । यसपछि मेरो खातामा १३ सय रुपैयाँ बाँकी रहन्छ ।

रिहाना, मीना र बुवा घर पुग्नै लागेका छन् ।

मीना: (रिहानाको प्रश्नमा मीनाले पनि थप्छिन् ।) मलाई पनि लागिरहेको थियो, कसरी धेरैभन्दा धेरै पैसा बनाउने होला भनेर ।

बुवाः (घर पुगेपछि कुर्सीमा बस्दै भन्छन् ।) धेरै तरिकाले पैसा बनाउन सकिन्छ । त्यसमध्ये एउटा तरिका बचत गर्नु हो । बचत भनेको बचाउनु हो । जस्तो मैले रिहानालाई ५० रुपैयाँ दिए । ल रिहाना भन त के गर्छौ ।

रिहानाः म खेलौना किन्छु ।

बुबाः ५० रुपैयाँ सबैको खेलौना वा चकलेट किन्ने हो भने के अब रिहानासँग पैसा बाँकी हुन्छ त !

रिहानाः हुन्न ।

मीना: हुन्न ।

बुवाः भएको पैसाले खेलौना किन्नु वा चकलेट किन्नुलाई खर्च गर्नु भनिन्छ । ल मीना भन । मैले ५० रुपैयाँ दिएँ भने तिमी के गर्छौ ?

मीना: केही पैसाले चाहिँ रंगिन पेन्सिल किन्छु अनि बाँकी पैसा मेरो खुत्रुक्केमा हाल्छु । ५० रुपैयाँमा ३० रुपैयाँको चाहिँ पेन्सल किन्छु र २० रुपैयाँ चाहिँ खुत्रुकेमा राख्छु । अनि मसँग धेरै पैसा हुँदै जान्छ ।

बुवाः यसरी खर्च नगरी राख्नु चाहिँ बचाउनु हो । मैले तिमीलाई दिएको पैसा (उपहार)लाई तिम्रो आम्दानी भनिन्छ । अनि रंगिन पेन्सल किन्नका लागि तिरिएको ३० रुपैयाँलाई खर्च र बाँकी रहेको २० रुपयाँलाई चाहिँ बचत भनिन्छ ।

आम्दानी – खर्च = बचत

रु. ५० – रु. ३० = रु. २०

ल भन त ! यसरी बचाएको पैसा कहाँ-कहाँ राख्न सकिन्छ ?

रिहानाः खुत्रुकेमा ।

मीना: बुवा-आमाको पर्समा पनि राख्न सकिन्छ ।

रिहानाः बैंकमा ।

बुवाः राम्रो कुरा । के तिमीहरुलाई थाहा छ ? पैसाको पनि बच्चा हुन्छ भनेर ।

मीना: पैसाको बच्चा ! कस्तो रमाइलो कुरा । कसरी ?

बुवाः रिहानाको जन्मदिनमा मैले १०० रुपैयाँ दिएँ । अनि रिहानाले त्यो पैसा बैंकमा लगेर राखिन् भने अर्को जन्मदिनमा बैंकले ५ रुपैयाँ थपेर दिन्छ । अब रिहानासँग कति पैसा हुन्छ । ल मीना भन त !

मीना: १०५ रुपैयाँ ।

बुवाः ल भन ! पैसाले बच्चा पायो कि पाएन त ! सानो बच्चा ! यो पैसाको बच्चाको नामचाहिँ ब्याज हो । हामीले बैंकलाई पैसा दिएपछि बैंकले हामीलाई केही पैसा थपिदिन्छ । यसरी थपिदिने पैसालाई ब्याज भनिन्छ । आज हामीले बैंकमा राखेको पैसामा पनि बैंकले ब्याज दिन्छ । तर, मैले त्यो पैसा घरमै राखेको भए ब्याज पाउने थिइनँ । अनि धेरै पैसा पनि हुँदैनथ्यो । तर, हामीले पैसा खुत्रुक्केमा राखेमा वा घरमै दराजमा वा बाकसमा वा पर्समा राखेमा भने हाम्रो पैसाले बच्चा पाउँदैन । यसैले पैसा बढाउन वा धेरै बनाउन बचाउँदै जाने र बैंकमा जम्मा गर्दै जाने गर्नुपर्छ । खुत्रुकेमा राखेको पैसा पनि समय-समयमा बैंकमा जम्मा गर्दै गर्नुपर्छ । यसो गरेमा हामीसँग धेरै पैसा हुँदै जान्छ । यो जन्मदिनमा रिहानाले बैंकमा १०० रुपैयाँ राखिन् । अर्को जन्मदिनमा बैंकले ५ रुपैयाँ थपिदिन्छ । अनि अर्को जन्मदिनमा फेरि हामीबाट १०० रुपैयाँ पाइन् र बैंकमा राखिन् भने २०५ रुपैयाँ हुन्छ । दसैंमा टिका लगाएर पाएको पैसा पनि बैंकमा राखिन् भने विस्तारै रिहानासँग धेरै पैसा हुँदै जान्छ ।

मीना: (हतार-हतार भन्छिन्) मसँग पनि हुन्छ ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् । भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स तथा बिमाका बारेमा जीवन बिमा कोर्स गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इन्भेस्ट इन स्टक मार्केट, जीवन बिमा जस्ता किताब लेखेका छन् ।)


क्लिकमान्डु