आर्थिक मन्दीको असर मोबाइल फोनमा पनि, कात्तिकदेखि आयातमा उच्च गिरावट



काठमाडौं । आर्थिक मन्दीको अधिकांश क्षेत्रमा प्रभाव परेको छ । आर्थिक मन्दीका कारण माग सुस्त हुँदा उद्योग तथा व्यापारले गति लिन सकेको छैन । साना-ठूला सबै व्यवसायी उच्च प्रभावित छन् । मन्दीको असर स्मार्टफोनको व्यापारमा पनि देखिएको छ ।

मासिक २ लाखदेखि ३ लाखको हाराहारीमा आयात हुँदै आएको मोबाइल सेट अहिले आधाले घटेको छ । गत वर्ष नेपालमा ४० अर्ब ८९ करोड ३६ लाख रुपैयाँबराबरको ५७ लाख ६३ हजार सेट मोबाइल आयात भएको थियो ।

गत वर्ष उच्च संख्यामा मोबाइल फोन आयात हुँदै आएको थियो । बढ्दै वैदेशिक व्यापार घाटाका कारण डलर अभाव चुलिने देखिएपछि सरकारले आयातमा प्रतिबन्ध लगायो ।

सरकारले वैशाख १३ देखि असारसम्ममा ६ सय अमेरिकी डलरमाथिको मोबाइल आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । साउनमा संशोधन गरेर ३ सय डलरमाथिको मोबाइल आयातमा लगाएको प्रतिबन्धले पनि बजारमा धक्का पुगेको थियो ।

सरकारले मंसिरदेखि भने आयात प्रतिबन्ध खुला गरेको छ । तर, आयात प्रतिबन्धले भन्दा पनि माग बढ्न नसक्दा व्यापार धेरै खस्किएको व्यवसायी बताउँछन् ।

उनीहरुका अनुसार कोभिडको समयमा पनि अनलाइन क्लास, वर्क फ्रम होमलगायतले व्यापारमा उछाल आएको थियो । कोभिडपछि पनि व्यापारमा खासै असर परेन । तर, पछिल्ला दिनमा मन्दी कारण माग सुस्त बनेको छ ।

चालू आर्थिक वर्षको सुरुवाती चरणमा मासिक २ लाखदेखि ३ लाख सेट आयात हुँदै आएकोमा अहिले १ लाखभन्दा कम आयात भइरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई मोबाइलको व्यापारमा गिरावट आएको बताउँछन् । उनका अनुसार कोभिडको समयमा स्मार्टफोन अत्यावश्यक सामग्री जस्तै थियो, जसले गर्दा व्यापारमा उछाल आएको थियो । तर, कोभिडपछि विश्वभर नै आर्थिक मन्दी आउँदा नेपालको मोबाइल व्यवसाय पनि प्रभावित भएको छ ।

‘आर्थिक मन्दीले मोबाइल किन्न आउने ग्राहक नै छैनन्,’ उनले भने, ‘माग नभएपछि आयात पनि ह्वात्तै घटेको छ ।’ उच्च ब्याजदरका कारण व्यवसायी झनै मर्कामा परेको उनले बताए ।

एकातिर तरलता अभावले बजारमा माग छैन भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाले ब्याजदर ह्वात्तै बढाउँदा व्यवसायी कर्जा लिन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । सरकारले हालसम्म ब्याजदर घटाउन चासो नदिएको उनको गुनासो छ ।

राजस्व संकलनमा धक्का

सरकारले प्रतिबन्ध हटाए पनि आयातमा सुधार छैन । आयात नबढ्दा राजस्व संकलनमा पनि धक्का पुगेको छ । साउनमा नेपालले २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँबराबरको १ लाख ७६ हजार २४९ सेट स्मार्टफोन आयात गरेको थियो, जसबाट ४८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

भदौमा पनि मोबाइलको आयात ह्वात्तै बढ्यो । भदौमा ३ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँको २ लाख ६३२ हजार ७३६ सेट मोबाइल आयात हुँदा ६७ करोड ३१ लाख ७१ हजार राजस्व संकलन भयो ।

त्यस्तै, असोजमा २ अर्ब ३५ करोड २१ लाख ७७ हजार रुपैयाँको १ लाख ७९ हजार ५३५ सेट मोबाइल आयात भयो । असोजमा ४३ करोड ८९ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकले देखाउँछ ।

कात्तिकदेखि आयात घटेको छ । कात्तिकमा १ अर्ब ५७ करोड ६८ लाख १९ हजार रुपैयाँको १ लाख १० हजार ८७४ सेट आयात गर्दा सरकारले २९ करोड ४२ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गर्‍यो । त्यस्तै मंसिरमा १ अर्ब ९ करोड ८२ लाख रुपैयाँको ७४ हजार ४४२ सेट आयात भयो, जसबाट सरकारले २० करोड ५२ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

पुसमा १ अर्ब ८१ करोड १७ लाख ९२ हजार रुपैयाँको ९१ हजार ७६१ सेट आयात गर्दा ३३ करोड ६२ लाख रुपैयाँ र माघमा १ अर्ब ७५ करोड ८४ लाख ६१ हजार रुपैयाँको १ लाख ९ हजार ५५६ वटा सेट आयात गर्दा ३२ करोड ८३ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भयो।

त्यस्तै फागुनमा १ अर्ब ८३ करोड १९ लाख २४ हजार रुपैयाँको ८९ हजार ७५४ सेट मोबाइल आयात गर्दा ३४ करोड २१ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कुन देशबाट कति आयात ?

नेपालले अधिकांश स्मार्टफोन चीनबाट आयात गर्दै आएको छ । नेपालले चालू आर्थिक वर्षको ८ महिनामा चीनबाट मात्रै १० अर्ब ७१ करोड ७९ लाख रुपैयाँको ७ लाख ६४ हजार ८४२ सेट स्मार्टफोन आयात गरेको छ ।

चीनपछि भारतबाट ४ अर्ब ६१ करोड ४४ लाख रुपैयाँको ३ लाख १३ हजार ६३४ सेट आयात भएका छन् । त्यस्तै, अस्ट्रेलियाबाट ६ करोड ५८ लाख रुपैयाँको ६५८ वटा,  फिनल्यान्डबाट ५७ लाख ८७ हजार रुपैयाँको ६७ वटा र जापानबाट ७ करोड ४० लाख रुपैयाँको १ हजार ८६ वटा फोन भित्रिएका छन् ।

यूएईबाट १४ करोड १ लाख रुपैयाँको ३ हजार ३७३ वटा, बेलायतबाट १ करोड ५७ लाख रुपैयाँको १७४ वटा, अमेरिकाबाट १२ करोड ४३ लाख रुपैयाँको १२ सय वटा र भियतनामबाट ७१ करोड ७८ लाख रुपैयाँको ६ हजार ३ सय सेट स्मार्टफोन आयात भएका छन् ।


क्लिकमान्डु