संसारका सबैभन्दा महँगा र आकर्षक हिराका आभूषण



एजेन्सी । कोहिनुर हिराको किस्साको बारेमा त धेरैलाई थाहा छ । त्यो हिरा अनमोल भएको बारेमा पनि धेरै चर्चा भइसकेको छ । अहिले बेलायतका राजा चार्ल्सको राज्याभिषेकको समयमा उक्त हिराको चर्चा पुनः भइरहेको छ ।

कोहिनुर हिराजस्तै विश्वमा केही यस्ता अमूल्य आभूषण छन्, जो मूल्यका कारणले मात्र विश्वविख्यात हुँदैनन् । त्यसमा भएको आकर्षणले पनि यिनीहरुलाई विश्वचर्चित बनाउँछ ।

यो लेखमा विश्वका त्यस्ता १० आभूषणको चर्चा गरिएको छ, जुन मूल्य र अन्य कारण विश्वभर चर्चित छन् ।

अटल्लाको क्रस

सन् १९२० को दशकमा लन्डनको गहना बनाउने कम्पनी जेर्राडले अटल्लाको क्रस बनाएको थियो । गत महिना मात्रै विश्वचर्चित गायिका एवं कलाकार किम कार्डासियनले यसलाई दुई करोड ५७ लाख ८५ हजार रुपैयाँमा खरिद गरेकी छन् । एक समय यो क्रस प्रिन्सेस डायनाले लगाउने गरेकी थिइन् ।

एमेथिस्टबाट बनाइएको यो क्रसमा ५.२ क्यारेटको हिरा जडित छ । यो क्रस प्रिन्सेस डायनाको प्रिय आभूषणमध्येमा पर्थ्यो । तर, यो क्रसको स्वामित्व उनले लिन सकिनन् ।

कयौं समारोहमा यसका मालिक नइम अटल्लाले यो क्रस डायनालाई लगाउने दिन्थे । अटल्ला त्यसबेला एस्प्री एन्ड जेर्राड कम्पनीका कार्यकारी निर्देशक थिए । अटल्लाका छोराका अनुसार यो आभूषण डायनालाई लगाउन मात्रै दिइएको थियो ।

अहिले यो कार्डासियनको हातमा पुग्नुका पछाडि यसका जानकार हेलेन माल्सवर्द भन्छिन्, ‘उनलाई जे ठिक लाग्छ गर्छिन् । उनी अहिलेको स्थानमा आफ्नै मेहनतले पुगेकी हुन् । उनी आफ्नो सामान आफैं किन्ने गर्छिन् । यो आभूषण पनि उनले आफूलाई ‘क्लासी’ देखाउनका लागि खरिद गरेकी हुन् ।’

सँगै कार्डासियनले यो गहना किन्नुले महँगा गहना किन्ने क्षेत्रमा महिलाको पनि उपस्थिति छ भन्ने अर्थ दिने गरेको छ ।

डायनाले यो क्रसलाई सन् १९८७ अक्टुबरमा एक च्यारिटी कार्यक्रममा एउटा गुलाबी रंगको मोति जडित हारसँगै लगाएकी थिइन् ।

ब्ल्याक डायमन्ड आरलव

काला रंगका हिराहरु आफैंमा प्रसिद्ध छन् । तर, त्यो हिरा सिरानी आकारको ६७.४९ क्यारेटको भएमा त्यसलाई केहीले पनि प्रतिस्थापन गर्न सक्दैन । इतिहासका विभिन्न हिस्सामा यो हिरालाई १९ औं शताब्दीमा भारतको ब्रह्मा मन्दिरबाट चोरिएको उल्लेख गरिएको छ । तर, यो पुष्टि हुन सकेको छैन ।

भनिन्छ, यो हिरा श्रापित छ । यो हिरा चोर्ने पहिलो व्यक्तिको मृत्यु भएको थियो । त्यसलगत्तै यसका मालिक रहेका अन्य तीन जनाले पनि आत्महत्या गरेको बताइन्छ । आत्महत्या गर्नेमध्ये एक नाडिया विगिन आरलव नामकी रुसी राजकुमारी थिइन् । त्यस्तै, उनका एक आफन्त र अमेरिकामा यो हिरालाई आयात गर्ने व्यापारी जे डब्ल्यु पेरिसले पनि आत्महत्या गरेका थिए ।

तर, हालसालै एक अनुसन्धानले इतिहासको यो किस्सामाथि प्रश्न उठाएको छ । अनुसन्धानमार्फत यो हिरा भारतबाट चोरिएको हो भन्ने किस्सामाथि नै सन्देह रहेको पाइएको छ । त्यो अनुसन्धानमा विज्ञहरुले राजकुमारी नाडियाको अस्तित्वमाथि नै पनि प्रश्न गरेका छन् ।

यो हिरालाई तीन टुक्रामा काटेर फरक-फरक मणी बनाइएको थियो । हिराबाट श्रापित पक्ष हटाउन टुक्रा पारिएको तर्क अघि सारिन्छ । तर, अचम्मको कुरााचाहिँ हिरालाई टुक्राउँदा पनि यसका मालिकको असामान्य मृत्यु भने भएको छ ।

पिलग्रिम पर्ल

दक्षिण अमेरिकी देश पनामामा सन् १५७६ मा पाइएको ‘ला पेरेगरिना’ नामको नासपती आकारको यो मोती पनि विश्वप्रसिद्ध आभूषण हो । यो आभूषणको पछाडिको किस्सा पनि उत्तिकै रोमाञ्चक छ ।

माल्सवर्द भन्छिन्, ‘यो संसारकै उत्कृष्ट मोती हो । यसको अतित प्रेमले भरिएको छ ।’

५०.५६ क्यारेटको यो मोती स्पेनका सम्राट फिलिप द्वितीयले पत्नी बेलायती रानी मेरी (प्रथम)का लागि किनेका थिए । त्यसपछि यो अमूल्य मोती पुस्तान्तरण हुँदै स्पेनको शाही परिवारकै स्वामित्वमा थियो ।

पछि फ्रान्सका शासक नेपोलियनका भाइ जोसेफ बोनापार्टको हातमा पुगेको थियो । शताब्दीऔंपछि सन् १९६९ मा यसलाई अभिनेता रिचर्ड बर्टनले हलिउडकी चर्चित अभिनेत्री एलिजाबेथ टेलरको निम्ति किनिदिएका थिए ।

ला पेरेगरिनालाई न्युयोर्कको लिलामी गर्ने एक कम्पनी ‘क्रिस्टिज’लाई सन् २०११ मा लिलामी गरिएको थियो । त्यसबेला यो हिराका लागि १ अर्ब ५० करोड ९५ लाख नेपाली रुपैयाँ तिरिएको थियो ।

‘द होप’

डरलाग्दो अतितका कारण चर्चित रहेको र श्रापित मानिने अर्को हिरा हो- होप । यो अमेरिकाको स्मिथसोनियन संग्रहालयमा नेसनल जेम कलेक्सनमा राखिएको छ ।

लन्डनको क्रिस्टिजका गहना बनाउने विज्ञ अराबेला हिस्कक्स भन्छिन्, ‘यो ४५.५२ क्यारेटको निकै दुर्लभ नीलो हिरा हो । जब यसमा अल्ट्राभायोलेट प्रकाश पर्छ, तब यसको रंग रातो हुन्छ । यो विशेषताले पनि यो हिरालाई दुर्लभ बनाएको छ ।’

सन् १९६६ मा प्रकाशित भएको कार्ल सुकरको पुस्तक ‘द अनएक्सप्लेन्ड’मा यो हिराको विषयमा उल्लेख छ । एक हिन्दू पुजारीले यो हिरालाई छलपूर्वक मर्तिबाट बाहिर निकालेका थिए । सन् १६६८ मा फ्रान्सका सम्राट लुई चौधौंले यसलाई किनेका थिए । फ्रान्समा भएको क्रान्तिको समयमा भने यो हिरा चोरी भएको थियो ।

भनिन्छ, फ्रान्सका सम्राट र त्यहाँकी महारानीलाई यही हिराको स्वामित्व लिएका कारण श्राप परेको थियो । गहना कम्पनी कार्टिएले द होप हिरालाई एउटा हारमा जडान गरेको थियो । त्यसपछि यसलाई सन् १९१२ मा एवेलिन वाल्स मैकलिनलाई बेचिएको थियो ।

हिस्कक्स भन्छिन्, ‘जब द होप मैकलिनको हातमा आयो तब उनका दुई सन्तानको मृत्यु भएको थियो ।’ सन् १९५८ मा यो हिरा गहना व्यापारी हैरी विन्स्टनको स्वामित्वमा पुगेको थियो । त्यसपछि उनले सोही वर्ष यसलाई स्मिथसोनियन संग्रहालयमा दान गरेका थिए ।

वालिन्स सिम्पसनको प्यान्थर ब्रासलेट

सन् १९३६ मा बेलायतका राजा एडवर्ड अस्टमले प्रेमिका वालिस सिम्पसनका लागि बेलायतको राजकीय पद त्यागेका थिए । उनीहरुबीचको प्रेम सम्बन्धमा उपहारका रुपमा कयौं बहुमूल्य हिरा तथा आभूषणहरुको आदानप्रदान भएको थियो । यस्ता उपहारको लिलामी सन् २०१० मा भएको थियो ।

लिलामीको प्रमुख आकर्षण थियो, वालिन्स सिम्पसनलाई सन् १९५२ मा दिइएको उपहार ‘ब्ल्याक प्यान्थर ब्रासलेट’ । हिरा र अन्य बहुमूल्य वस्तु जडित यो ब्रासलेटलाई फ्रान्सको पेरिसमा किनिएको थियो ।

गहनासम्बन्धी विज्ञहरुले यो ब्रासलेटमा सबै किसिमका विशेषता रहेको बताउँछन् । यिनै विशेषताले यो ब्रासलेटलाई हालसम्मकै विशेष गहनाको रुपमा चिनाएको छ ।

वालिन्स सिम्पसनको जीवनमा आधारित भएर बनेको फिल्ममा अमेरिकी गायिका म्याडोनाले यो ब्रासलेट लगाउने मौका पाएकी थिइन् । तर, यो ब्रासलेट सन् २०१० मा लिलामी हुँदा कसले किन्यो भन्ने कुरा भने हालसम्म पनि सार्वजनिक भएको छैन ।

कोहिनुर

कोहिनुर हिरा जति चर्चित छ, त्यसको यति नै ठूलो इतिहास पनि छ । विशेषत: भारतीय समुदायका लागि कोहिनुर एउटा भावनात्मक विषय पनि हो । हरेक भारतीयले यसलाई आफ्नो गर्विलो इतिहासको रुपमा हेर्ने गर्छन् ।

१०५.६ क्यारेटको यो हिरा संसारकै सबैभन्दा ठूलो हिरामध्येमा पर्छ । बेलायतको शाही ताजमा सजिएको भए पनि कोहिनुर विवादास्पद छ ।

भनिन्छ, यसको उत्खनन मध्यकालमा भएको थियो । दक्षिण भारतमा उत्खनन गर्दा भेटिएको यो हिराको विषयमा लिखित इतिहास भने सन् १६२८ यता मात्रै पाइन्छ । त्यसबेला यो हिरालाई भारतमा राज गरेका मुगल बादशाह शाहजायको सिंहासनमा समर्पित गरिएको थियो ।

सन् १७३९ मा इरानका बादशाह नादिर शाहले दिल्लीमा हमला गरेर मुगललाई पराजित गरेका थिए । त्यसपछि यो हिरा उनकै स्वामित्वमा आएको थियो । नादिरसँगै यो हिरा अफगानिस्तान पुगेको थियो ।

स्मिथसोनियन पत्रिकाका अनुसार यो बहुमूल्य पत्थर एकपछि अर्को गर्दै विभिन्न राजपरिवारको स्वामित्वमा पुगेको थियो । अन्त्यमा सन् १८१३ मा यो भारतका महाराजा रणजित सिंहको हातमा पुग्यो ।

त्यसबेला भारतका बाँकी हिस्सामा ब्रिटिस इस्ट इन्डिया कम्पनीको राज थियो । यो हिराको बारेमा सूचना पुग्नासाथ  उक्त कम्पनीले यसको खोजी गरेका थिए । सन् १८४९ मा पन्जाबको गद्दीमा रहेका १० वर्षीय राजाको स्वामित्वबाट यो हिरा खोसियो । त्यसपछि यो हिरा बेलायतकी रानी भिक्टोरियालाई दिइएको थियो ।

यो हिरालाई सन् १८५१ मा बेलायतमा भव्य स्वागत गरिएको थियो । तर, त्यस बेलासम्म कोहिनुरको कुनै परीक्षण भएको थिएन । कतिपयले त यो हिरा पनि श्रापित छ भन्ने हल्ला फैलाएका थिए ।

अहिले यो हिरा बेलायतको शाही परिवारको स्वामित्वमा छ । तर, भारत, पाकिस्तान, इरान र अफगानिस्तानजस्ता देशले यसलाई आफ्नो देशमा फिर्ता ल्याउने प्रयास गरिरहेका छन् ।

मारी आन्त्वानेटाको औंठी

यो औंठी कुनै बेला फ्रान्सकी महारानी मारीको स्वात्विमा थियो । त्यही बेलादेखि यो औंठीको पहिचान पनि महारानी मारीसँगै जोडिन थाल्यो ।

पछि यसलाई बर्बन पारमा परिवारको स्वामित्वमा दिइएको थियो । बर्बन पारमा परिवारले किनेको कयौं वर्षपछि यो हिरा सन् २०१८ मा लिलामी भएको थियो । इतिहासकै महँगो मूल्यमा बिक्री हुने आभूषणमध्येको एक मारी आन्त्वानेटाको यो औँठी मोती जडित छ ।

‘ब्रेकफास्ट एट टिफनिज’बाट चर्चित भएको हिरा

सन् १८७० को दशकमा यो हिरालाई चर्चित कम्पनी टिफनीले किनेको थियो । सन् १९६१ पछि भने यो हिरा निकै चर्चित हुन थाल्यो । सन् १९६१ मा प्रदर्शनमा आएको फिल्म ‘ब्रेकफास्ट एट टिफनिज’को प्रचारको क्रममा यो हिरा लगाएर अभिनेत्री आड्री हेपबर्नले फोटो सुट गराएकी थिइन् । जसकारण यो हिरा निकै चर्चामा आएको थियो ।

आवरणमा पनि यो हिराको हार निकै सुन्दर छ । सांस्कृतिक रुपमा पनि धनी र निकै महँगो यो हिराको इतिहास भने केही डरलाग्दो छ ।

पहेलो रंगको यो हिराको इतिहास हेर्ने हो भने आजसम्म यसलाई ४ जना महिलाले मात्रै लगाएका छन् । १२८.५४ क्यारेटको यो हिरालाई हालसम्म मैरी ह्वाइटहाउस, आड्री हेपबर्न, लेडी गागा र बियोन्सेले मात्रै लगाएका छन् ।

सन् १८७७ मा यो हिरालाई अफ्रिाको किन्बरली उत्खनन क्षेत्रबाट निकालिएको थियो । यो उत्खनन क्षेत्रमा काला जातिका मजदुरलाई निकै दयनीय अवस्थामा काम गर्न लगाइएको थियो । यही अतितका कारण सन् २०२१ मा वासिङ्टन पोस्टले प्रकाशित गरेको एक लेखमा यसलाई ‘ब्ल्याक डायमन्ड’ भनिएको छ ।

रानी भिक्टोरियाको मुकुट

लन्डनस्थित भिक्टोरिया एन्ड अल्बर्ट संग्रहालयमा रहेको सबैभन्दा चर्चित आभूषण यही हो । रानी भिक्टोरियाको यो मुकुटमा बहुमूल्य हिरा तथा मोती जडित छन् । यो मुकुट सन् १८४० मा राजकुमार अल्बर्टले महारानीका लागि डिजाइन गरेका थिए । सोही वर्ष उनीहरुको शाही विवाह पनि भएको थियो ।

जोसेफ किचिङले बनाएको यो मुकुट रानी भिक्टोरियाको सबैभन्दा बहुमूल्य वस्तुमध्येमा पर्छ । युवती हुँदा रानीले यो मुकुट आफैं शिरमा पहिरिने गर्थिन् । तर, राजकुमार अल्बर्टको निधनपछि भने उनले यसलाई आफ्नो श्रीपेचसँगै राखेकी थिइन् ।

नेपोलियनको हिराको हार

ऐतिहासिक ‘नेपोलियन हिराको हार’ सन् १८११ मा फ्रान्सका बादशाहकी दोस्रो श्रीमती तथा रानी मेरी लुईले दोस्रो सन्तान जन्माउँदा उपहारको रुपमा पाएकी थिइन् । चाँदी र सुनको यो हारलाई इतिएन निताले डिजाइन गरेका थिए ।

यो हारमा २३४ वटा हिरा छन् । त्यसमाथि पनि कयौं स-साना हिरा सजाइएको छ । यसमा भएका अधिकांश हिरा भारत र ब्राजिलबाट ल्याइएका थिए ।

फ्रान्सका बादशाह नेपोलियनको पराजयपछि यो हार उनकी श्रीमती मेरीको सहर वियना पुगेको थियो । जब उनको मृत्यु भयो तब यो हार नेपोलियनकी बहिनीको स्वामित्वमा गयो ।

सन् १९४८ सम्म यसको स्वामित्व उनैले लिएकी थिइन् । त्यसपछि फ्रान्सका एक अर्बपतिले यसलाई खरिद गरे । पछि अमेरिकी व्यवसायी मार्जरी मेरिवेदरले किनिन् ।

अहिले यो हिरा स्मिथसोनियन संग्रहालयमा छ । मेरीवेदरले नै यसलाई संग्रहालयमा दान गरेकी थिइन् ।


क्लिकमान्डु