८ महिनामा ३१ अर्ब लगानी प्रतिबद्धता, नाफासहित १६ अर्ब रुपैयाँ विदेश लैजान प्रस्ताव



काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा विभिन्न देशबाट ३१ अर्ब २१ करोड ११ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाइएको छ ।

उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट(एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी विदेशी लगानीकर्ताले ३१ अर्बको लगानी प्रतिबद्धता जनाएका छन् ।

लगानीकर्ताले फागुनसम्ममा १५९ वटा नयाँ उद्योग दर्ता गरी २० अर्ब ५६ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका हुन् । त्यसबाहेक एसपीएर र एसएसए गरी ४३ वटा उद्योगमा १० अर्ब ६५ करोड ११ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ । साथै, टीटीए क्षेत्रमा ३७ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका ती उद्योगबाट ९ हजार ४७८ जनाले रोजगारी पाउने छन् ।

विभागको तथ्याङ्कअनुसार फागुन महिनामा मात्रै ३ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाएको छ । फागुन महिनामा १५ वटा नयाँ उद्योगमा १९ अर्ब २९ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ भने १० वटा उद्योगमा लगानीकर्ताले एसपीए/एसएसए र टीटीए गरी १ अर्ब ५२ करोड ८ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । फागुनमा दर्ता भएका उद्योगबाट ८७३ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ ।

नेपालमा हालसम्ममा विभिन्न देशबाट ४ खर्ब ३९ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको विभागको तथ्याङ्क छ ।

फागुनसम्ममा प्रतिबद्धता जनाइएको लगानीमध्ये सबैभन्दा बढी सेवा क्षेत्रमा छ । सेवा क्षेत्रमा मात्रै ७० वटा उद्योग अर्थात् ४४ प्रतिशत हिस्सा लगानी भएको पाइन्छ । त्यसपछि पर्यटन क्षेत्रमा ६१ वटा उद्योग अर्थात् ३८ प्रतिशत, उत्पादन क्षेत्रमा १६ वटा अर्थात् १० प्रतिशत, आइसीटी क्षेत्रमा ७ वटा अर्थात् ५ वटा र इन्फाइस्ट्रक्चर क्षेत्रमा ५ वटा अर्थात् ३ प्रतिशत विदेशी लगानी प्रतिबद्धता जनाइएको छ ।

फागुन महिनामा भने सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानी भित्रिएको छ । दर्ता भएको उद्योगमध्ये ७ वटा अर्थात् ४६ प्रतिशत विदेशी लगानीकर्ताले पर्यटन क्षेत्रमा प्रतिबद्धता जनाएका छन् । विभागअनुसार पर्यटन क्षेत्रपछि सेवा क्षेत्रमा ४ वटा अर्थत् २७ प्रतिशत, उत्पादन क्षेत्रमा ३ वटा अर्थात् २० प्रतिशत र इन्फाइस्ट्रक्चर क्षेत्रमा एउटा अर्थात् ७ प्रतिशत लगानी भित्रिएको छ ।

लगानी प्रतिबद्धता जनाएका लगानीकर्ताहरुमध्ये ८ महिनाको अवधिमा लगानीकर्ता, डिपिन्डेन्ट र रिप्रिजेटेटिभ गरी १६ सय जनाले बिजनेस भिसा लिएका छन् । साथै, फागुनमा मात्रै २२७ जनाले बिजनेस भिसा लिएका छन् ।

नाफासहित १६ अर्ब रुपैयाँ विदेश लैजान प्रस्ताव

चालू आर्थिक वर्षको ८ महिनामा ३१ अर्बको लगानी प्रतिबद्धता जनाउँदा विदेशी लगानीमा सञ्चालनमा रहेका उद्योगबाट आम्दानीवापत रोयल्टी र नाफासहित १६ अर्ब रुपैयाँ बढी रकम फिर्ता लैजान विभागमा प्रस्ताव आएको छ ।

कुनै पनि विदेशी लगानीमा सञ्चालनमा रहेका उद्योगले गरेको आम्दानीबाट रोयल्टी र लाभांश लैजान विभागमा अनुमति लिनुपर्छ । सोहीअनुसार विदेशी लगानीकर्ताले साउनदेखि फागुनसम्ममा १६ अर्ब १८ करोड ९५ लाख रुपैयाँ रकम फिर्ता लैजान विभागमा प्रस्ताव गरेका हुन् ।

विभागको तथ्याङ्अनुसार रोयल्टीमार्फत् २ अर्ब ८ करोड ९३ लाख ९७ हजार रुपैयाँ, ११ लाख ४८ हजार अमेरिकी डलर (आजको विनिमय दरअनुसार १५ करोड १६ लाख रुपैयाँ), ३० करोड ४७ लाख भारतीय रुपैयाँ (४८ करोड ७६ लाख रुपैयाँ र ७ हजार युरो (९ लाख रुपैयाँ) गरी २ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ र लाभांशवापत १३ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ विदेश फिर्ता लैजान अनुमति माग गर्दै प्रस्ताव पेस गरिएको छ । साथै, १३ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लाभांश फिर्ता लैजान प्रस्ताव पेस भएको छ ।

फागुन महिनामा मात्रै ६५ करोड ७४ लाख रुपैयाँ विदेश लैजान प्रस्ताव गरिएको छ । जसमा ३३ करोड ३० लाख रुपैयाँ, २ लाख ५० हजार अमेरिकी डलर (३ करोड ३० लाख रुपैयाँ), २० लाख १० हजार भारतीय रुपैयाँ (३२ लाख १६ हजार रुपैयाँ) गरी ३६ करोड ९३ लाख रुपैयाँ रोयल्टी फिर्ता लैजान प्रस्ताव पेस गरिएको छ । फागुनमा लाभांश मात्रै २८ करोड ८१ लाख रुपैयाँ विदेश लैजान विभागमा प्रस्ताव पेस भएको छ ।


क्लिकमान्डु