चीनको अर्थतन्त्र सम्हाल्ने पदमा ली चियाङ, नयाँ प्रधानमन्त्रीले सुधार्लान् अवस्था ?



एजेन्सी । चीनमा लि चियाङ प्रधानमन्त्री नियुक्त भएका छन् । चीनका जारी चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च संगठन ‘नेशनल पिपुल्स कांग्रेस’को बैठकमार्फत उनी चीनका नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त भएका हुन् ।

चियाङले प्रधानमन्त्रीका लागि भएको मतदानमा २९ सय ३६ मत पाएका थिए । कुल २९ सय ४७ जना संसदका सदस्यहरुमध्ये ८ जना अनुपस्थित रहेका थिए ।

नव नियुक्त चिनियाँ प्रधानमन्त्री चियाङ चीनका राष्ट्रपति सी जिनपिङ निकटका नेता मानिन्छन् । आफ्नो राजनीतिक करिअरको सुरुवातबाट नै जिनपिङसँग निकट रहेका उनले अब चीनको अर्थतन्त्रलाई कस्तो बाटोमा लैजानेछन् भन्ने पनि जिज्ञाशा धेरैमा पैदा भएको छ ।

चीनको प्रधानमन्त्री पदको मुख्य जिम्मेवारी अर्थतन्त्र सम्हाल्ने भएका कारण पनि चियाङले कोभिड महामारीको समयमा निभाएका जिम्मेवारी तथा पछिल्लो पटक लिएको शूल्य कोभिड नीतिजस्ता घटनाहरुले उनको प्रधानमन्त्री कार्यकाल कस्तो होला भन्ने संशय पैदा पनि भएको छ ।

को हुन ली चियाङ ?

ली चियाङ पार्टीभित्र अहिले चिनफिङभन्दा पछिका शक्तिशाली व्यक्तिका रुपमा छन् । उनलाई गत अक्टुबरमा भएको पार्टीका सदस्यहरुको बैठकबाट पार्टीको स्थायी समितिमा नियुक्त गरिएको थियो ।

ली केचियाङ (पूर्व चीनियाँ प्रधानमन्त्री) र ली चियाङ एकअर्काभन्दा नितान्त फरक रहेका व्यक्तिहरु हुन् । मुख्य गरि चिनफिङप्रति वफादार हुने विषयमा यी दुवै फरक छन् ।

नव नियुक्त चीनियाँ प्रधानमन्त्री ली चियाङ चिनियाँ कम्युनिस्ट पार्टीमा उनको उपस्थितिलाई हेर्ने हो भने उनी निकै सक्रियमध्येका पर्छन् । ली चियाङ पार्टीको संघाई क्षेत्रका प्रमुख भइसकेका छन् ।

चिनफिङ र चियाङबीचको सम्बन्ध निकै पुरानो हो । चियाङसुमा पार्टीको सचिव हुनुभन्दा अघि चियाङ झेझियाङमा थिए । त्यो बेला यो क्षेत्रका पार्टी प्रमुख चिनफिङ थिए । चियांग चिनफिङकै ‘चिफ अफ स्टाफ’ थिए । त्यो बेला यी दुवैले पार्टीका अन्य ठूला पदाधिकारीहरुलाई प्रभावित गर्नका लागि अबेरसम्म पनि काम गर्ने गरेका थिए ।

चियाङ सन् २०१२ मा झेझियाङ प्रान्तकै गर्भनरको रुपमा रहेका थिए ।

२०१६ मा ली चियाङ पूर्वीचीनको निकै धनी प्रान्त जियाङसुमा पार्टीका सचिव नियुक्त भएका थिए । यो प्रान्त आफ्नो क्षेत्रमा भएका प्राविधिक कम्पनीहरुको लागि चर्चित छ । त्यो बेला चियाङले अलीबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा र अन्य व्यापारिक क्षेत्रका अग्रजहरुसँग बैठक गरेका थिए । चियाङले जियाङसु प्रान्तमा व्यापारको अवस्थालाई थप सुदृढ बनाउनका लागि सल्लाह मागेका थिए ।

सन् २०१७ मा उनी पार्टीको सांघाई प्रान्तको सदस्य भएका थिए । सोही वर्ष उनलाई पार्टीको पोलिट्ब्युरोमा सदस्य पनि बनाइएको थियो ।

पार्टीको पोलिटब्युरो सदस्यपछि केही महिनाअघि मात्रै स्थायी समितिमा बढुवा भएका उनी हाल चीनको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनको विगतलाई हेर्ने हो भने अर्थतन्त्रप्रति उनको व्यवहार मिश्रित देखिन्छ ।

कतिपय अवस्थामा चियाङ उदारवादी देखिएका छन् भने कतिपय अवस्थामा उनका कदमहरुले प्रान्तको अर्थतन्त्रलाई नै मारमा पार्नेसम्मका घटनाहरु भएका छन् । यस्तोमा प्रधानमन्त्री नियुक्त भइरहँदा सांघाई प्रान्तमा उनले अपनाएका नीति र गरेको व्यवस्थापनको विषयलाई लिएर पनि चर्चा भइरहेको छ ।

कोभिडकाबीच कस्तो थियो चियाङको संघाईको व्यवस्थापन ?

गत वर्ष चीनको आर्थिक राजधानी मानिने संघाईमा मानिसको जीवनलाई असहज बनाउने लकडाउन गर्ने निर्णय चियाङकै निगरानी र नेतृत्वमा भएको थियो । यो लकडाउनका कारण संघाईका मानिसहरुको जीवनयापन निकै असहज भएको थियो ।

जब चिनफिङले पार्टीको नेतृत्वमा उनलाई दोस्रो स्थान दिए, तब मानिसहरुले यो निर्णयलाई चासोका साथ हेरिरहेका छन् । सांघाईका विषयमा जनताहरुको असन्तुष्टि लकडाउनको विषयमा थिएन् । तर, जुन किसिमले लकडाउनको प्रबन्धन गरिएको थियो, त्यो कारणले भने चिनियाँ नागरिकभित्र चियाङलाई लिएर असन्तुष्टि पैदा भएको छ ।

लकडाउनका बीच मानिसको घरसम्म सामान पुर्‍याउने ‘डेलिभरि पर्सन’सम्मलाई घरमा नै बस्न बाध्य बनाइएको थियो । लकडाउनको समयमा घरभित्रै कैद भएका करोडौं मानिसलाई न सही रुपमा राशन पुगेको थियो न औषधि नै । खाने र पिउने कुराको निकै अभाव भएको थियो ।

जब सरसामान सहज रुपमा घरमा पुग्न थालेको थियो, तब मानिसहरुले कुहिएको टमाटरको तस्बिर चिनियाँ सामाजिक सञ्जालमा राख्न थालेका थिए । यसबाट पनि मानिसहरु कुन रुपमा घरभित्रै कैद भएर बस्न बाध्य भएका थिए भन्ने अनुमान लगाउन सकिन्छ ।

तर, सहरमा लकडाउनको अन्त्य हुनै लाग्दा मानिसहरु दिक्दार भएका थिए । जसकारण उनीहरुले घरमा बन्द भएर बस्नका लागि लगाइएका प्रतिबन्धहरु तोड्न थालेका थिए । मानिसहरु सैनिकसँग लडिरहेका थिए । सरकारले लिएको जिरो कोभिड नीतिको विरुद्धमा सडकमा प्रदर्शन भएको थियो ।

जब चिनियाँ कम्युनिस्ट पार्टीमा चियाङलाई चिनफिङपछिकै शीर्ष स्थान दिइयो, तब चिनियाँ नागरिकहरुले कोरोना महामारीमा वस्तुहरुको प्रबन्धन गर्न असफल भएका व्यक्तिलाई देश चलाउने जिम्मेवारी कसरी दिन मिल्छ भन्ने प्रश्न उठाएका छन् ।
चीनमा रहेका युरोपेली संघअन्तर्गतको चेम्बर्स अफ कर्मसका प्रमुख जोर्ग वुतके भन्छन्, ‘उनी (चियाङ) बुद्धिमान र राम्रा सञ्चालक हुन् । तर, उनलाई यो पद चिनफिङप्रति वफादार भएकै कारण दिइएको छ । यदि राष्ट्रपति चिनफिङले ली चियाङलाई हाम फाल्न भनेमा उनी कति उचाईबाट भनेर सोध्ने व्यक्ति हुन् ।’

अर्कातिर, चियाङको अतितले उनलाई बेग्लै किसिमले प्रस्तुत गर्छ । पछिल्ला केही वर्षमा व्यापारीहरुका बीच उनलाई आविष्कारको रुपमा पनि हेरिएको छ, जसले पार्टीको कठोर नीतिका बीच पनि व्यापारीहरुका लागि बाटो खोज्ने प्रयास गरेका छन् ।

जोर्ग वुतकेले १९९० को दशकदेखि चियांग व्यापारमा रहेको र त्यसयता निरन्तर कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्वसँग उनले कारोबार गरेको बताउँछन् । तर, व्यापारिक समूह र आम उपभोक्ताहरुले पनि शून्य कोभिड नीतिलाई लिएर भने समान महसुस गरेकोले चियाङको चरित्रमाथि प्रश्न उठेको उनी बताउँछन् ।

‘शून्य कोभिड नीतिको असरका कारण मानिसहरु अहिले पनि खर्च गर्नबाट डराइरहेका छन् । यो निकै ठूलो चिन्ताको विषय हो । उनीहरु जोखिम लिनबाट डराइरहेका छन् र धेरै सोचेर मात्रै फैसला लिइरहेका छन् । संघाईमा यो चिन्ता बढी मात्रामा छ र विदेशी लगानीको लागि यो शहर अहिले उति आकर्षक देखिएको छैन’उनले भने ।

तर, यो सबैका लागि लि चियाङमात्र जिम्मेवार भएको भन्न नमिल्ने उनी बताउँछन् । अन्य व्यापारीहरुले पनि यो सबैको जिम्मेवार लि चियाङमात्र नभएको बताउँछन् । ली चियाङलाई सांघाईमा विश्वव्यापी चर्चित विद्यूतीय सवारी कम्पनी टेस्लालाई भित्राएको श्रेय जान्छ ।

अमेरिकाभन्दा बाहिर टेस्लाको पहिलो उद्योग यहीँ स्थापना गरिएको थियो । कम्पनीलाई आफ्नै भेन्चरको रुपमा सांघाईमा कारखाना स्थापना गर्न अनुमति दिइएको थियो । यसका लागि चिनियाँ साझेदार कम्पनी हुनुपर्ने सर्त राखिएको थिएन । जबकि अन्य कम्पनीहरुका लागि यस्तो सर्त राखिन्छ ।

केहीले ली चियाङ धेरै उतारवादी भएको पनि बताउँछन् र उनी नीतिहरुमा परिवर्तनका लागि पनि तयार भएको बताउँछन् । तर, अहिले ली चियाङलाई चिनफिङले कति अधिकार दिनेछन् भन्ने बारेमा खुलेको छैन । उनले नीतिहरुमा नै परिवर्तन गर्न सक्ने अधिकार प्राप्त गर्छन् वा गर्दैनन् त्यो पनि अहिले भन्न सक्ने अवस्था छैन । तर, यदि यस्तो भएमा पनि चियाङले यी कदमहरु चाल्न नसक्ने बताइएको छ ।

चिनफिङको विश्वासपात्र भएको र सदैव समर्थन प्राप्त गर्नुपर्ने पनि भएकाले उनले नीति नै परिवर्तन गर्ने वा अति उदारवादी हुने कदम चाल्नेमा सम्भावना कम रहेको विश्लेषकहरुले बताएका छन् ।

ली चियाङले विगतमा यस्ता कदमको प्रोत्साहन गरेका थिएनन् । तर, अहिले भने उनी चिनफिङकै विश्वासपात्र भएका कारणले गर्दा उनी चिनफिङकै कदमको चुपचाप समर्थन गर्नुपर्ने अवस्थामा भएको बताइन्छ ।

चियाङ जिनपिङका सहयोगी भएर झेझियाङ प्रान्तमा रहँदाबाट पार्टीको संघाई प्रमुखदेखि प्रधानमन्त्री हुँदासम्ममा उनको राजनीतिक यात्रामा चिनफिङको भूमिका धेरै छ । राष्ट्रपतिप्रति वफादार पात्र हुनुपर्ने भएकाले पनि उनको प्रधानमन्त्री काल चिनफिङकै निर्देशनको आधारमा चल्ने विश्लेषकहरुले बताएका छन् ।


क्लिकमान्डु