असोजपछि माघमा सबैभन्दा बढी पेट्रोलियम सवारी आयात, विद्युतीय गाडीको पैठरी दोब्बरले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको माघमा तीन महिनापछिकै सबैभन्दा बढी पेट्रोलबाट चल्ने सवारी साधन आयात भएको छ । माघ महिनामा पेट्रोलियम पदार्थबाट चल्ने १७५ वटा जीप, कार र भ्यान आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

गत असोजमा २१२ वटा गाडी आयात भएको थियो । त्यसपछि पछिल्ला ३ महिनामा उक्त संख्यामा जीप, कार र भ्यान आयात हुन सकेको थिएन । तर, माघ महिनामा गाडीको आयात ह्वात्तै बढेको छ ।

नेपालले कात्तिक महिनामा ७३ वटा, मंसिरमा ११४ वटा र पुसमा ९१ वटा जीप, कार र भ्यान आयात गरेको थियो । साथै, साउनमा १२१ वटा र भदौमा ३६६ वटा पेट्रोलियमबाट चल्ने सवारी साधन आयात गरेको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले १ अर्ब ५३ करोड २४ लाख १६ हजार रुपैयाँको ११ सय ५२ वटा सवारी साधन आयात गरेको छ । उक्त आयातित सवारी साधनबाट सरकारले ३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा ९ हजार ६१५ वटा कम सवारी साधन आयात गरेको छ । गत वर्षको ७ महिनाको अवधिमा नेपालले ११ अर्ब ९० करोड ७७ लाख रुपैयाँको १० हजार ७६७ वटा गाडी आयात गरेको थियो । साथै, उक्त आयातित गाडीबाट नेपालले २७ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

सरकारले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै पैठरीमा कडाइ गरेको थियो । सरकारले विभिन्न चरणमा नगद मार्जिनको व्यवस्थासँगै आयात प्रतिबन्धसमेत गरेको थियो । जसले गर्दा आयातमा कमी भएको विभागको तथ्याङ्क छ ।

सरकारले गत वैशाखमा उच्च आयात हुँदै आएको १० वस्तुको आयातमा प्रतिबन्ध गरेको थियो । साथै, उक्त प्रतिबन्ध विभिन्न चरणमा संशोधन गरेर गत मंसिर मसान्तसम्म कायम गरेको थियो । पुसदेखि भने आयातमा कुनै कडाइ गरिएको छैन ।

त्यस्तै, सरकारले गाडीलगायत अन्य ३ वस्तुको आयात पूर्ण खुल्ला गरेसँगै उक्त वस्तुहरुको पैठरी बढेको देखिन्छ । माघ महिनामा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात पनि बढेको विभागले जनाएको छ ।

नाडा अटोमोबाइल एशोसिएसनकाअ अध्यक्ष ध्रुब थापाले भन्सारमा अड्किएका केही सवारी साधन भित्रिन थालेको बताए । उनकाअनुसार सरकारले गत मंसिरमसान्तदेखि आयातमा कुनै कडाइ गरेको छैन । अब भन्सारमा अड्किएका ३ हजार गाडी विस्तारै भित्रिनेछ ।

तर, अहिले बजारमा माग नहुँदा राजस्व बुझाएर बिक्री गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

अहिले बजारमा तरलताको चरम अभाव छ भने बैंक तथा वित्तिय संस्थाले कर्जा प्रवाह गर्न सकेको छैन । साथै, बजारमा आर्थिक मन्दीको अवस्थामा सवारी साधनको माग कम भएकाले व्यवसायीहरुले आयात गरेर बिक्री गर्न नसक्ने अवस्थामा पुगेको व्यवसायीहरुको भनाइ छ ।

नेपालले ७ महिनाको अवधिमा पेट्रोलियमबाट चल्ने गाडी सबैभन्दा बढी भारतबाट आयात गरेको छ । नेपालले १००० सीसीदेखि २५०० सीसीसम्मको १ हजार ४२ वटा गाडी आयात गरेको छ । जसमा नेपालले सो गाडी आयातका लागि १ अर्ब १३ करोड ७४ लाख रुपैयाँ नेपाली रुपैयाँ बाहिरिएको छ ।

भारतपछि नेपालले जापानबाट २६ करोड ५० लाख ६५ हजार रुपैयाँको ६४ वटा गाडी आयात गरेको छ । साथै, नेपालले ७ महिनको अवधिमा चीनबाट १६ वटा, फ्रान्सबाट १ वटा, जर्मनीबाट २ वटा, दक्षिण कोरियाबाट ५ वटा, स्लोभाकियाबाट १ वटा, स्पेनबाट २ वटा, थाइल्यान्डबाट ५ वटाm बेलायतबाट ३ वटा र अमेरिकाबाट ३ वटा गाडी आयात गरेको छ ।

दोब्बरले बढ्यो विद्युतीय जीप, कार र भ्यान आयात

यता पेट्रोलियम पदार्थको सवारी साधनको आयातमा कडाइ गरेसँगै विद्युतीय सवारी साधनको आयात भने ह्वात्तै बढेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् विद्युतीय सवारी साधनको आयातमा भन्सार शुल्क र अन्तशुल्क घटाएसँगै दोब्बरले बढेको हो ।

नेपालले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँको २ हजार ९ वटा विद्युतीय जीप, कार र भ्यान आयात गरेको छ । उक्त आयातित गाडीबाट नेपालले १ अर्ब ५८ करोड ३६ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ३ अर्ब ४९ करोड ७८ लाख ७३ हजरा रुपैयाँको ११ सय ९१ वटा विद्युतीय सवारी साधन आयात गरेको थियो । जसमा नेपालले ९६ करोड ७७ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले महिनाको अवधिमा १०० किलोवाटसम्मको १९५९ वटा, १०० किलोवाटदेखि २०० किलोवाटसम्मको ४४ वटा, र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको ६ वटा मात्रै विष्द्युतीय गाडी आयात गरेको छ ।

सरकारले बजेटमा १०० किलोवाटसम्मको विद्युतीय गाडीमा भन्सार छुट गरेको थियो भने १०० किलोवाटभन्दा बढीको गाडी आयातमा भन्सारदर अन्तशुल्क बढाएको थियो । जसले गर्दा त्यसको प्रत्यक्ष असर आयातमा देखिएको हो ।


अरिष्मा मोक्तान