एनआईसी एशिया बैंकको त्यो मर्जर, जसले देखायो ‘बिग मर्जर’को बाटो
काठमाडौं । आजभोलि बैंक तथा वित्तीय क्षेत्रमा मर्जर र एक्विजिसनको ठूलो चर्चा छ । बजारका ठूला वाणिज्य बैंकहरुले एकपछि अर्को गर्दै मर्जमा गइरहेका छन् ।
वाणिज्य बैंकमात्र होइन, विकास बैंक, बीमा कम्पनी, फाइनान्सहरुले पनि धमाधम मर्जरमा जाने भन्दै हस्ताक्षर गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वाणिज्य बैंकहरुलाई विशेष सुविधा दिने भएपछि त्यो सुविधा उपभोग गर्न पनि मर्जरमा गइरहेका छन् ।
बजारमा सफल भनिएका कतिपय बैंकहरु नै मर्जरमा गएपछि भने अन्यलाई पनि प्रतिस्पर्धी बन्न पार्टनर खोज्नु पर्ने बाध्यता भएको छ ।
अहिले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा मर्जर चलिरहेको भए पनि एनआईसी एशिया बैंक भने दशकअघि नै ‘बिग मर्जर’मा गइसकेको छ ।
“बैंक संचालकको दूरदृष्टि भिजनले दश वर्षअघि नै दुई बैंक मर्ज भएर एन आईसी एशिया बैंक बनेको हो,” एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भने ।
२०७० असार १६ गते तत्कालिन नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक लिमिटेड (एनआइसी) र बैंक अफ एशिया नेपाल लिमिटेड मर्जमा जाने निर्णय गरि एकीकृत कारोबार शुरु गरेका थिए । उक्त सफल मर्जरपछि एनआईसी एशिया बैंक बन्यो । जुन बैंक अहिले मुलुकको लागि सफल उदारणीय मर्जर बन्दै देशकै ठूलो बैंक बन्न सफल भएको छ ।
नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक लिमिटेड (एनआइसी) र बैंक अफ एशिया नेपाल लिमिटेड मर्जमा जाने निर्णय गर्दा बैंक गाभिने कुरा कसैले गर्न सक्दैनथे । तर, तत्कालीन गभर्नर डा. युवराज खतिवडाले २०६८ सालमा बैंक मर्जरको नीति ल्याए ।
नेपालका वाणिज्य बैंकहरुको संख्या धेरै भएको र यिनीहरुको मजबुत बनाउन मर्जरमा गएर पुँजी वृद्धि गर्नुपर्ने राष्ट्र बैंकले पहिलो पटक नयाँ नीति लिएको थियो । धेरै बैंक हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने र कुनै पनि बेला बैंकहरु समस्या पर्न सक्ने भन्दै तत्काली गर्भनर खतिवडाले बिग मर्जरको नीति अगाडि सारेका थिए ।
नेपाल राष्ट्र बैंकले उक्त नीति अगाडि सारेपछि पहिलो चरणमै कार्यान्वयन गर्दै नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक लिमिटेड (एनआइसी) र बैंक अफ एशिया नेपाल लिमिटेड मर्जमा जाने निर्णय गरेका थिए ।
त्यो बेला नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक लिमिटेड (एनआइसी) र बैंक अफ एशिया नेपाल लिमिटेड आफैमा सफल बैंक थिए । दुबै बैंक ग्राहकमाझ लोकप्रिय थिए ।
२०५५ साउन ५ गते विराटनगरमा स्थापना भएको एनआईसी एशिया बैंक लोकप्रिय क्षेत्रीय बैंकका रुपमा स्थापना भइसकेको थियो ।
बैंकले आर्थिक वर्ष २०५६/५७ मा १७.५ करोडको प्राथमिक शेयर निष्कासन गर्दा ८ गुणाभन्दा बढी आवेदन परेका थिए । जसले एनआईसी बैंक ग्राहकमाझ कति विश्वसनीय छ भन्ने देखायो । यो आवेदनलाई छोटो समयमै सर्वसाधारणले बैंकप्रति गरेको अभुतपूर्व विश्वास र भरोसाको प्रतिविम्ब भएको ठान्छन् यस बैंकका प्रमोटरहरु ।
हुने बिरुवाको चिल्लो पात भने जस्तै बैंकले शुरुवातदेखि नै पृथक, आधुनिक र सेवाग्राही केन्द्रित बैंकको रुपमा परिचित गराउने प्रयास गर्यो । ६ वर्षमै यस बैंकले ठूलो सफलता प्राप्त गरिसकेको थियो । एनआइसी यस्तो बैंक हो जसले नेपालमा पहिलो पटक सेभिङ अकाउन्टमा लाइफ इन्स्योरेन्स घोषणा गरेको थियो । उसले सन् २००३ मा नै ‘एनआइसी लाइफ सेभिङ अकाउन्ट’ ल्याएको थियो ।
ग्राहकको आवश्यकतालाई बुझेर एन आई सीले अर्को वर्ष नेपालमै पहिलो पटक सबैभन्दा सस्तो दरमा ‘घर सुविधा’ प्रोडक्टमार्फत होम लोनको सुविधा ल्यायो । यो बैंक ‘होम लोन’को सुविधा ल्याउने अग्रहणी बैंकमा पर्छ । बैंकले प्रगति गर्दै जाँदा विभिन्न अवार्ड र सर्टिफिकेसन पाउन थाल्यो । त्यो पनि अन्य बाणिज्य बैंकलाई उछिन्दै ।
स्थापना भएको ९ वर्षमै आर्थिक वर्ष २०६६/६७ मा ‘आई एस ओ ९००१:२००८’ सर्टिफिकेशन प्राप्त गर्यो । यो सर्टिफिकेट मुलुकको बाणिज्य बैंकहरुमा सबैभन्दा पहिलो थियो । एन आई सीले क्वालिटी म्यानेजमेन्ट सिस्टमको लागि उक्त सर्टिफिकेसन प्राप्त गरेको थियो । यहीबेला बैंकले मुलुकमै पहिलो पटक आईएफसीबाट ‘लाइन अफ क्रेडिट’ प्राप्त गर्ने पहिलो बैंक बन्यो । अन्तर्राष्ट्रिय स्तरको सर्टिफिकेट प्राप्त गरेसँगै बैंकले अन्तर्राष्ट्रिय स्तरकै अवार्ड हात पार्न शुरु गर्यो ।
स्थापना भएको १० वर्ष नपुग्दै बेलायतको ‘द फाइनान्सियल्स टाइम्स’ले दिने ‘बैंक अफ दि इयर २००७’ अवार्ड प्राप्त गर्यो । यसले एन आई सीलाई विश्वस्तरमा ‘रिकग्नाइज’ हुने अवसर प्राप्त भयो ।
एनआईसीले शुरुदेखि नै केही नयाँ, पृथक र बजारको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरिरयो । यसैको फलस्वरुप बैंकले सन् २००७ मा नेपालमै पहिलो पटक बैंकिङ च्यानलमार्फत् विदेशबाट सुनचाँदी आयात गरी बिक्री वितरण गर्ने प्रणालीको थालनी गर्यो ।
त्यहीबेला बैंकले ‘एनआइसी सुपर डिपोजिट’ अफर ल्याएको थियो । जुन बैंकिङ इतिहासमा पहिलो उच्च ब्याजदर दिने ‘फिक्स्ड डिपोजिट स्किम’ थियो ।
त्यस्तै, ग्राहकको सुविधाको लागि भनेर बैंकले २००८ देखि डोमेस्टिक रेमिट्यान्स शुरु गर्यो । यो सुविधा आएपछि जुनसुकै शाखाबाट पठाएको पैसा अर्को शाखामा पाउन सकिने भयो ।
बैंकले गरेको नयाँ, नौला र ग्राहकको विश्वास जित्दै गएपछि अवार्ड र सर्टिफिकेट थपिदै गए । सन् २००९ मा बैंकले पुनः आइएसओः ९००१: २००८ बाट सम्मानित भयो । यसै वर्ष बैंकले भिसा डेभिड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, पीएसटीएल बिल पेमेन्ट र युटिलिटी बिल पेमेन्ट पनि शुरु गर्यो ।
त्यहीबेला त्यस्तै प्रगति गरेको अर्को बैंक थियो बैंक अफ एशिया नेपाल । बैक अफ एशिया बैंकले सन् २००७ देखि नै आफ्नो कारोबार शुरु गरेको थियो ।
२ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंक अफ एशिया नेपालका त्योबेला मुलुकभर २९ वटा शाखा सञ्चालनमा थिए । तीमध्ये काठमाडौंमा १५ शाखा थिए ।
त्यो बेला बैंक अफ एशिया नेपालले मुलुकको बैंकिङ्ग क्षेत्रमा इनोभेटिभ प्रोडक्टहरु ल्याएर ग्राहक माँझ लोकप्रिय बनेको थियो । जस्तो कि रेमिट खाता, सुलभ बचत, समृद्धि बचत, स्पेसल सेभिङ स्किम, धन वर्षा बचत खाता, कर्पोरेट बैंकिङ, बिजनेस बैंकिङ्ग जस्ता अनेक प्रोडक्ट सार्वजनिक गरेको थियो । जसले गर्दा हरेक वर्गका ग्राहकमा बैंक पुग्न सफल भएको थियो ।
सफलताको बाटोमा हिडिरहेका एनआईसी र बैंक अफ एशिया नेपाल लिमिटेडले २०७० असार १६ (२०१३ जुन ३०) मा दुवै बैंक एकआपसमा गाभिने ऐतिहासिक निर्णय गरे ।
यो निर्णय नेपालको बैंकिङ्ग क्षेत्रमा नै ऐतिहासिक थियो । नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक दुईवटा सवल ‘क’ वर्गका वाणिज्य बैंकहरु एकआपसमा गाभिएको इतिहास पनि एनआईसी एशियाले रच्यो । मर्जपछि एनआइसी एशिया बैंक पुँजी संरचना मजबुत, ग्राहक आधार फराकिलो, सवल तथा मजबुत बैंकको रुपमा रुपान्तरित भयो ।
मर्जर नीतिले सकारात्मक लय लिएपछि एनआईसी एशिया बैंक आज देशकै अग्रणी बैंकमात्र बनेको छैन अन्य बैंकलाई र्मचरपछि पनि धेरै प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगिसकेको छ । यो बैंकको लागि पनि सुखद कुरा पनि हो । यसले मुलुकको वित्तीय क्षेत्र सुधार मात्र गर्ने छैन, नेपालमा सबल बैंकिङ्ग प्रणाली स्थापना हुनेछ ।
दुई बैंक मर्जरमा गएपछि एकीकृत कारोबार शुरु गरेर लय समातिसकेको थियो । बैंक मर्जरमा गएको लगत्तै एनआईसी एशिया बैंकले पुनः ‘बैंक अफ दि इयर २०१३’ बाट सम्मानित भयो ।
यस्ता अवार्ड एवं सर्टिफिकेसनले बैंक लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुमा उत्साह थप्दै गयो । यसले अझ प्रभावकारी र परिस्कृत काम गर्न ऊर्जा मिलेको बैंकको भनाइ छ ।
यस बैंकको यिनै सुविधाका कारण बैंकप्रति ग्राहकको आकर्षण र विश्वास बढ्दो छ । आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म आइपुग्दा विभिन्न सुचकांकमा बैक अग्रणी अवस्थामा नै रहेको छ ।
प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेको नेतृत्वमा रहेको एनआईसी एशिया बैंकले पछिल्लो वर्षमा आक्रमक बजार विस्तार गरिरहेको छ । न्यौपाने बैंकको नेतृत्वमा आएको पाँच वर्षमा आकर्षक सेवा सुविधा उपलब्ध गराउँदै बैंकलाई मुलुककै पहिलो बैंकमा उभ्याउन सफल भएका छन् ।
कर्जा विस्तार, निक्षेप संकलन, प्रतिशेयर आम्दानी, स्व-पूँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटिएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था अघिको) मा मुलुकका वाणिज्य बैंकहरूमा अग्रणी स्थानमा रहेको छ ।