आशाको उद्यमशीलताः ४ हजारमा थालेको उद्योग ७ लाखको भयो
विराटनगर । आशा (रुपान) लिम्बू कक्षा ८ पढ्दै गर्दा १५ वर्षअघि अभिभावकको दबाबमा विवाह गर्न बाध्य भइन् । सदरमुकाम ताप्लेजुङको फुङ्लिङ नगरपालिका घर भएकी उनी विवाह हुँदा १८ वर्षकी मात्र थिइन् ।
विवाहपछि केही समय विद्यालय धाइन् । तर, घरायसी कामधन्धाले फुर्सद नमिलेपछि बीचैमा पढाइ छाड्न बाध्य भइन् ।
तीन छोराकी आमा उनी अहिले ३२ वर्षकी भइन् । विवाहपश्चात् उनको जीवन संघर्षमा व्यापार-व्यवसाय गर्दाका दुःखकष्टका कथा धेरै छन् । तिनै दुःखकष्टका कथाबाट उनको जीवन उद्यमतर्फ मोडिन पुगेको छ ।
चार वर्ष भयो, आशाले कपडा उद्योग खोलेको । उनको उद्योगको नाम उत्तम अल्लो कपडा उद्योग हो । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गरिएको छ ।
आशाले ४ हजार रुपैयाँबाट उद्योग सुरु गरेकी थिइन् । अहिले लगानी बढेर ७ लाख रुपैयाँ पुगेको छ । नेपाल बैंकबाट ५ लाख रुपैयाँ ऋण लिएर उनले उद्योग विस्तार गरेकी हुन् ।
‘किस्ता–किस्ता बुझाएर नियमित साँवा–ब्याज घटाइरहेकी छु,’ उनी भन्छिन्, ‘अब त आधा मात्र तिर्न बाँकी छ ।’ अहिले उनको उद्योगमा ५ जना महिलाले रोजगारी पाएका छन् ।
उद्योग सञ्चालनमा श्रीमान उसान लिम्बू फुरुम्बोको राम्रो साथ–सहयोग छ । फरुम्बोले पनि उनले जस्तै कक्षा ८ सम्म पढेका छन्।
आशाले विवाहपछि पनि पढाइलाई निरन्तरता दिने सोच नबनाएकी होइनन् । ‘तर विवाहलगत्तै परिवारमा देवर बित्नुभो अनि मेरो पढाइले विश्राम पायो,’ उनले भनिन्, ‘नपढेकोमा अहिले पनि पछुतो छ ।’ समय पाए अझै पढ्ने उनको धोको छ ।
व्यवसायको बाधक कोरोना र सडक
अल्लो उद्योग सुरु गर्नुअघि उनको व्यापार अरु नै थियो । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिर जाने बाटोमा उनको होटल थियो ।
त्यसबेला उनले व्यापार गरेको ठाउँसम्म मात्र मोटरबाटो पुगेको थियो । धेरै तीर्थयात्री अनि गाडीका स्टाफले उनको होटलमा खान खान्थे । बास बस्थे । आम्दानी मनग्य थियो ।
जब मोटरबाटो त्यहाँबाट बिस्तार भएर अगाडि गयो, त्यसपछि उनको होटल चल्न छाड्यो । त्यसपछि उनले होटल व्यवसाय छाडिन् ।
होटल छाडेपछि त्यही बाटोमा पर्ने सेवारो चोकमा तरकारी व्यापार गर्न थालिन् । तरकारीखेती पनि आफैं गर्थिन् । तर, त्यसबाट पनि राम्रो नाफा भएन ।
आम्दानी भनेजस्तो नभएपछि तरकारी व्यापार नगर्ने मुड बनाइन् । त्यसपछि सुनपाती, भैरुङपातीको जडिबुटीयुक्त डोरीधूप, भुटेको मकैको सातु, गुन्द्रुक र च्याउको व्यापार गरिन् ।
तर, त्यो व्यापार पनि कोरोना महामारीले गर्दा लामो समय चल्न सकेन । दोमनमा थिइन् आशा ।
त्यसबेला उनका श्रीमान उसान काठ मिस्त्री थिए । श्रीमानको कमाइबाट घर-व्यवहार जसोतसो चलेको थियो ।
छोराहरु हुर्किंदै थिए । हुर्केका छोराहरुलाई स्कुल पठाउनुपर्ने दायित्व थपियो । तर, नजिकमा स्कुल थिएनन् । एकातिर छोराहरु पढाउन नजिकमा स्कुल नभएको तनाव र अर्कातिर व्यापारबाट सोचे जस्तो आम्दानी नभइरहेको अवस्था ।
आफूले पढ्न नपाएको पीडाले थिचिइरहेकी उनलाई राम्रो नाफा हुन नसकेको व्यापार गरेर बसिरहन मन लागेन । त्यसपछि आशा र उसानबीच जिल्ला सदरमुकाम फुङ्लिङ आउने सल्लाह भयो ।
‘फुङ्लिङमा त्यसै बस्ने कुरा भएन । केही त गर्नुपर्छ भन्ने ठानेँ,’ उनले भनिन्, ‘त्यसपछि अल्लोको व्यापार गर्ने सोच बनाएँ । घरेलुमा ४ महिना तालिम लिएँ ।’
तालिमपछि घरेलु कार्यालयले आशालाई १६ हजार छुट गरेर २० हजार रुपैयाँ मूल्य पर्ने कपडा बुन्ने काठले बनेको एउटा तान दियो । उनका लागि त्यही तान उद्यमशीलताको बलियो आधार बन्यो ।
तान चलाउन सुरुमा संखुवासभा र काठमाडौंबाट मगाइन् । तर, त्यसरी मगाउँदा समयमा आइनपुग्ने र खर्च पनि धेरै लाग्ने भयो । उनले त्यसको पनि विकल्प खोजिन् ।
घरेलु कार्यालयबाट फेरि धागो बनाउने तालिम लिइन् । श्रीमान उसान पनि काठको काम छाडेर श्रीमतीलाई सघाउन थाले ।
तीन छोराहरु हुर्काउनु, खुवाउनुजस्ता काम हुँदाहुँदै पनि उनले घरेलु उद्योग सञ्चालन गरेर देखाउने आँट गरिन् । फलस्वरुप अहिले उनका उद्योग विस्तार भएको छ । उद्योगमा ६ वटा त तान छन् ।
अहिले उसानले काठको काम पूर्ण रुपमा छाडिसकेका छन् । त्यही उद्योगबाट उनीहरुको छोराहरुको स्वास्थ्य, शिक्षा र घरखर्च राम्रारी चलेको छ ।
धागो निकाल्ने तरिका
अल्लोको धागो बनाउन निकै मेहनत गर्नुपर्छ । तर, मेहनतअनुसारको प्रतिफल छैन ।
‘भालु सिस्नो र अल्लोको लोक्ता (बोक्रा) काडेर त्यसलाई खरानी पानीमा पकाउनुपर्छ,’ धागो बनाउने प्रक्रिया उनले सुनाइन्, ‘त्यसपछि पानीमा राम्ररी धुनुपर्छ, सुकेको लोक्तालाई माटो मोलेर बाक्लो बनाउनपर्छ र फेरि पानीमा भिजाउनुपर्छ ।’
त्यसपछि सुकाएर काठको मुङ्ग्रोले कुटेर रुवा निकाल्ने गरिन्छ । रुवालाई चर्खामार्फत धागो कातेर कपडा बुन्ने हो । ‘धागो निकाल्न निकै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘तर, यति मेहनत गरेर उत्पादित सामग्री बेच्न झनै सकस पर्छ ।’
बजारमा धेरै प्रतिस्पर्धा भएकाले सरकारले बजारीकरणमा सहयोग गरे व्यापार राम्रो हुने उनको बुझाइ छ ।
ऋण नपाएको गुनासो
आशा अझै उद्योग विस्तार गर्न चाहन्छिन् । तर, सरकारबाट कुनै सहयोग छैन । अरु त अरु सहुलियतपूर्ण कर्जा पनि पाउन सकेकी छैनन् ।
‘हामीजस्ता महिला उद्यमीलाई सरकारले सहज तरिकाले सहुलियतपूर्ण ऋण दिने भन्ने सुनेको छु,’ उनी भन्छिन्, ‘तर व्यवहारमा त्यस्तो छैन ।’
यसअघि नेपाल बैंकबाट ५ लाख रुपैयाँ ऋण लिएकोमा किस्तामा साँवा तिरेर अब २ लाख रुपैयाँ बाँकी छ । ‘त्यसैमा थपेर अरु १० लाख रूपैयाँ माग गर्दा बैंकले पनि दिन मानेन,’ उनले दुखेसो गरिन्, ‘पहिलाचाहिँ बैंकका कर्मचारीले थप रकम दिन्छु भने तर अहिले गरिरहेका छन् ।’
आधुनिक तान राख्ने सोच
परम्परागत काठको तानबाट कपडा बुन्न धेरै समय खर्चिनुपरेकोले अब आधुनिक फलामबाट बनेको तान राख्ने उनको चाहना छ । तर, त्यसका लागि लगानी गर्ने रकम छैन ।
‘न बैंकले थप ऋण दिन्छ न त सरकारको सहुलियतपूर्ण कर्जा नै पाइन्छ,’ आशा भन्छिन्, ‘आधुनिक धागो कात्ने मेसिनको ५ लाख रुपैयाँ पर्छ रे ! किन्ने पो कसरी ?’
अहिले उनले दुईवटा अलग–अलग ठाउँमा टहरा भाडामा लिएर उद्योग चलाइरहेकी छन् । लगानीका लागि पैसा पाए एकै ठाउँमा नयाँ र aआधुनिक मेसिनबाट उद्योग सञ्चालन गर्ने उनको सोच छ ।