‘सरकारको व्यवहारले सुनचाँदी व्यवसायीमा पेशाप्रति नै वितृष्णा पैदा गर्यो’



काठमाडौं । सुनचाँदी व्यवसायी क्षेत्रमा संलग्न विभिन्न संघसंस्थाहरुले सरकारको व्यवहारले सुनचाँदी व्यवसायीमा हतोत्साही मात्रै होइन, सिंगो पेशाप्रति नै वितृष्णा पैदा गरेको बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्ताकला महासंघले आज संयुक्तरुपमा कार्यक्रम गर्दै सरकारको नीति नियमले दुःख पाइरहेको बताएका हुन् ।

व्यवसायीहरुका अनुसार सरकारले अहिले दैनिक १० किलोग्राम सुनको आपूर्ति व्यवस्था गरेको छ । सरकारले निर्धारित कार्यविधिअनुरुप तीनै महासंघका सदस्य व्यवसायीहरुले अत्यन्त थोरै मात्रामा प्राप्त गर्दै आएका छन् । बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा र अफ सिजनको समयमा पनि झण्डै १० देखि १५ किलोको हाराहारीमा कच्चा सुनको माग हुने गरेको भए पनि हाल दैनिक १० किलो मात्र कच्चा सुन आयात हुने गरेकोले आम उपभोक्ताको आवश्यकता पुरा गर्न कठीन रहेको महासंघको भनाइ छ ।

त्यसैगरी, व्यवसायीमहरुले विधिवत तरिकाले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने नेपाल सरकारबाट राजपत्रमा प्रकाशित गरी सुविधाको व्यवस्था गरेको छ । यसरी आउने सुनले बजारको मागलाई केही हदसम्म भए पनि भरथेग पुरÞ्याइरहेको अवस्था थियो ।

तर, पछिल्लो समयमा यसरी ल्याइएका सुनका गरगहनाहरुलाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने ब्यवसायीहरुलाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेकाले व्यवसायीहरुले धेरै हतोत्साही भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए ।

‘राज्यले तोकेको मापदण्ड अनुरुप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायीलाई अपराधि जस्तो व्यवहार गर्न थालिएको छ । जसले आम राज्यको नियमअनुसार दर्ता गरी बसेका व्यवसायीहरुलाई हतोत्साही मात्र वनाएको छैन, सिङगो पेशा प्रति नै वितृष्णा पैदा गरेको छ,’ उनले भने ।

सरकारले सुनका गरगहना नेपाल ल्याउँदा सम्बद्ध चेकजाँच गर्ने स्थानमा नै त्यसको वैधता परीक्षण गर्न आवश्यक हुन्छ । भन्सारवाट विविधतरुपमा ल्याइएका गरगहनाहरु व्यवसायीको पसल, दोकानमा जम्मा हुँदा त्यसैलाई अवैध सम्झने, गरगहना देख्ने वित्तिकै त्यस प्रति गलत आसंका गर्ने, व्यवसायीलाई त्रसित र आतंकित बनाउने, अनुसन्धानका नाममा अनावश्यक दुःख दिने कार्यप्रति महासंघले विरोध जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यलेनेपालको राजपत्रमा ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने प्रष्ट व्यवस्था रहे पनि विभिन्न चरणमा सुनको आपूर्तिमा कोटाको व्यवस्थाले व्यवसायीहरु मारमा परेको बताए । उनकाअनुसार अन्य विलासिता वस्तुसमेत आयात खुल्ला गरेको अवस्थामा सुनचाँदीमा कोटाको व्यवस्थाले यस क्षेत्रमा आवद्ध भएका व्यवसायीलाई न्यायोचित ढङ्गबाट हेरेको देखिँदैन ।

त्यस्तै, उनले नेपाली मौलिक गरगहनाहरु विश्वव्यापीरुपमा माग रेहेको सम्वन्धमा गरगहना निर्यातका लागि, स्थानिय बजारको व्यवस्थापनका लागि र घरघरमा रहने आम उपभोक्ताहरुको सम्पत्तिका रुपमा रहनका लागि सुनचाँदी गरगहनाको यस पेशा ब्यवसायलाई आवश्यक नीति, नियम र ऐन कानूनको अति आवश्यक रहेको जिकिर गरे ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पर्याप्त सुनचाँदी नहुँदा हस्तकला क्षेत्रमा असर परेको बताए । कार्यक्रममा व्यवसायीहरुले राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेशा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फवाट प्रष्ट मापदण्ड (निर्देशिका) ऐन, कानून बनाई सिघ्र लागु गर्न माग गरेको छ । साथै, सुनचाँदी व्यवसायको विकास र प्रवर्द्धन हुने गरी ऐन नियम कार्यविधि निर्माणका लागि पहल गर्न तीनै वटा महासंघले माग गरेको छ ।


क्लिकमान्डु