बैंकमा कर्जाको माग घट्यो, ७ महिनामा कुन बैंकले कति बिजनेस गरे ?



काठमाडौं । उच्च ब्याजदरको प्रभाव कर्जा प्रवाहमा देखिन थालेको छ । पुस र माघमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा ह्रास आएको हो । पुसमा निक्षेप संकलनको तुलनामा ५७ र माघमा ४४ प्रतिशत मात्र कर्जा प्रवाह भएको छ ।

माघमा २५ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको मात्र हिस्सा साढे २३ अर्बभन्दा बढी छ । त्यस्तै कर्जा प्रवाहमा पनि एनआईसी एसियाको हिस्सा शतप्रतिशतभन्दा बढी छ ।

बैंकमा लगानीयोग्य रकम अभाव भएपछि उच्च ब्याज दिएर निक्षेप संकलन गरिरहेका वाणिज्य बैंकहरुले कर्जामा पनि सोही अनुपातमा ब्याज बढाएका छन् । अहिले अधिकांश वाणिज्य बैंकले कर्जामा १५-१६ प्रतिशतभन्दा बढी ब्याज लिइरहेका छन् ।

बितेका ७ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन करिब २ खर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह १ खर्ब १५ अर्ब रुपैयाँ बढेको छ । असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब रहेको निक्षेप संकलन माघ मसान्तसम्ममा ४७ खर्ब ४१ अर्ब पुगेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार ७ महिनामा वाणिज्य बैंकको निक्षेप ४.४ प्रतिशतले बढेको हो ।

त्यस्तै असार मसान्तसम्म ४१ खर्ब ७४ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल कर्जा माघ अन्तिमसम्ममा बढेर ४२ खर्ब ९० अर्ब पुगेको छ । वाणिज्य बैंकहरुले २.७५ प्रतिशतले कर्जा प्रवाह बढाएका हुन् ।

माघमा भने वाणिज्य बैंकहरुको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह आधाभन्दा कम छ । माघमा २५ अर्ब ६ करोडले निक्षेप थपिँदा कर्जा प्रवाह भने आधाभन्दा कम अर्थात् ११ अर्ब ८२ करोड रुपैयाँ मात्र भएको हो ।

साउनदेखि माघसम्मको अवधिमा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक र नेपाल बैंक छन् । यो अवधिमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नबिल, एनआईसी एसिया, नेपाल एसबीआई र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक छन् ।

७ महिनामा २२ मध्ये १९ बैंकको निक्षेप बढ्दा सिभिल, कुमारी र प्रभु बैंकको घटेको छ । त्यस्तै १९ बैंकको कर्जा प्रवाह बढ्दा नेपाल बैंक, सनराइज बैंक, कुमारी बैंक र ग्लोबल आईएमई बैंकको भने ऋणात्मक छ ।

माघमा एनआईसी एसियाले मात्र ५० प्रतिशत भन्दा बढी निक्षेप संकलन थप गरेको छ । माघमा थप २५ अर्ब ६ करोड निक्षेप संकलन हुँदा एनआईसीको मात्र १२ अर्ब ८१ करोड रुपैयाँ भएको हो ।

त्यस्तै माघको कुल कर्जा प्रवाह पनि एनआईसीकै कारण धनात्मक बनेको छ । माघमा कुल कर्जा प्रवाह ११ अर्ब ८२ करोड हुँदा एनआईसीको मात्र १५ अर्ब ५१ करोड रुपैयाँ छ ।

पुसमा पनि निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह निकै कम छ । पुसमा कुल ९६ अर्ब रुपैयाँबराबर निक्षेप संकलन हुँदा कर्जा प्रवाह ५५ अर्ब रुपैयाँ हाराहारी छ । यो करिब ५७ प्रतिशत मात्र हो ।

केही बैंकले कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) भन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

सेन्चुरी, एनसीसी, बीओके र मेगा बैंक क्रमशः प्रभु, कुमारी, ग्लोबल आईएमई र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा गाभिएका छन् ।

कुन बैंकको व्यवसाय कस्तो ?

ग्लोबल आईएमई बैंक

हालै मात्र बैंक अफ काठमाडौंलाई गाभेर सर्वाधिक ठूलो बनेको ग्लोबल आईएमई बैंक निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा अगाडि छ । माघ मसान्तसम्ममा यो बैंकले ४ खर्ब १५ अर्ब निक्षेप संकलन गरेको छ भने ३ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा १८ अर्ब निक्षेप बढाएको बैंकको कर्जा प्रवाह भने ४३ करोडले घटेको छ । माघमा मात्रै करिब २ अर्ब थप निक्षेप संकलन गरेको ग्लोबल आईएमईको कर्जा प्रवाह भने १ अर्ब ३८ करोडले घटेको छ ।

नबिल बैंक

माघसम्ममा नबिल बैंकको कुल निक्षेप संकलन ३ खर्ब ६० अर्ब पुगेको छ भने कर्जा प्रवाह ३ खर्ब २३ अर्ब ७१ करोड रुपैयाँ नाघेको छ । साउनदेखि माघसम्मको अवधिमा नबिल बैंकले सबैभन्दा बढी १४ अर्ब ६५ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेको छ ।

यो अवधिमा बैंकले ३० अर्ब ८८ करोड निक्षेप संकलन गरेको नेपाल बैंकर्स संघले जनाएको छ । माघमा मात्रै नबिल बैंकको निक्षेप संकलन ६ अर्ब २७ करोडले बढेको छ । कर्जा प्रवाह भने १ अर्ब १४ करोडले घटेको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

मेगा बैंकसँग केही अघि मात्र मर्जर प्रक्रिया सम्पन्न गरेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको हालसम्मको कुल निक्षेप संकलन ३ खर्ब ५१ अर्ब रुपैयाँभन्दा बढी छ । हालसम्ममा बैंकले ३ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेको छ ।

चालू आवको ७ महिनामा थप ९ अर्ब १० करोड निक्षेप संकलन गरेको इन्भेस्टमेन्ट मेगा बैंकले कर्जा प्रवाह भने थप १० अर्ब ८८ करोड गरेको छ । त्यस्तै माघमा साढे अर्बले बैंकको निक्षेप संकलन घटेको छ भने कर्जा प्रवाह पनि २ अर्ब १७ करोडले घटेको छ ।

एनआईसी एसिया बैंक

व्यवसाय प्रवर्धनमा केही वर्ष अघिसम्म आक्रामक रुपमा लागिपरेको एनआईसी एसिया बैंक मध्यम बैंकको सूचीबाट अहिले अब्बलमध्येका बैंकको सूचीमा उक्लिएको छ । सात महिनामा मात्रै २६ अर्ब ५२ करोड रुपैयाँ थप निक्षेप संकलन गरेको बैंकको कुल निक्षेप ३ खर्ब २१ अर्ब नाघेको छ ।

त्यस्तै ७ महिनामा १३ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको बैंकको कुल कर्जा प्रवाह २ खर्ब ८२ अर्बभन्दा बढी छ । माघमा मात्र १२ अर्ब ८१ करोड निक्षेप संकलन गरेको छ भने १५ अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ ।

कुमारी बैंक

हालै मात्र एनसीसी बैंकलाई समाहित गरेको कुमारी बैंक निक्षेप संकलनका हिसाबले पाँचौं नम्बरमा छ । कुमारी बैंकको कुल निक्षेप ३ खर्ब ५ अर्ब छ भने कर्जा प्रवाह २ खर्ब ८४ अर्ब छ ।

best fi

चालू आवको ७ महिनामा बैंकको निक्षेप संकलन १८ अर्ब ७० करोड रुपैयाँले घटेको छ भने कर्जा प्रवाह १ अर्ब ६५ करोडले घटेको छ । माघमा मात्रै २ अर्ब ७७ करोड रुपैयाँले निक्षेप संकलन बढाएको बैंकले २ अर्ब ७ करोडले कर्जा प्रवाह बढाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्ममा २ खर्ब ९२ अर्ब निक्षेप संकलन गर्दा २ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेको छ ।

बैंकले ७ महिनामा ३६ अर्ब थप निक्षेप संकलन गर्दा ७ अर्ब २६ करोड कर्जा प्रवाह बढाएको छ । त्यस्तै माघमा मात्र बैंकले निक्षेप संकलनमा १० अर्ब ७६ करोड र कर्जा प्रवाहमा ५२ करोड वृद्धि गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल

सिटिजन्स बैंकको अहिलेसम्मको कुल निक्षेप संकलन १ खर्ब ५८ अर्ब छ भने कर्जा प्रवाह १ खर्ब ४२ अर्ब रुपैयाँ छ । मध्यम स्तरमा व्यवसाय गरिरहेको यो बैंकले चालू आवको ७ महिनामा ३ अर्ब ५६ करोड थप निक्षेप संकलन गर्दा ६ अर्ब ३४ करोडले कर्जा प्रवाह बढाएको छ ।

माघमा मात्र बैंकको निक्षेप संकलन २ अर्ब ७४ करोडले घटेको छ भने कर्जा प्रवाह ४२ करोडले घटेको छ ।

सिभिल बैंक

हिमालयन बैंकसँगको मर्जर अन्तिम चरणमा पुगेको सिभिल बैंकको व्यवसाय अरु बैंकको तुलनामा सानो छ । माघ मसान्तसम्ममा बैंकको निक्षेप संकलन ९३ अर्ब ५८ करोड रुपैयाँ छ भने कर्जा प्रवाह ८७ अर्ब ५१ करोड छ ।

पछिल्ला ७ महिनामा बैंकको निक्षेप संकलन २ अर्ब ४६ करोडले घटेको छ भने कर्जा प्रवाह पनि ३३ करोडले खुम्चिएको छ । माघमा मात्र बैंकको निक्षेप १ अर्ब ८३ करोडले घट्दा कर्जा प्रवाहमा ६ करोडले कमी आएको छ । 

एभरेस्ट बैंक

माघ महिनामा एभरेस्ट बैंकको व्यवसाय घटेको छ । माघमा बैंकको निक्षेप २३ करोडले घटेको छ भने कर्जा प्रवाह पनि १ अर्ब ९ करोडले घटेको छ ।

हालसम्ममा १ खर्ब ८१ अर्ब निक्षेप संकलन गरेको यो बैंकले १ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेको छ । बितेका ७ महिनामा बैंकले थप ७ अर्ब ९४ करोड निक्षेप संकलन गर्दा ८ अर्ब ८१ करोड थप कर्जा प्रवाह गरेको छ ।

हिमालयन बैंक

सिभिल बैंकलाई आफूमा गाभेर एकीकृत कारोबार सुरु गर्न लागेको हिमालयन बैंकले हालसम्ममा १ खर्ब ७७ अर्ब निक्षेप संकलन गरेको छ । त्यस्तै बैंकले हालसम्ममा १ खर्ब ६४ अर्ब कर्जा प्रवाह गरेको छ ।

बैंकले पछिल्ला ७ महिनामा ६ अर्ब ३८ करोड थप निक्षेप संकलन गरेको छ भने ७ अर्ब ६१ करोड थप कर्जा प्रवाह गरेको छ । माघमा बैंकको निक्षेप २ अर्ब ६७ करोडले घटेको छ भने कर्जा प्रवाह १ अर्ब २० करोडले बढेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले हालसम्ममा १ खर्ब ४८ अर्ब निक्षेप संकलन गर्दा १ खर्ब ३६ अर्ब कर्जा प्रवाह गरेको छ ।

चालू आवको ७ महिनामा बैंकले व्यवसाय सामान्य बढाएको छ । यो अवधिमा ८ अब ३१ करोड थप निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ८७ करोडले कर्जा प्रवाह बढाएको छ । 

मात्रमा मात्र बैंकको निक्षेप संकलन २ अर्ब ५ करोड बढेको छ भने कर्जा प्रवाह २ अर्ब १७ करोड बढेको छ ।

माछापुच्छ्रे बैंक

चालू आवको ७ महिनामा माछापुच्छ्रे बैंकको निक्षेप संकलन बढेको छ भने माघमा घटेको छ । माघमा बैंकको निक्षेप १ अर्ब १५ करोडले घटेको हो । माघमा बैंकको कर्जा प्रवाह स्थिर छ ।

पछिल्ला ७ महिनामा बैंकको निक्षेपमा ३ अर्ब ६० करोड थप भएको छ भने कर्जा प्रवाह ३ अर्ब ८६ करोडले बढेको छ ।

हालसम्म बैंकले १ खर्ब ५२ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ३३ अर्ब कर्जा प्रवाह गरेको छ ।

नेपाल बैंक

सरकारी स्वामित्वको अर्को ‘क’ वर्गको वित्तीय संस्था नेपाल बैंकले हालसम्ममा २ खर्ब १८ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ८७ अर्ब कर्जा प्रवाह गरेको छ ।

बैंकले पछिल्ला ७ महिनामा २१ अर्ब ७२ करोडले निक्षेप संकलन बढाएको छ । यो अवधिमा बैंकको कर्जा प्रवाह २ अर्ब ४ करोडले घटेको छ । 

माघमा मात्र बैंकको निक्षेप संकलन ५ अर्ब १८ करोडले बढ्दा कर्जा प्रवाह ३९ करोडले बढेको छ ।

एनएमबी बैंक

माघमा निक्षेप सामान्य घटेको एनएमबी बैंकले हालसम्ममा १ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ९१ अर्ब कर्जा प्रवाह गरेको छ ।

बैंकले पछिल्ला ७ महिनामा ७ अर्ब ४४ करोड थप निक्षेप संकलन गर्दा ९ अर्ब ५३ करोड कर्जा प्रवाह बढाएको छ ।

माघमा बैंकको निक्षेप संकलन १ अर्ब ९ करोडले घटेको छ भने कर्जा प्रवाह १ अर्ब ३१ करोडले बढेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले हालसम्ममा १ खर्ब ३४ अर्ब निक्षेप संकलन गर्दा १ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेको छ ।

बैंकले चालू आवका ७ महिनामा १४ अर्ब ८२ करोड थप निक्षेप संकलन गरेको छ भने १२ अर्ब ९५ करोड कर्जा प्रवाह गरेको छ ।

माघमा मात्र बैंकले ५९ करोड थप निक्षेप संकलन गरेको छ । यो अवधिमा बैंकको कर्जा प्रवाह भने १ अर्ब ४३ करोडले घटेको छ ।

प्रभु बैंक

केही अघिमात्र सेन्चुरी बैंकलाई गाभेको प्रभु बैंकले हालसम्ममा २ खर्ब ७४ अर्ब कुल निक्षेप संकलन गरेको छ । बैंकको कुल कर्जा प्रवाह २ खर्ब ४९ करोड नाघेको छ ।

पछिल्ला ७ महिनामा बैंकको निक्षेप ९ अर्ब ५० करोडले घटेको छ । माघमा मात्र बैंकको निक्षेप ३ अर्ब ६२ करोड घटेको हो ।

त्यस्तै ७ महिनामा बैंकले थप ७ अर्ब ९७ करोड कर्जा प्रवाह गरेको छ भने माघ महिनामा २ अर्ब ५१ करोडले कर्जा प्रवाह ऋणात्मक बनेको छ ।

प्राइम कमर्सियल बैंक 

प्राइम कमर्सियल बैंकको हालसम्मको निक्षेप १ खर्ब ६६ अर्ब रुपैयाँ छ । बैंकले कुल १ खर्ब ५८ अर्ब कर्जा प्रवाह गरेको छ ।

चालू आवको साउनदेखि माघसम्ममा बैंकले १ अर्ब ८ करोड निक्षेप बढाएको छ भने ३ अर्ब ६ करोड कर्जा बढाएको छ ।

माघमा बैंकको निक्षेप संकलन १ अर्ब ६२ करोडले घटेको छ भने कर्जा १ अर्ब १५ करोडले बढेको छ ।

सानिमा बैंक

माघमा सानिमा बैंकको कर्जा प्रवाह घटेको छ । माघमा १ अर्ब ५० करोडले निक्षेप संकलन बढाएको यो बैंकको कर्जा २४ करोडले घटेको हो ।

बैंकको कुल निक्षेप १ खर्ब ६१ अर्ब छ भने कुल कर्जा प्रवाह १ खर्ब ४६ अर्ब छ । बैंकले बितेका ७ महिनामा २ अर्ब ८६ करोड थप निक्षेप संकलन गर्दा कर्जा विस्तार ५ अर्ब ८२ करोडले गरेको छ ।

सिद्धार्थ बैंक

पछिल्ला ७ महिनमा सिद्धार्थ बैंकको व्यवसाय बढेको छ । बैंकले ७ महिना निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढाएको हो ।

यो अवधिमा बैंकको निक्षेपमा १५ अर्ब ८९ करोड थपिएको छ । तर, कर्जा प्रवाह १४ करोड मात्र थपिएको छ ।

माघमा मात्र बैंकको निक्षेपमा २ अर्ब ११ करोड र कर्जामा १ अर्ब ४७ करोड थपिएको छ । बैंकले हालसम्म २ खर्ब १२ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ८६ अर्ब कर्जा प्रवाह गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकको कुल निक्षेप १ खर्ब ९ अर्ब छ भने कुल कर्जा प्रवाह ९३ अर्ब छ ।

बैंकले साउनदेखि माघसम्ममा निक्षेपमा ७ अर्ब १९ करोड थप गरेको छ भने ३ अर्ब ५७ करोड कर्जा प्रवाह थप गरेको छ ।

माघमा भने बैंकको निक्षेप र कर्जा दुवै ऋणात्मक भएको छ । माघमा बैंकको निक्षेप ३ अर्ब ३२ करोड घटेको छ भने २ अर्ब ५८ करोडले कर्जा प्रवाह घटेको छ ।

सनराइज बैंक

सनराइन बैंकले हालसम्ममा १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब २२ अर्ब कर्जा प्रवाह गरेको छ ।

बैंकले चालू आवको ७ महिनामा ४१ करोड निक्षेप संकलन बढाउँदा कर्जा प्रवाह १ अर्ब ७४ करोडले घटाएको छ ।

माघमा बैंकको निक्षेपमा १ अर्ब ५३ करोड थपिएको छ भने कर्जा ३१ करोड रुपैयाँले बढेको छ ।

कृषि विकास बैंक

नेपाल बैंकर एसोसिएसनको तथ्यांकअनुसार कृषि विकास बैंकको निक्षेपभन्दा कर्जा प्रवाह धेरै छ । माघसम्ममा बैंकले १ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेको छ ।

पछिल्ला ७ महिनामा बैंकले ८ अर्ब ५२ करोड निक्षेप संकलन गर्दा ४३ करोड कर्जा प्रवाह गरेको छ । त्यस्तै माघमा बैंकले २ अर्ब २६ करोड निक्षेप संकलन गर्दा कर्जा प्रवाह भने १ अर्ब २५ करोडले ऋणात्मक छ ।


क्लिकमान्डु