७० अंक ल्याएमा बागमती प्रदेशमा सवारी लाइसेन्स पाइने, केमा कति अंक ?



काठमाडौं । बागमती प्रदेश सरकारले मंगलबार(आज) बाट सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षामा ७० अंक ल्याएमा उत्तीर्ण हुने मापदण्ड लागू गरेको छ ।

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंकाअनुसार मंगलबारबाट लाइसेन्समा नयाँ मापदण्ड लागू गर्न लागिएको हो ।

लाइसेन्सको परीक्षामा नयाँ मापदण्ड ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’अनुसार रहेर सवारी साधन अनुमति पत्रमा ७० अंक ल्याएमा उत्तीर्ण हुने व्यवस्था लागू गरिएको हो ।

‘मंगलबारबाट लागू भएको नयाँ व्यवस्थाअनुसार लाइसेन्स लिन पाइन्छ,’, चौलागाईंले भने, ‘सोमबारबाट नयाँ व्यवस्था लागू गर्ने भनिएको थियो । तर, बिदा भएकाले आजबाट नयाँ मापदण्डअनुसार लाइसेन्सको परीक्षा सञ्चालन हुनेछ ।’

‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’अनुसार रहेर अबदेखि प्रदेशले सवारी चालक अनुमति पत्रको परीक्षामा ७० अंक ल्याएमा पनि उत्तीर्ण हुने व्यवस्था गरेको हो ।

यातायात व्यवस्था विभागले भने केही वर्षअघि नै नयाँ व्यवस्थाअनुसार ७० अंकमै उत्तीर्ण हुने मापदण्डसहितको निर्देशिका जारी गरिसकेको थियो । २०७८ जेठमा जारी भएको निर्देशिकाकै आधारमा बागमती प्रदेश सरकारले ७० अंकमा उत्तीर्ण हुने व्यवस्था गरेको हो ।

बागमती प्रदेशमा अब नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याउनेले पनि सवारी साधनको अनुमति पत्र पाउनेछन् । यो व्यवस्था यसअघि नै प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशमा लागू भइसकेको छ ।

कसरी हुन्छ अंकभारको मूल्याकंन ?

‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’अनुसार सवारी साधन अनुमति पत्र लिनका लागि लिखित र प्रयोगात्मक गरि दुई परीक्षा हुन्छन् ।

निर्देशिकाकाअनुसार बर्ग ‘क’ (ए)मा मोटरसाइकल, स्कुटर र मोपेड रहेका छन् भने वर्ग ‘ख’ (बी)मा कार, जिप र डेलिभरी भ्यानको सवारी चालक अनुमति पत्र लिन पाइन्छ । त्यस्तै, बर्ग ‘ट’ (के) मा मोपेड वा स्कुटरको लागि सवारी चालक अनुमति पत्रको व्यवस्था गरिएको छ ।

लाइसेन्सका लागि हुने दुईमध्ये लिखित परीक्षा प्रयोजनका लागि विभागले ५ सय वटा वस्तुगत बहुउत्तर प्रश्नको संग्रह प्रकाशन गरेको छ । लिखित परीक्षामा यीनै प्रश्नहरुमध्येबाट २५ वटा वस्तुगत बहुउत्तर प्रश्नहरु सोधिनेछन् ।

३० मिनेटको लागि हुने लिखित परीक्षामा परीक्षार्थीले न्युनतम ६० अंक ल्याएमा उत्तीर्ण हुनेछन् । लिखित परीक्षा सम्बन्धित कार्यालयमा वा सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ ।

लिखित परीक्षा पश्चात प्रयोगात्मक परीक्षा भने न्यूनतम ७० अंक प्राप्त गर्ने परीक्षार्थीलाई उत्तीर्ण गरिनेछ । यदि कुनै परीक्षार्थीलाई कुनै तोकिएको अवस्थामा अनुत्तिर्ण घोषणा गरिएको अवस्थामा बाहेक न्यूनतम ७० अंक प्राप्त नगरेमा अनुत्तिर्ण मानिने व्यवस्था रहेको छ ।

निर्देशिकाकाअनुसार वर्ग ‘क’ का बाइक, स्कुटर, मोपेडलगायतका लागि प्रयोगात्मक परीक्षामा घुमाउरो आठ परीक्षण, साँधुरो फलेक, घुम्ती परीक्षण, ट्राफिक संकेत परीक्षण, उबडखाबड परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षणको आधारमा अंकभार निर्धारण हुन्छ ।

त्यस्तै, वर्ग ‘ख’अन्तर्गतका कार, जिप, डेलिभरि भ्यानको लागि हुने प्रयोगात्मक परीक्षामा भने घुमाउरो आठ परीक्षण, उबडखाबड परीक्षण, घुम्ती परीक्षण, ट्राफिक संकेत परीक्षण, उकालो परीक्षण, ग्यारेज पार्किङ्ग परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षणको आधारमा अंक दिइन्छ ।

कुल १०० अंकको रहने प्रयोगात्मक (ट्रायल परीक्षा)मध्ये वर्ग ‘क’ र बर्ग ‘ट’का सवारी साधनको हकमा घुमाउरो आठमा २० अंक, साँधुरो फलेकमा १० अंक, यु र्टमा १० अंक, उबडखाबडमा १५ अंक, ट्राफिक संकेतमा १५, उकालोमा १० र परीक्षार्थीको व्यवहारगत पक्षमा १० अंक छुट्याइएको छ ।

यीमध्ये घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा वा एक पटकसम्म भुईमा टेकेमा ५/५ अंक काटिनेछ । त्यस्तै, यु टर्न लिने बेला टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । त्यस्तै, ट्राफिक संकेतको पालना नगरेमा १५ अंक, उबडखाबडमा एक पटकसम्म खुट्टाले भुई छोएमा ५ र एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा ५ अंक र परीक्षार्थीको व्यवहारगत मूल्यांकनअन्तर्गत सवारी चलाउनु पूर्व सामान्य निरीक्षण नगरेमा ३ अंक, हेल्मेटको लक नलगाइ सवारी चलाएमा ४ अंक र अस्वभाविक गतिमा वा असंयमित रुपमा सवारी चलाएमा ३ अंक काटिन्छ ।

तर, आठ अंक आकारमा सवारी कुदाउँदा एक पटक भन्दा बढी अंकित रेखामा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुँईमा छोएमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारी स्टार्ट बन्द भएमा, साँधुरो फलेकमा रहँदा खुट्टाले भुँईमा टेकेमा, फलेकको लम्बाई पार गर्न अगावै सवारी फलेकबाट बाहिर निस्केमा, युटर्न लिँदा अंकित रेखा छोएमा र उबड खाबडमा कुदाउँदा एक पटक भन्दा बढी खुट्टाले भुँईमा टेकेमा र एक पटक भन्दा बढि सवारीको स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण गरिनेछ ।

त्यस्तै, उकालोमा रहँदा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इञ्चभन्दा बढि पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र एक पटकभन्दा बढि सवारी साधनको स्टार्ट बन्द भउमा पनि परीक्षार्थी अनुतिर्ण हुनेछन् ।

बर्ग ‘ख’ अन्तर्गत रहेको प्रयोगात्मक परीक्षामा पनि वर्ग ‘क’ वा वर्ग ‘ट’ कै सरहले अंकभारलाई विभाजन गरिएको छ ।


क्लिकमान्डु