मौद्रिक नीतिले लगानीकर्ताको माग नसुनेपछि…



काठमाडौं । मौद्रिक नीतिको अर्धवाार्षिक समीक्षाको प्रत्यक्ष असर सेयर बजारमा परेको छ ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सेयर धितो (मार्जिन लेन्डिङ)कर्जामा कायमै रहेको १२ करोडको सीमा हट्ने अपेक्षामा सेयर लगानीकर्ता रहेका थिए । तर, लगाीकर्ताको यो अपेक्षा पूरा नहुँदा आइतबारको कारोबारमा बजार राताम्मे बनेको छ ।

‘सेयर बजारमा कायमै रहेको १२ करोडको सीमा हटाउने विषयमा अर्थमन्त्री सकारात्मक बनेको, केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि राष्ट्र बैंकले यसअघि लिएका नीतिमा समय अनुसार नै सुधार गर्दै जाने बताउनु भएको थियो’ एक लगानीकर्ताले भने ‘अर्थमन्त्री र गभर्नर अधिकारीको भनाइलाई सुनेर लगानीकर्ता १२ करोडको सीमा हट्ला की भन्ने अपेक्षामा रहेका थिए । त्यो पूरा हुन सकेन । जसको प्रभाव आइतबारको कारोबारमा देखिएको हो ।’

राष्ट्र बैंकले १२ करोडको विषयमा केही निर्णय गरेको भए बजारमा केही सुधार देखिने उनको बुझाइ छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर बजारको बिषयमा कुनै नीतिगत सुधार नगरेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज भएपछि सेयर बजारमा आफैं सुधार आउने बताएका छन् ।

कार्यकारी निर्देशक श्रेष्ठले मौद्रिक नीतिको समीक्षाले अहिले नीतिगत व्यवस्थालाई निरन्तरता दिएको भन्दै सेयर बजारमा कायमै रहेको १२ करोडको नीतिलाई कायमै राखेको बताए ।

‘अहिले ब्याजदर केही घट्ने संकेत देखिएको छ’ उनले भने ‘तरलतामा सुधार हुँदै जाँदा सेयर बजार सहज बन्छ । तरलता सहज हुँदा सेयर बजारालई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग हुन्छ । अहिले अपेक्षा अनुसार तरलता सहज नभएर अप्ठयारो भएको हो ।’

आइतबार बजार ६०.८८ अंकले घटेर परिसूचक २१२१.७५ बिन्दुमा रोकिएको छ । कारोबारको सुरुदेखि नै आरालो लाग्न थालेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो ।

२५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको २८.७३, विकास बैंक १४१.४९, वित्त ८६.७४, होटल ९०.८७, जलविद्युत १११.१९, जीवन बीमा ३५७.२६, उत्पादन तथा प्रशोधन २२०.७३, माइक्रोफाइनान्स १०२.७२, निर्जीबन बीमा समूहको उपसूचक २४०.४५ अंकले घटेको छ ।

आइतबार खप्तड लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनी, सयपत्री हाईड्रोपावर, बाराही हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, खानीखोला हाईड्रोपावर, ग्रिनलाईफ हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु