अर्थतन्त्रमा प्रतिकूल अवस्था भयो भनेर निराश नहुनुस्: ओली



विराटनगर । विराटनगर–२ शंकरपुरमा ‘सीएनआई कोसी एक्स्पो २०७९’को बिहीबार उद्घाटन गरिएको छ ।

एक्स्पो २०७९ को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अर्थतन्त्रमा प्रतिकूल अवस्था भयो भनेर निराश नहुन र आत्मघाती कदम नचाल्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

उनले डेढ वर्षसम्म अर्थतन्त्रको अवस्था अधोगतितर्फ गएकोमा अहिलेको सरकार आएपछि केही हदसम्म सुध्रिएकोले अब अर्थतन्त्र सही बाटोमा जान्छ भनेर आशावादी हुन पनि उद्योगी व्यवसायीहरूलाई अनुरोध गरे ।

अर्थतन्त्रमा केही प्रतिकूल अवस्था आउने बित्तिकै आत्तिएर आत्महत्या वा आत्मदाहजस्तो आपराधिक कदम नचाल्न र यसबारे धेरै चार्चा नगर्न पनि उनले उद्योगी व्यवसायीलाई सुझाव दिए ।

त्यति शक्तिशाली सूर्यमा त कहिलेकांही ग्रहण लागेर अन्धकार हुन्छ र केही समयपछि पुनः उज्यालो हुन्छ भने ऋण लाग्यो र तिर्न सकिएन भनेर जीवन नै समाप्त गर्नुको सट्टा लडेर संघर्ष गरेर बाँच्च सिक्न र धैर्य गर्न सके अर्थतन्त्रमा पनि एक न एक दिनउज्याला दिन फर्किएर आउँछन् भनेर आशावादी बन्नुपर्ने उनको कथन थियो ।

उद्योगी व्यवसायीले आफूलाई हतौत्सायी नहुन र कमजोर मनस्थिति नबनाउन उनको सुझाव थियो ।

आफूले निरंकुश पञ्चायती व्यवस्थामा जेलमा बस्दा चार वर्षसम्मा खान र सुत्न नपाएर बिरामी भई इन्तु न चिन्तु हुँदा त कहिलै निराश भएर आत्महत्या गर्ने सोच नबनाएको र एकदिन कसो नजितिएला भनेर धैर्य गरेर साहसपूर्वक लडेको कारण मन्त्रीमात्र नभएर प्रधानमन्त्रीसम्म भएको उदाहरण प्रस्तुत गर्दै उनले निराशले जीवन समाप्त हुनु सिवाय समस्याको समाधान नहुने बताए ।

आम्दानीभन्दा खर्च बढी हुनु उचित होइन भन्दै सरकारले ऋण लिएर देश चलाउँदा घाटापूर्ति नहुने उल्टै देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुग्ने डरलागदो अवस्थाबाट पार पाउन सरकार र निजी क्षेत्र मिलेर जानुको विकल्प नभएको उनले जिकिर गरे ।

सरकार बनेको डेढ महिनामा अर्थतन्त्रमा केही सकारात्मक संकेतहरू देखा परेका छन् भन्दै उनले अर्थतन्त्रलाई कुराको जुहारी खेलेरमात्र उद्योगी व्यवसायीका चिउरा भिज्नेवाला छैनन्, तसर्थ, तपाईँहरू आफ्ना उचित मागहरू लिएर काठमाडौं आउनुहोस् र नगदा नगदी लिएर जानुहोस्, उधारो आश्वासन लिएरमात्र केही हुनेवाला छैन, समस्या जटिल छ, छिट्टै समाधान नगरे स्थिति गम्भीर बन्छ, उनले थपे ।

सरकार उद्योगी व्यवसायीका समस्या अल्पकाली र दीर्घकालीन रुपमा क्रमशः समाधान गर्न तत्पर रहेको छ तर उद्योगी व्यवसायीहरू पनि घरानाको प्रतिस्पर्धामा लाग्नुको सट्टा उद्योग व्यवसायको विकास गर्न अग्रसर हुनुपर्दछ न कि धेरैवटा संघसंगठन बनाएर आपसी लड्नुको केही अर्थ नहुने भन्दै उनले मिलेर अघि बढ्न पनि सुझाव दिए ।
सरकारले पनि साझा न्यूनतम नीति तथा कार्यक्रम ल्याएको छ, त्यसले आर्थिक क्षेत्रको समस्या समाधान गर्न सक्छ, त्यसैले नआत्तिन र केही समय धैर्य गर्न उनले आग्रह गरे ।

प्रदेश १ को विकासको ढोका उघार्न किमाथांका नाका खोल्नु जरुरी रहेको भन्दै त्यसका लागि आफूले चिनीय राष्ट्रपति सिजीफुङसँग कुरा गरेको र त्यस क्रम उनले सहमति जनाएको पूर्वप्रधानमन्त्री ओलीले खुलासा गरे । उताबाट चीनले नेपालको सीमासम्म सडक सञ्जाल जोडेको पनि उनले बताए ।

केही दिनअघिमात्र भारत सरकारका प्रतिनिधि मण्डलले आफूसँग भेट गर्ने क्रममा दुई देकको सामान आयात निर्यातका विषयमा छलफल भएको र तिनमा देखा परेका समस्याकको छिट्टै समाधान गर्ने भारतीय प्रतिनिधि मण्डलले वचन दिएको उनले जानकारी गराए । तसर्थ, हामीले आफ्नो देशको विकास गर्न कसैसँग डराउनु नपर्ने तथा प्रष्टसँग कुरा राख्नुपर्ने भन्दै छिमेकीसँग सुमधुर सम्बन्ध कायम गरेर नै जानुपर्ने उनको भनाइ थियो ।

उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वित्तीय तथा गैरवित्तीय क्षेत्र संकुचन भएको अवस्थामा सीएनआई प्रदेश १ ले लघु तथा साना र ठूलो उदोगलाई प्राथमिकतामा राखेर एक्स्पो लगाउनु चुनौति हो, तथापि यसले देशको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने धारणा राखे ।

सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार छ भन्दै उनले सरकार नियतिका आधारमा नभई नीतिका आधारमा चल्नेछ, निजी क्षेत्रले उद्योग व्यवजसाय सञ्चालन गर्दा अपराध गरेजस्तो अनुभूति हुन नदिन पनि सरकार कटिवद्ध छ, भने । किनकी उद्योगी व्यवसायीहरूले तिरेको करबाट नै सरकार सञ्चालन भइरहेकोले उनीहरूका गुनासा सुन्नु सरकारको दायित्व र कर्तव्य भएको उनको तर्क थियो ।

उनले केही समयभित्र नै हामी उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि केही नयाँ नीति तथा कार्यक्रम ल्याउँदैछौं, त्यसका लागि केही दिनअघि सरकारले सबै मन्त्रालयलाई कार्ययोजना ल्याउन निर्देशन दिएका छौं, त्यसले उद्योगी व्यवसायीको हितमा काम गर्न र आगामी बजेट बनाउन सहायता गर्ने बताए ।

भूकम्प, नाकाबन्दी, लकडाउन हुँदा पनि यति धेरै ओरालो नलागेको देशको अर्थतन्त्र विगत डेढ वर्षमा त्यतिबेलाको भन्दा पनि खस्किएको स्वीकार गर्दै मन्त्री भण्डारीले अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन अर्थमन्त्रालय, र अर्थमन्त्री र नेपाल राष्ट्र बैंक लागि परेको स्मरण गराउँदै यसबाट नै उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर छ भन्ने प्रस्ट हुने तर्क अघि सारे ।

उनले सरकारले रुग्ण उद्योगलाई संरक्षण गरी सञ्चालन गर्ने मनस्थितिमा रहेको र त्यसका लागि काम भइरहेको जानकारी गराए । सरकार लघु तथा साना उद्योगको प्रवद्धन गर्दै महिला तथा युवा उद्यमीहरूको वृद्धि विकास गर्न आफ्नो मन्त्रालय तत्पर रहेर त्यसबारे काम गरिरहेको उनको भनाइ थियो ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देशको विषम आर्थिक परिस्थितिमा पनि उद्योगी व्यवसायीले औद्योगिक प्रदर्शनी आयोजना गर्नु निकै ठूलो चुनौति हो भन्दै उनले प्रदेश १ को उद्योग व्यवसायलाई सहयोग गर्न आफू तत्परमात्र नभई कटिवद्ध रहेको बताए । उनले प्रदेश सरकारले देशको कठिन परिस्थिति देखेर नै १३ वटा मन्त्रालयलाई घटाइ ९ वटा मन्त्रालयमा झारेर खर्च कटौति गरेको जिकिर गरे । उनले प्रदेश सरकार आलोचनाबाट कहिलै विचलित नहुने बरु आलोचनालाई सकारात्मक सुझावको रुपमा लिएर गल्ती सच्याउँदै जाने धारणा राखे । यस्तै प्रदेश सरकारको नामाकरण गर्ने सवालमा सबै दलसँग समझदारी गरेर अघि बढ्ने र यदि साझा सहमति हुन नसके विधि र प्रक्रिया पु¥याएर भएपनि नामाकरण टुंग्याउने उनले ठोकुवा गरे ।

प्रदेश सरकार कृषि उपज उत्पादन गरेर कृषि पेशालाई उद्योगका रुपमा विकास गर्न तत्पर रहेको उनको भनाइ थियो ।

नेपालउद्योग परिसंघ (सीएआई) का राष्ट्रिय अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको अर्थतन्त्रको जटिल परिस्थतिबाट त्रसित नभई अहिलेको सरकारबाट अर्थतन्त्रमा सुधार हुनेछ भन्ने आशाको किरण जगाएर अघि बढ्न उद्योगी व्यवसायीलाई आग्रह गरे । निराशाले खति पु¥याउँछ तसर्थ, आशा गर्नु पर्दछ, उनको कथन थियो ।

‘हो, अहिले अर्थतन्त्रमा संकुचन छ, अबको २/३ महिनाभित्रमा सुधार आउँछ भन्ने आशा गर्ने संकेतहरू प्रशस्त छन्, सरकारले पनि आर्थिक क्षेत्रमा सुधार गर्न केही कदम चालेर अघि बढेको अवस्था छ’, उनले भने, ‘ केही समयपछि बैंकमा तरलता अभाव पनि कम हुँदै जाला अनि बैंक व्याजदर पनि घट्दै जाला, त्यसैले उद्योगी व्यावसायी पनि आशावादी बन्छन् तर त्यसका लागि सरकारले वातावरण बनाइ दिनुप¥यो ।’

हामीले नेपाली उत्पादनलाई विश्वास जगाउन ‘मेकिङ्’ नेपाल भन्ने अभियान सञ्चालन गरेर अघि बढेका छौं, लोगो पनि त्यही सन्देशअनुरुप बनाएको प्रसंग जाड्दै उनले बजेट कार्यान्वयनका सवालका सरकारलाई सीएनआईले लेखेर दिएको स्मरण गराए । त्यसलाई गम्भीरतापूर्व लिएर कार्यान्वयन गरेमा उद्योगी व्यवसायीका धेरै माग पूरा हुनुको साथै देशको अर्थतन्त्रमा ठूलो सुधार देखापर्ने उनले दाबी गरे ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले यहाँको विकास र समृद्धि ल्याउन महानगरले निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने भन्दै उद्योगी व्यवसायीले प्रदर्शनीस्थल नभएर हरेक पटक अस्थायी संरचना बनाइ अनावश्यक खर्च गर्नु परेको कारण प्रदर्शनी स्थलका लागि स्थायी संरचना बनाउन महानगर सहयोग गर्न सधैं तत्पर रहेको बताए । त्यसका लागि उद्योगी व्यवसायीले एक्स्पो लागेको बेलामात्र कुरा उठाएर नहुने भन्दै अरु बेला पनि निरन्तर लाग्न र सरकार र महानगरलाई घचघच्याइ राख्न उनले सुझाव दिए ।

एक्स्पो आयोजककका तर्फबाट सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले उद्योगी व्यवसायी समस्या र मागका बारेमा स्पष्ट पार्दै सरकार र मन्त्रीको ध्यान आकर्षण गराएका थिए । बिहीबार सुरु सो एक्स्पो माघ २८ गते सकिने उनले बताए ।


क्लिकमान्डु