बैंकले लिलामी गरेको धितो बिक्न छाड्यो: बैंकर ज्ञवाली



काठमाडौं । बैंकर मनोज ज्ञवालीले बित्तीय क्षेत्रमा देखिएका समस्याको असर बैकिङ क्षेत्रमा पनि परेको बताएका छन् ।

बुधबार राजधानीमा आर्थिक मिडिया सञ्चालक संघ नेपाल(इमान) ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक कार्यक्रममा नबिल बैंकका डीसीओसमेत रहेका ज्ञवालीले वित्तीय क्षेत्रमा देखिएको संकुचनले बैंकहरुको आम्दानी पनि खुम्चिएको बताए ।

पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा बैंकहरुको बितरणयोग्य नाफा झनै घटेको उनले बताए । अहिलेको अवस्था कायमै रहे चालु आवको अन्तिमसम्म बैंकहरुको अवस्था निकै जटिल हुने उनको भनाइ छ ।

अहिले बैंकहरुको ऋण नउठ्ने, ऋण नउठेपछि धितो लिलाम गर्दा किन्ने मान्छे नभएर समस्या भएको उनले बताए ।
‘अहिले बैंकलाई धितो लिलाम गर्न परे किन्ने मान्छे छैन’, उनले भने ‘ऋण दिने कोही छैनन्, सहकारी पनि कर्जा दिन सक्ने अवस्थामा छैनन् ।’

पछिल्लो समय बैंकको खराब कर्जा बढ्ने, उद्योगीको उधारो नउठेर समस्या बढ्दै गएको र उधारो नउठ्दा असल ऋणीहरु पनि कालोसूचीमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।

ज्ञवालीले अब बैंक ब्याजदर घटाउनु पर्ने र ब्याजदर घटेपछि घर जग्गामा जाने कर्जा नियन्त्रण गर्नु पर्ने बताए । वित्तीय क्षेत्रको स्रोत उत्पादनमा लगाउनु पर्ने उनको भनाइ छ ।

अब चालू पुँजी प्रकृतिको कर्जा लिएर घर जग्गा र सेयर बजारमा लगानी गर्न रोक्नु पर्ने उनले बताए । त्यस्तै कृषिको नाममा कर्जा लिएर घर जग्गामा जाने प्रवृत्तिलाई पनि नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

कूल ग्राहस्थ उत्पादनकै हाराहारीमा कर्जाप्रवाह भए पनि उत्पादनमा नगएका कारण समस्या भएको उनी बताउँछन् ।

‘केडिट ग्रोथ १० वर्षमा ४६ बाट ९६ प्रतिशत पुगेको छ । अहिले राज्यलाई ऋण लिएर तलब खुवाउनु पर्ने अवस्था आएको छ । यो समस्या समाधान गर्न नियामकलाई गाली गरेर हुँदैन,’ उनले भने, ‘समस्या समाधान नगर्ने हो भने अवस्था भयावह हुन सक्छ।’


क्लिकमान्डु