१७ वर्ष खाएको जागिर छाडेर ६० वर्षमा खाँडी तथा ढाका उद्योग, चीनदेखि जापानसम्म निर्यात



विराटनगर । तेह्रथुम जलजलेका ६२ वर्षीय टटबहादुर लिम्बु खाँडी तथा ढाका उद्योग सञ्चालन गर्छन् । सात वर्ष अघि आफ्नो थातथलो तेह्रथुम छोडेका उनले झापा १ दमकमा पंधाक थाकफुङजइत खाँडी तथा ढाका उद्योग सञ्चालन गरेका छन् ।

एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा जागिरे उनले दुई वर्षअघि मात्र उद्योग सञ्चालनमा ल्याएका थिए । १७ वर्ष जागिर खाएका उनले उक्त संस्थामा खाँडी र ढाकासम्बन्धी नै काम गर्थे । त्यसबाट प्राप्त ज्ञानलाई उनले उद्योगमा प्रयोग गरेका छन् ।

जागिरले मात्र घरखर्च र छोराछोरीको पढाइ थेग्न सक्ने अवस्था लिम्बुको भएन । जसका कारण, उनले उद्योग खोल्ने योजना बनाए । केही समयअघि देखि बनाएको योजना २ वर्षअघि उनले कार्यान्वयनमा ल्याए । उक्त उद्योगमा उनका दुई छोरा, एक छोरी र श्रीमती पनि काम गर्छन् ।

छोरो मुकुम १२ कक्षा सकेर बुवाले सञ्चालन गरेको उद्योगमा काम गरिरहेका छन् भने छोरी इङ्ला पनि पढ्दै त्यही उद्योगमा काम गर्दैछिन् । उनी उत्पादिन वस्तुको व्यापार गर्न बढी मन पराउँछिन् ।

लिम्बुले एसएलसीसम्मको अध्ययन गरेका छन् । परम्परागत तान उद्योगलाई परिमार्जन गरेर उनले आधुनिक शैलीमा परिणत गरेका छन् ।

‘हुन त मैले एसएलसीमात्रै गरेको छु । तर म अब डाक्टर बन्दैछु’ टटबहादुरले भने, ‘पढेर होइन टेक्सटायलमा प्रयोगात्मक अभ्यासबाट ।’अर्थात उनी मेसिन आफैं बनाउँछन् । परम्परागत तान उद्योगलाई परिमार्जन गरेर आफूले आधुनिक शैलीमा परिणत गरेको उनले बताए । ‘तर यसले अझै पनि त्यति छिटो काम गर्न सकेको छैन । बजारको माग अनुसार उत्पादान सामग्री दिन सकेको छैन’, उनले भने, ‘त्यसैले अब अत्याधुनिक तान बनाउँदैछु । त्यसका लागि केही पाटपूर्जा भारतबाट मगाएको छु ।’

अहिलेको आधुनिक भनिएको तानबाट उनका छोरा मुकुमले दिनको २५ मिटर बुन्ने गरेका छन् । विदेश जाने सोचमा रहे पनि उद्योगबाट राम्रो आम्दानी हुने भएपछि आफू यसलाई नै विस्तार गर्ने सोचमा रहेको उनले बताए ।

‘म विदेश जाने सोचमा थिएँ, तर उद्योगबाट राम्रो आम्दानी हुने देखेर यसैलाई बिस्तार गर्ने सोचमा छु’ । ‘उत्पादन जतिछिटो हुन्छ त्यति नै लागत घट्छ’, टटबहादुरले भने ।

उनले शुरु अवस्थामा मेसिन बनाउन र कच्चा पदार्थको आयातसमेत गरेर ५ देखि ७ लाख रुपैयाँ लगानी गरेको बताए । अहिले त्यसमा लागत थपिएको छ । अझै थपिनेवाला छ ।

उद्योगमा उनकी पत्नी मेनुकादेवीले पनि साथ दिइरहेकी छन् । उद्योगमा परिवारबाहेक अरु ३ जना कामदार पनि छन् । उद्योगबाट चित्तबुझ्दो आम्दानी हुने गरेको टटबहादुरले सुनाए । ‘मासिक डेढदेखि २ लाख रुपैयाँसम्म आम्दानी हुन्छ’, उनले भने।
उनले उद्योगका लागि कच्चा पदार्थको रुपमा भारतबाट धागो ल्याउँछन् । धागो भारतको कश्मीर र पञ्जाबबाट ल्याइने लिम्बु बताउँछन् ।

उनले तयार गर्ने सामग्री स्वदेश र विदेश दुई तिरकै बजारमा खपत हुन्छ । बुद्ध धर्मावलम्बीले जप गर्दा लगाउने सल चीन र जापान पठाउने गरेको लिम्बु बताउँछन् ।

ढाकाको कुर्था–सुरुवाल, सल, र खाँडी तथा ढाकाको कोट–स्टकोट, खाँडीको दौरा–सुरुवाल तथा थान कपडा स्वदेशमै बिक्री हुन्छ । ‘स्वदेश र विदेश दुबैतिर उत्पादित वस्तुको माग धान्न मुस्किल पर्दछ’, उनले भने ।

अरुले उत्पादन गरेको समान विदेश पठाउन बल गरे पनि आफूले भने नेपाली बजारलाई नै जोड दिएको उनी बताउँछन् ।

‘नेपालमा मेरो उद्योगको एकलौटी बजार छ । अरुले उत्पादन गरेको समान विदेश पठाउनमात्र बल गर्छन्, म धेरैजसो स्वदेशमै बिक्री गर्दछु ।’ उनले भने । उत्पादित वस्तुको बजारीकरण गर्न साना–ठूला प्रदर्शनीमा पनि भाग लिने गरेको लिम्बुले बताए ।

त्यही क्रममा उनी गत मंसिर–पुसमा विराटनगरको विराट एक्सपोमा पनि सहभागी भएका थिए । त्यहाँ तान मेसिनसहित स्टलमा सहभागी उनको उद्योगले उत्पादन गरेको सामग्री पाँच दिन नबित्दै बिक्री भयो ।

कच्चा पदार्थ अपुग भएपछि उनी एक्स्पो नसकिँदै स्टल छोडेर हिंड्न बाध्य भए । कच्चा पदार्थ अभावका कारण थप उत्पादन गर्न नसकेको उनको भनाइ थियो ।


क्लिकमान्डु