स्यानीटरी प्याड हालसम्मकै उच्च निर्यात



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा हालसम्मकै उच्च स्यानिटरी प्याड तथा डाइपर निर्यात गरेको छ ।

नेपालले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा १६ करोड ६८ लाख ४१ हजार रुपैयाँको ३ करोड ६० लाख ५० हजार ३४७ पिस स्यानिटरी प्याड निर्यात गरेको छ ।

उक्त निर्यातित स्यानिटरी प्याड र डाइपर हालसम्मकै उच्च हो । नेपालबाट यसअघि उक्त रकम बराबरको स्यानिटरी प्याड र डाइपर निर्या हुन सकेको थिएन ।

नेपालले गत वर्षको ६ महिनाको अवधिमा ३ करोड ५८ लाख ५१ हजार रुपैयाँको ७० लाख ३५ हजार ७९५ पिसमात्रै स्यानिटरी प्याड निर्यात गरेको थियो । त्यस्तै, गत आर्थिक वर्षमा नेपालबाट १२ करोड १२ लाख ९० हजार रुपैयाँ बराबरको २ करोड ३२ लाख ८७ हजार ८४४ स्यानिटरी प्याड तथा डाइपर निर्यात गरेको थियो भने आव २०७७÷७८ मा ६ करोड ९८ लाख ७९ हजार रुपैयाँको ७४ लाख ६६ हजार ६७९ पिस स्यानिटरी प्याड तथा डाइपर निर्यात गरेको थियो ।

पछिल्लो तथ्याङ्क हेर्दा हरेक वर्ष स्यानिटरी प्याड र डाइपरको निर्यात बढ्दो क्रममा रहेको देखिन्छ । तर, आन्तरिक बजारमा भने विदेशी स्यानिटरी प्याडले बजार कब्जा गरिरहेको पाइन्छ ।

नेपाल सरकारले हरेक वर्ष स्यानिटरी प्याड उद्योगलाई उत्पादनमा विशेष प्रोत्साहनसँगै स्यानिटरी प्याड वितरणमा विशेष जोड दिँदै आएको छ । साथै, उद्योगहरुले पनि सोहीअनुसार उत्पादन बढाउँदै लगेका छन् ।

व्यवसायीहरुले स्यानिटरी प्याड र डाइपर उत्पादनमा जोड दिँदा अहिले आन्तरिक उद्योगले नै धान्न सक्ने अवस्था सिर्जना भइसकेको छ । तर, आयातित स्यानिटरी प्याड र डाइपरसँग प्रतिस्पर्धा गर्न नसक्दा करिब ७० प्रतिशत बजार हिस्सा ओगटेका छन् । नेपालमा साना तथा ठूला गरेर देशभर करिब ४० वटा स्यानिटरी प्याड उद्योग छन् । उक्त उद्योगमा ६ अर्ब लगानी छन् भने ६ हजार बढीले रोजगारी पाइरहेका छन् ।

व्यवसायीहरुका अनुसार आन्तरिक उद्योगले धान्न सक्ने अवस्था हुँदासमेत आयातित स्यानिटरी प्याड तथा डाइपरको दबदबाह कायमै हुँदा अधिकांश उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

त्यस्तै, अहिले खपतभन्दा बढी स्यानिटरी प्याड उत्पादन हुन थालेपछि उद्योगीहरुले निर्यातमा जोड दिएका छन् । जसले गर्दा निर्यात बढ्दो क्रममा रहेका व्यवसायीहरुको भनाइ छ ।

नेपाल स्यानिटरी प्याड तथा डाइपर उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले खपतभन्दा बढी स्यानिटरी प्याड उत्पादन हुन थालेपछि निर्यातमा जोड दिएको बताए । उनकाअनुसार नेपालमा आन्तरिक उद्योगबाट दैनिक ६७ लाख पिस प्याड उत्पादन हुन्छ । तर, अहिले देशभर खपत भने दैनिक ३० लाखको हाराहारीमा छ । उत्पादन बढी खपत कम हुँदा उद्योगहरु पूर्णसञ्चालन हुन सकेको छैन । त्यसैले, उद्योगीहरुले उद्योग चलायमान बनाउन निर्यातमा जोड दिँदै गएका छन् ।

‘नेपाललाई आवश्यकभन्दा ५० प्रतिशत बढी उत्पादन भइरहेको छ । उक्त बढी उत्पादन भएको सयनिटरी प्याड र डाइपर खर्च जुटाउनकै लागि भए पनि निर्यात गरिरहेको अवस्था छ,’ उनले क्लिकमाण्डूसँग भने ।

नेपालले अहिले भारतमा मात्रै स्यानिटरी प्याड र डाइपर निर्यात गर्दै आएको छ । भारतसँग वैदेशिक व्यापार निकै सहजीकरण हुँदा भारतमा मात्रै नेपाली प्याड तथा डाइपर निर्यात भइरहेको उनको भनाइ छ ।

उद्योगीहरुले स्यानिटरी प्याड र डाइरपर उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भने विभिन्न देशबाट आयात गरी उत्पादन गर्नुपर्ने बाध्यता छ । जसले गर्दा मूल्य महंगो पर्न जान्छ । तर, पनि व्यवसायीहरुले उद्योग कसरी सञ्चालन गर्न सकिन्छ भनेर घाटा व्यहोरेरै पनि उत्पादन गरिरहेको उनले जिकिर गरे ।

त्यसैगरी, स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष विश्व थापाले ठूला–ठूला उद्योगहरुले उत्पादनसँगै निर्यातमा जोड दिएको बताए । उनकाअनुसार विगत लामो समयदेखि उत्पादन गरी थोरै मात्रामा भएपनि निर्यात गर्दै आएका उद्योगीहरुले पछिल्ला दिनहरुमा प्राथमिकताका साथ निर्यातमा जोड दिएको पाइन्छ । साथै, निर्यात पनि सकारात्मक देखिन्छ ।

आयातित प्याडसँग प्रतिस्पर्धा गर्न नसक्दा वार्षिक अर्बौं रुपैयाँको आयात

आन्तरिक उद्योगले बजारको माग धान्न सक्ने अवस्था भएपनि आयातित प्याडसँग प्रतिस्पर्धा गर्न नसक्दा अर्बौ रुपैयाँको आयात भइरहेको छ । नेपालले गत आर्थिक वर्षमा मात्रै ३ अर्ब ५ करोड ३० लाख ८६ हजार रुपैयाँको स्यानिटरी प्याड र डाइपर आयात गरेको छ । त्यस्तै, चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै १ अर्ब ५२ करोड ७९ लाख २४ हजार रुपैयाँको स्यानिटरी प्याड तथा डाइपर आयात गरेको छ ।

त्यसैगरी, सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् विदेशबाट आयाट भइरहेका स्यानिटरी प्याडमा लाग्दै आएको भन्सारमा ९० प्रतिशत छुट दिने घोषणा गरेका छन् । उक्त व्यवस्थाले झनै आयातित प्याड तथा डाइपर सस्तो हुने र स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने संघका अध्यक्ष अधिकारी बताउँछन् ।

अध्यक्ष अधिकारले जबसम्म विदेशबाट आयाततित प्याडमा पूर्णरोक गर्दैन, तबसम्म स्वदेशी उद्योग पूर्णरुपमा सञ्चालन हुन नसक्ने उल्लेख गरे ।

नेपालले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी उत्पादन गर्नुपर्छ । उक्त आयातित कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्दा महंगो पर्न जान्छ । त्यसैले, आयात स्यानिटरी प्याड र डाइपरको मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले पूर्णरोक लगाएमात्रै उद्योगहरु पूर्णसञ्चालन हुने उनको भनाइ छ ।


क्लिकमान्डु