पुस महिनामा मात्रै आयात भए ४०० विद्युतीय गाडी



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पुस महिनामा हालसम्मै उच्च विद्युतीय सवारी साधन (जीप, कार र भ्यान) आयात गरेको छ । पुस महिनामा मात्रै १ अर्ब १० करोड ३४ लाख ४५ हजार रुपैयाँको ३९६ वटा विद्युतीय सवारी साधन आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

यसअघि मंसिरमा ९६ करोड २१ लाख रुपैयाँको ३३५ वटा, कात्तिकमा ८५ करोड ८४ लाख रुपैयाँको ३१३ वटा, असोजमा ८१ करोड ७ लाख रुपैयाँको २९१ वटा, भदौमा ५७ करोड २६ लाख ७६ हजार रुपैयाँको २०३ वटा र साउनमा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँको २११ वटा विद्युतीय जीप, कार र भ्यान आयात गरेको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ अर्ब ९२ करोड ९१ लाख रुपैयाँको १७ सय ४९ वटा जीप, कार र भ्यान आयात गरेको छ । उक्त आयातित सवारी साधनबाट १ अर्ब ३९ करोड ४६ लाख ७५ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । सो अवधिमा सबैभन्दा बढी १०० किलोवाटभन्दा कम रेन्जका विद्युतीय जीप, कार र भ्यान आयात गरेको छ । ६ महिनाको अवधिमा नेपालले ४ अर्ब ७३ करोड ७८ लाख ७३ हजार रुपैयाँको १७ सय ८ वटा १०० किलोवाटभन्दा कम रेन्जको विद्युतीय सवारी साधन आयात गरेको छ ।

त्यसैगरी, १०० किलोवाट देखि २०० किलोवाटसम्मको १५ करोड ६१ लाख २२ हजार रुपैयाँको ३५ वटा र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको ३ करोड ५१ लाख ५० हजार रुपैयाँको ६ वटा विद्युतीय जीप, कार र भ्यान आयात गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको विद्युतीय गाडीको अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि विद्युतीय गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था थिएन । तर, यो वर्षको बजेटमार्फत् तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अन्तशुल्क र भन्सार करमा वृद्धि गरेको घोषणा गरेका थिए । जसले गर्दा १०० किलोवाटमाथिको जीप, कार र भ्यान आयातमा निकै प्रभाव परेको छ ।

चालु आर्थिक वर्षमा १०० किलोवाटभन्दा माथिको सवारी साधनमा आकर्षण कम देखिएको छ । बढाइएको अन्तशुल्क र भन्सार कर वृद्धिले गर्दा १०० किलोवाट माथिको विद्युतीय सवारी साधनको मूल्य निकै महंगो हुने भएकाले अटोमोबाइल कम्पनीहरुले आयात गर्न नै छाडेका छन् । विगतको दिनका सयभन्दा बढी संख्यामा आयात भइरहेको विद्युतीय सवारी साधन अहिले बजेटका कारण ह्वात्तै घटेको छ ।

गत वर्ष १०० किलोवाटसम्मको भन्दा १०० किलोवाटभन्दा बढीको विद्युतीय गाडी बढी आयात भएको थियो । तर, यो वर्ष अन्तशुल्क र भन्सार शुल्क बढाएसँगै १०० किलोवाटभन्दा माथिको विद्युतीय सवारी साधन आयात गर्न निकै कठिन अवस्था सिर्जना भएको छ ।

त्यस्तै, उच्च आयातका कारण तरलता अभाव भएको भन्दै सरकारले विगत लामो समयदेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको थियो । उक्त व्यवस्थाले पनि आयातमा प्रभाव परेको व्यवसायीहरुको भनाइ छ । तर, सरकारले गत मंसिर २० गतेदेखि आयात प्रतिबन्ध फुकुवा गरेको छ । आयात प्रतिबन्ध फुकुवा गरेपनि बजारमा माग नहुँदा तत्कालका लागि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको माग बढ्न नसक्ने व्यवसायीहरुले बताएका छन् ।

साथै, चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब ३१ करोड ८१ हजार रुपैयाँको ९७७ वटा पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार र भ्यान आयात गरेको छ । उक्त आयातित सवारी साधनबाट नेपालले ३ अर्ब २२ करोड ९२ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु